केन्द्रीय संस्करण

रङ्गीन छाया

person explore access_timeअसार १३, २०७७ chat_bubble_outline0

-किशोर सापकोटा ‘मणि’

हेर्दाहेर्दै म पनि ब्याच्लर पढ्ने भएछु । हुन त एसएलसी पास गर्नुभन्दा पनि पहिले मेरो जब गर्नुपर्ने बाध्यता थियो । किनभने घरमा जागिर गर्ने कोही थिएन । पैसाको मुख देख्न कि त केही जिन्सी सामानको बेचबिखन गर्नुपथ्र्यो कि कसैसँग सापट माग्नुपथ्र्यो । तर पनि जसरी पनि छोरालाई धेरैभन्दा धेरै पढाउने, ठूलो मान्छे बनाउने भन्ने बाआमाको बलले गर्दा मेरो पढाइले निरन्तरता पायो । आईएस्सी राम्रो अङ्क ल्याएर पास गरेपछि बीएस्सी पनि पढाउनुपर्छ भन्ने दबाब प¥यो घरमा । गाउँमा बीएभन्दा धेरै पढेका त्यति मान्छे थिएनन्, गल्लीमुनि दुइटा दाइ र अङ्कल अनि मेरी आफ्नै दिदी मात्र । सबैका पनि बाआमाको चाहना त गाउँमा आफ्ना छोराछोरीले सबभन्दा बढी पढून्, सबैभन्दा ठूलो मान्छे बनून् भन्ने नै हुँदो रहेछ । 

पोखराको पृथ्वी नारायण क्याम्पस, मेरो घर तारकाङदेखि १५ किलोमिटर पर । गाउँको कच्च िबाटो ठ्याक्कै दुई घण्टा लाग्ने बसमा । तर पनि घरैको ढिँडो, आटो खाएर कलेज पढ्न पाइने, खर्चको पनि बचत । अली पहिलासम्म कहाँ यस्तो सुविधा थियो र ? 
क्याम्पस आवरमा बस प्याक हुन्थ्यो सधैँ, आउँदा रित्तो आउँथ्यो भने जाँदा उभिएर जान पनि ठाउँ नपाइने । मान्छेहरु छतमा समेत बसेर यात्रा गर्थे । यही कारणले म सधैँ अगाडि नै गएर बस्थेँ बस स्टपमा, कहिले त घरमा खान नभ्याएर बसभित्रै खानुपथ्र्यो । छिटो गएर होला मलाई कहिल्यै उभिएर यात्रा गर्नु परेन । दायाँ साइडको झ्यालतिरको सेकेन्ड अन्तिम सिट मेरो स्थायी सिट जस्तै थियो । म अगाडि खाली भए पनि त्यही सिटमा बस्थेँ । अगाडिका मान्छेको क्रियाकलाप पनि हेर्न पाइने, बाहिर पनि हेर्न पाइने । पछाडि अल्ली बढी हल्लाउँथ्यो तर म सधैँ सिट बेल्ट बाँधेर मात्र बस्थेँ, त्यो मलाई ठूलो समस्या भएन । 

एक दिनको घटना, बस तारकाङबाट हिँड्यो, पेटभरी अनि ढाडभरी मान्छे बोकेर पोखराको बगरको लागि । अलि पर भैँसे भन्ने ठाउँमा मान्छे ओराल्न अनि चढाउनका लागि बस घक्रक्क रोकियो । बिहानीको घाम रनक्क लागेको थियो, वरपरको वातावरण रौनक थियो । केटाकेटीहरु आगनीमा घाम ताप्दै खेल्दै थिए, बुढाबुढीहरु कोही मोडामा बसेर गफ गर्दै थिए भने कोही तमाखु तान्दै गफ सुन्दै थिए । मेरो नजर भने त्यहाँ बस कुरिरहेकी एक वृद्ध महिलामा प¥यो । ती महिलाको अगाडि गाढा छायाँँ परेको थियो । मलाई ती महिलाभन्दा पनि तिनको निलो, वैजनी रङको छायाँ देखेर आनन्द लागिरहेको थियो । ती महिला विस्तारै अरू मान्छेहरुको पछिपछि बस चढिन् । एकछिन पछि त मेरै छेउमा आएर उभिरहेकी देखेँ । 

वृद्ध महिला खचाखच भरिएको बसमा मेरै सिटको पछाडि साइडमा उभिइरहेकी छिन्, म भर्खरको लक्का जवान मान्छे लमतन्न परेर बसिरहेको छु । एक हिसाबले त उनका लागि सिट छाडिदिउँ जस्तो लाग्यो । तर मसँगै छेउमा बसेको मान्छे पनि त लक्का जवान नै छ नि, अझ त्यो त मभन्दा पनि नजिक छ, उसले छोड्दीए पनि त हुन्थ्यो नि । अनि अलि अगाडि महिला, वृद्धलाई भनेर छुट्टाएकै छ क्यारे केही सिट, त्यसैमा गएर बसे पनि त हुन्थ्यो नि । जे भए पनि त्यती दुःख गरेर, बिहान बिहान उठेर, चिया खानै छाडेर ओगटेको सिट छोड्न सकिनँ मैले । आखिरमा ती महिला उभिएरै यात्रा गरिन । म बगर पुग्नुभन्दा पहिले नै ओर्लिसकिछन्, कहाँ झरिन् मैले भेउ पाइन । 

बिहान बसमा क्याम्पस आउँदा देखेको तिनको रंगिन छायाँले मलाई कौतुहलता जगायो । म आँफै भौतिक शास्त्रको विद्धार्थी, यस्तो कसरी हुन सक्छ भनेर दिमाग नखेल्ने कुरै भएन ? पानी पर्दा कारण बस घाम पनि लागिरहेको छ भने डिफ्राक्सन, रिफ्राक्सन केके भएर इन्द्रिेणी देखिए जस्तै बसको सिसामा लाइट रिफ्लेक्सन भएर उनको छायाँँमा पर्न गएर छायाँ रङ्गीन देखिएको भन्ने निष्कर्षमा पुगेँ म । 

अर्काे दिन पनि म सधैँजसो बिहानै बस चढेर क्याम्पस लाग्दै थिएँ । बस घाम्नुङ, मज्जुवा हुँदै भँैसेको स्टपमा पुग्यो । मैले आज पनि ती वृद्ध महिला बसमा चढ्छिन कि भनेर त्यहाँ नजर लगाएँ । बस रोकियो, केही मान्छे ओर्लिए, अरु केही चढे, तर ती वृद्ध महिला भने देखिइनन् । मैले सोचेँ हिजो सिट छोड्दिनुपर्ने थियो । मैले मेरो अधिकार प्रयोग गरेँ तर कर्तव्य पूरा गर्न सकिन जस्तो लाग्यो । आज पनि चढिन् र सिट पाइनन् भनेजसरी पनि छाडिदिन्छु भनेर मनमनै सोचेको थिएँ । 

बस चितेपानी हुँदै अगाडि बढिरहेको थियो । एक्कासि विजयपुरको स्टपमा घच्याक्क रोकियो । त्यहाँ थुप्रै मान्छे ओर्लिन लागेका थिए भने केही चढ्न लागेका थिए । ठ्याक्कै त्यति बेला मेरो नजर हिजो देखेजस्तै खालि खुट्टा उभिइरहेकी एक वृद्ध महिलामा प¥यो । जिउडाल, उचाइ, मोटाइ उस्तै । लगाएको कपडा पनि उस्तै । फिका पहेँलो फूलबुट्टा भएको धोती अनि निलो चोलो, टाउकोमा कालो मोहोत्रो । टहटह घाम लागिरहेको थियो । उनको छायाँँ पनि प्रष्ट देखिएको थियो । हिजो रङगीन छायाँँ देखेको हुनाले मैले त्यसमा एकदम ध्यान दिएर हेरिरहेको थिएँ । तर आज छायाँ कालो नै थियो । म हिजो भ्रममा परेको रहेछु भनेर एकिन भएँ । बसको झ्याल खुल्लै थियो । म उनलाई एकोहोर हेरिरहेको थिएँ । उनले भने वास्तै गरेकी थिइनन् । मान्छेहरुको हुल थियो । अचानक एउटा लोग्ने मान्छे उनको अगाडिबाट उनको छायाँमा कुल्चदै दगु¥यो । तर अचम्म ती वृद्ध महिला ऐया भनेर चर्को स्वरमा कराइन् । अरु मान्छेले भेउ पाए कि पाएनन् कुन्नि मैले भने उनलाई ध्यान दिएर हेरिराखेको हुनाले यो प्रष्टै थाहा पाएँ । मलाई ‘दालमे कुछ काला हे’ जस्तो लाग्यो । हिजो रङ्गीन छायाँ देखिनु, आज छायाँमा कुल्चँदैमा दुख्नु ? म अलि अलि नर्भस भएँ । ती वृद्ध बस चढिन् । अनि खुरुखुरु हिँडेर मेरै पछाडिको सिटनेर आएर अडेस लागेर बसिन् । अगाडि केही सिट खाली नै थिए, किन पछाडि आएर उभिइन्, मलाई अचम्म लाग्यो । तर पनि मैले त्यो दिन पनि उनलाई आउनुस् आमा बस्नुस्, बूढी मान्छे, म उभिन्छु भनेर भन्न सकिनँ । 

मैले कलेजका केही साथीहरुलाई यो कुरा सेयर गरेँ । आखिर मलाई उनीहरुले केके भनेर उडाए । मलाई पनि हो जस्तै लाग्यो । ती महिलालाई कमिलाले वा केही किराले डाढमा टोकेर ऐया भनेकी पनि त हुनसक्छिन् भन्ने साथीहरुको अनुमान ठीकै होला जस्तो लाग्यो । आखिर म पनि विज्ञानको विद्धार्थी न थिएँ । मैले साथीहरुलाई यो कुरा छिटो भने जस्तो लाग्यो । केही प्रमाण पु¥याएर भन्नु पथ्र्यो । 

तेस्रो दिन पनि म नियमित जस्तै क्याम्पस जान बसमा चढेँ माझाडिहीको बस स्टपबाट । म चाहन्थँे आज पनि ती वृद्ध महिला त्यही बसमा चढून् र म मेरो मोबाइलमा क्याप्चर गर्न सकूँ । मैले सोचेको थिएँ आज पनि पहिलाकै भइसेको स्टपमा वा विजयपुरको स्टपमा चढ्लिन् । तर उनी त झन नजिकको स्टपमा पो देखिइन । दोस्रो स्टपमा । उही लवाइ, उही खाली खुट्टा, हिजोअस्ति जस्तै भेषभूषामा । घाम्नुङको स्टप त आफ्नै गाउँ नजिकको स्टप थियो । सबैजसो मान्छे चिनेका थिए । तर अचम्म उनलाई चिनेको थिइनँ, अस्ति मात्र पहिलो पटक देखेको थिएँ । मैले हत्तपत्त मोबाइल खोलेर केही फोटो खिचेँ, एउटा छोटो भिडियो पनि खिच्न भ्याएँ । ती महिला हिजोअस्ति जस्तै मेरो पछाडिको सिटनेर आएर उभिइन् । मैले फोटो खिचेको थाहा पाउलिन भनेर म सतर्क थिएँ । त्यो दिन पनि मैले उनका लागि सिट छाडिन् । अगाडि बुढाबुढीका लागि भनेर छुट्याएको सिटमा जवान तरुनी, तन्नेरी बसेका छन, उतै गएर बसे भइहाल्यो नि भन्ठाने । 

क्याम्पस गएर फोटो र भिडियो हेर्छु त ती बुढीको त आएकै छैन त ? अरु व्याकग्राउन्ड सबैको फोटो पनि आएको छ, भिडियो पनि आएको छ तर उनको मात्र आएको छैन । म त झन छाँगाबाट खसेजस्तै भँए । ‘हवाट् द हेल इज गोइङ अन ?’ किन ती बुढी जहिले पनि क्याम्पसमा जाँदा भेटिन्छिन्, फर्कदा भिटिन्नन् ? किन कहिले रङगीन छायाँ देखिन्छ, कहिले छायाँमा कुल्चिँदैमा ऐया भन्छिन् ? किन फोटो भिडियो खिच्दा पनि आउँदैन । यस्तैयस्तै कुराले मनमा ढ्याङग्रो ठोकेको थियो । 

त्यो दिन मलाई क्याम्पसमा पढ्न मन पनि लागेन । तर पनि यो कुरा कसैलाई पनि भन्ने पक्षमा थिइनँ म किनभने कसैले पत्याउँदैनथे र लास्टमा मेरो नै मजाक बनाउने थिए । क्याम्पसबाट फर्किएपछि पनि त्यो दिन खाना पनि खान मन लागेन, न त राति निद्रा नै लाग्यो । मनभरी केके हुने नहुने कुरा खेलिरहे । 

मलाई अर्को दिन कलेज जान पनि मन त लागेको थिएन । तर कलेज जानु नपर्ने बाहाना पनि बनाउन सकेको थिइनँ । त्यसैले मैले जसरी हुन्छ त्यसरी त्यो घटनालाई विर्सिन खोजिरहेको थिएँ । अमिलो मन लिएर म पहिले जस्तो नास्ता गरेर बस स्टप गएँ अनि चढेँ बस । खोइ किन हो म त्यो दिन लास्ट सिटमा बसेँ झ्यालतिर । हुन त मैले त्यो दिन आँखा चिम्म गरेर यात्रा गर्न चाहेको थिएँ । तर पनि आँखा बेला बेलामा खुला हुन्थे र प्रत्यक स्टपमा चढ्ने ओर्लिने प्रत्यक मान्छेहरुलाई हेर्न पुग्थेँ । त्यो दिन बस अरु दिनभन्दा पनि बढी प्याक थियो । कन्डक्टर बहिनीले बेलाबेला ए दाइ, ए अन्टी, ए अङ्कल अलि भित्र सर्नुस्, दायाँतिर ढल्केर बस्नुस आदि भनिरहेकी थिइन् । तर पनि खुट्टा राख्ने ठाउँ त थिएन, कसरी सरुन विचरा यात्रुहरु पनि । 

बस घाम्नुङ, भैँसे अनि विजयपुर पार गरिसक्यो । आज कतै पनि ती वृद्ध महिला कहीँ कतै बाट चढिनन् । ल अब ढुक्क भयो । ती आउन छाडिछन् जस्तो लाग्यो । यस्तै यस्तै सोच्दै यसो आफ्नै सिटको यताउता आँखा डुलाउँछु ती बुढी त्यही लास्ट सिटको अर्को साइडको झ्यालतिर बसेको पो देख्छु । उही लवाइ खवाइ, उही जिउडाल । मलाई कस्तो कस्तो भयो । आँखा तिरिमिरी भए, एक्कासि टाउको दुखेको जस्तो भयो । म टाउकोमा हात समाएर आँखा चिम्म गरी अगाडि टाउको अडेस लगाएर बसेँ । व्यर्थै आँखा त्यतातिर डुलाएँछु जस्तो लाग्यो । त्यही बसमा घर फर्कुं कि क्याम्पस जाऊँ दोधारमा परेँ । आखिर क्याम्पस गए पनि पढ्नमा ध्यानै थिएन । घरै फर्किए पनि किन नपढी फर्खिइस भनेर अरुले सोध्दा दिने उत्तर थिएन । जे भए पनि क्याम्पस जाने नै विचार गरेँ । बगरको बस स्टप पुगेर मात्र टाउको उठाएँ त्यो दिन मैले । 

क्लासमा त जाने कुरा भएन । के गरेर बसुँ त ? झट्ट प्रविन भन्ने एउटा साथीलाई सम्झेँ । आईएस्सी पढ्दाको साथी । फ्याकल्टी चेन्ज गरी अहिले यही क्याम्पसमा आर्टस्मा बीए पढ्दैथियो, हाम्रो दोस्ती कायमै थियो । ऊ गजबको चित्रकार हो । क्यामराले खिचेको फोटो र मान्छेके अनुहार हेरेर बनाएको उसको चित्र कमसेकम मैले चाहिँ छुट्टाउन सक्दिनथेँ । त्यस्तो बेजोडको चित्रकार । फोन गरेर एउटा महिलाको चित्र बनाइदे न भन्दा केके कुरा सोध्यो । पहिला त मलाई फुर्सदै छैन भन्दै थियो । तर साथीसँग पैसा लिन मिल्दैन भनेर भ्याउँदिन भनेको होस क्याहो । अरूले दिने जति पैसा दिउँला भनेपछि बल्ल हुन्छ भन्यो तर आउने शनिबार बनाइदिउँला रे । आज महत्त्वपूर्ण लेक्चर छ रे अनि भोलि टेस्ट छ रे । 

तेरो साथीलाई यहाँ लाइफको सबाल छ, तँ चाहिँ महत्त्वपूर्ण लेक्चर छ भनी टार्छस् ? भनेर सबै कथा स्पष्ट भने । पहिला त तँ साइन्स पढ्ने मान्छे त मभन्दा पनि अन्धविश्वासी पो रैछस । केही होइन मूला यो सबै तेरो भ्रम हो । तँलाई टेन्सन भएर यस्तो हालुसिनेसन भएको हो भन्दै थियो । तर आखिर साथी त हो, मेरो हतास, विलौनाले नाई भन्न सकेन । हेर म यस्तो कुरामा विस्वास त कत्ति पनि गर्दिनँ । तर पनि तेरा लागि यति एउटा प्रयास भने गर्दिन्छु । ल आइज मेरो कोठामा अहिले नै भनेर बोलायो प्रविनले । 

मैले तीन चार पटक देखेको भरमा अनुहार यस्तो, नाक यस्तो, चिँउडो उस्तो आदि कुरा बताइदिएपछि उसले एउटा वृद्ध महिलाको चित्र बनाइदियो । फोटो पनि नहेरी अनि मान्छे पनि नदेखी बनाएको पहिलो चित्र भन्थ्यो । तर पनि मलाई दुरुस्त मैले देख्ने गरेकी महिलाको फोटो जस्तै लाग्यो । हुन त यो चित्रले हुनेवाला केही पनि थिएन तर पनि मनको सन्तोष । आखिर ती वृद्ध जेजस्ती भए पनि मलाई केही हानि नोक्सानी गरेकी छैनन् । किन म आत्तिएको भनेर आफैँले आफैँलाई चित्त बुझाउँदै म त्यो चित्र लिएर फर्कें । अबदेखि त्यतातिर धेरै ध्यान नदिने भन्ने आत्म सङ्कल्प गरेँ । 

मनले एउटा सङ्कल्प गर्छ, दिमागले अर्कै गर्छ । जेजस्तो सङ्कल्प गरे पनि मलाई त्यो साँझ पनि केही खान मन लागेन । राति निद्रा पनि लागेन । बिहानको त्यस्तै २ बजेतिर आमा बाथरुम जान उठ्नु भएको रहेछ । म खसखस गरेको देखेर मेरो कोठामा छिर्नु भयो । ‘तँ अहिलेसम्म सुतेको छैनस् ? हिजो पनि रातभरी बत्ति बलेको थियो तेरो कोठामा । खाना पनि राम्रोसँग खाएको छैनस् । के हो ? कतै लबसब प¥यो कि कसैसँग के हो ?’ आमाले झपारे जस्तो गरेर सोध्नुभयो । तेस्तो केही होइन आमा भनेर पहिला त लुकाउन खोजेँ । ढाँटेको कुरा र फाटेको लुगा लुकाउन सकिँदैन भन्छन्, फेरि  आफ्नै आमासँग को पो कुरा लुकाउन सक्छ र ? 

त्यति नै बेला आमालाई सबै कुरा भनिदिएँ । आमा पनि एकछिन गम्भीर हुनुभयो । अनि डराई डराई ‘त्यो चित्र देखा त’ भन्नुभयो । मैले चित्र देखाउना साथ ‘ल तैले कसरी देखिस् यिनलाई ?’ भनेर आश्चर्य चकित पर्नुभयो  आमा त । ‘ल यी त तेरी हजुरआमा हुन् त । मेरी आमा । तँलाई असाध्यै माया गर्थिन विचरा, मैले भन्दा बढी माया गर्थीन । तँ जन्मदा म सुत्केरी बस्न माइत गएकी थीएं । एक महिनापछि घर फर्किने बेलामै लिएर जान्छु मेरो नातिलाई भनेर हामी तीन जना आयौँ । तीन दिनपछि घर जान्छु भनेर हिँडेकी मान्छे कहाँ पुगिन्, के गरिन, जिउँदी छन् कि मरिन कि केही थाहा छैन । त्यतिबेला मोटर बाटो थिएन । विजयपुर खोलामा पनि पुल थिएन । बुढीलाई बाढीले लग्यो कि के हो के हो ।’ आमाको आँखामा एक्कासि आँशु बग्न थाल्यो । आँशु पुछ्दै ‘ल तँ नआत्तीकन सुत, म भोलि बिहानै केही पनि नबोली तुलसीको मठमा हजुरआमाको नाममा बत्ति बाल्दिन्छु । सबै ठीक हुन्छ ।’ भन्दै फोटो लिएर आफ्नो कोठातिर जानुभयो । म एकैछिनमा पल्टिएँ । 

त्यसपछि म भने खुशी नै भएँ । बुझ्ने हुँदा देख्न नपाए पनि हजुरआमालाई अहिले देख्न पाएँ जस्तो लाग्यो । भोलि पनि बुढि आए हुन्थ्यो जस्तो लाग्यो । केके कुरा सोध्छु भनेर सोचेथेँ । प्रत्येकपटक पोखरा जाँदा सबै बस स्टपमा उनी आउँछन् कि भन्दै आँखा विछ्याइरहन्थेँ, बसको यता उता नजर डुलाइरहन्थेँ । तर त्यसपछि कहिल्यै आइनन, कहीँकतै भटिइनन् । मेरो मुटुमा त्यो रङ्गीन छायाँको अमिट टाटु खोपेर अलाप भइन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.