मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

जितेन्द्र देवमाथि 'सरिता गिरी पथ'मा हिँडेको आरोप

सीमा र नागरिकता विधेयकमा यसरी विभाजित छन् नेताहरु
शुक्रबार, १२ असार २०७७, १५ : ३२
शुक्रबार, १२ असार २०७७

काठमाडौं । अहिले राष्ट्रियताको विषयलाई लिएर नेपालको राजनीति तातेको छ । सीमा विवाद र नागरिकता विधेयक यतिबेला सबैका लागि ‘हट इस्यु’ बनेको छ । राजनीतिकर्मी, पत्रकार, सर्वसाधारण सबै यसैमा केन्द्रित भएर बहस गरिरहेका छन् । र, यी दुवै विषयलाई झन् चर्चाको विषय बनाइदिने काम नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य जितेन्द्र देव र जनता समाजवादी पार्टीकी नेतृ एवं प्रतिनिधिसभा सदस्य सरिता गिरीले गरेका छन् ।

सांसद गिरीले सरकारले जारी गरेको नयाँ नक्साको बारेमा संसदमा दिएको अभिव्यक्ति र सांसद देवले नागरिकता विधेयकको विषयमा राष्ट्रिय सभामा दिएका अभिव्यक्तिले नेपाली राजनीतिलाई तरङ्गित बनाएको छ । यी दुवैका अभिव्यक्तिको पक्ष र विपक्षमा टिकाटिप्पणीहरु भइरहेका छन् ।

सांसद देवले असार ९ गते राष्ट्रियसभाको विशेष समयमा नागरिकता विधेयकका कारण मुलुक नै खतरामा परेको धारणा राखेका थिए । ‘कसैको संस्कृतिमाथि आक्रमण गर्ने अधिकार नेकपालाई छैन,’ उनले भनेका थिए, ‘युपी–बिहारसँग मधेशीको बिहे रोक्नु भनेको नेकपाको एन्टी मानसिकता छ, त्यसैले राष्ट्रलाई बलियो पार्दैन ।’

युपी–बिहारबाट नेपालमा बिहे गरी आउने महिलाबाट नेपालको राष्ट्रियतालाई कस्तो खतरा देखियो भन्ने प्रश्न गर्दै सांसद देवले भारतसँग सम्बन्ध तोड्दै नेकपाले नेपाललाई चिनियाँ झोलामा लैजाने मानसिकता पालेको आरोप पनि लगाए । नेकपाका नेताहरुलाई उनले भने, ‘तपाईंहरुको फरेन पोलिसी (विदेश नीति) एकपाखे भयो, समदुरी राख्नसक्नु भएन । सहमति नतोड्नुस् पोलिटकल एक्सिडेन्ट हुन्छ, यो मुलुकको संविधानको धारा ११ (६) ले जुन व्याख्या गरेको छ, त्यो सहमतिको व्याख्या हो ।’

उनका यी अभिव्यक्तिलाई सांसद गिरीको अभिव्यक्तिसँग जोडेर हेर्न थालिएको छ । काँग्रेस नेता देवलाई पनि भारतीय पक्षपोषकका रुपमा व्याख्या गर्न थालिएको छ । सरिता गिरीको माइती भारत हो, उनले भारतको पक्ष लिनु जायज हो । तर जितेन्द्र देव नेपालका वंशज नागरिक हुन्, उनले किन यसरी नागरिकता विधेयकको विरोध गरे भनेर पनि टिकाटिप्पणी हुन थालेको छ ।

गोरखापत्रका पूर्व प्रधानसम्पादक सीताराम अग्रहरीले सांसद गिरीका अभिव्यक्तिको सबै कुरामा सहमत हुन नसकिए पनि सांसद देवले राखेको कुरामा पुरै सहमत हुने सक्ने अवस्था रहेको बताए । ‘सांसद देवले मधेशको भावना बोल्नुभएको छ, मधेशको पीडा बोल्नुभएको छ, यसलाई अन्यथा लिन मिल्दैन,’ उनले भने, ‘देवजी पहिलाका कम्युनिस्ट नै हुनुहुन्छ, अहिले उहाँ काँग्रेस बन्नु भएको छ तर अहिले पनि उहाँको विचार र धारणा अग्रगामी रहेको छ, जसरी पछिल्लो समय नागरिकताको विषयमा नेकपाका मधेशी नेताहरुले धारणा राख्नुभएको छ, सोही लाइनमा उहाँको पनि धारणा आएको छ । सरिता गिरी र जितेन्द्र देवबीच तुलना नै गर्न सकिँदैन ।’

सांसद गिरीले बोलेको कुरालाई लिएर मधेशमै पनि विरोध भएको छ, उनकै पार्टीले स्पष्टीकरण सोधेको छ । तर देवले राखेका विचारमा मधेस पनि सहमत रहेको उनले बताए । तत्कालीन राजा महेन्द्रले ल्याएको नागरिकता सम्बन्धी ऐनभन्दा पनि नेकपा पछाडी फर्केको भन्दै उनले नेकपाको सोच महेन्द्रभन्दा अग्रगामी हुन नसकेको टिप्पणी गरे ।

प्राध्यापक एवं राजनीतिक विश्लेषक लालबाबु यादवले यी नेताले संसदमा दिएको अभिव्यक्ति संसदीय मार्यादा विपरित रहेको टिप्पणी गरे । उनले भने, ‘सबै कुराको आ–आफ्नो मार्यादा हुन्छ, कुन कुरा कहाँ गर्ने, त्यसको पनि ज्ञान नराख्ने सांसदहरु हुनुहुन्छ ।’ जितेन्द्र देवको अभिव्यक्ति एउटा सांसदले बोल्न नसुहाउने खालको रहेको उनको भनाइ छ । उनले भने, ‘नागरिकता विधेयकले देशमाथि खतरा छ रे, नेपाल चीनको पक्षमा गयो र भारतसँग सम्बन्ध बिग्रियो रे जस्ता अभिव्यक्ति दिनुको अर्थ के हो ? के यही हो संसदको मार्यादा ? यस्तै बोल्नुपर्छ संसदमा ? यो संसदको गरिमाभन्दा फरक बाटो भयो ।’

सरिता गिरीको अभिव्यक्तिका सवालमा विश्लेषक यादव गिरीको स्वतन्त्रता मान्दछन् । गिरीले विना अध्ययन संसदमा बोलेको उनको गुनासो छ । ‘भारतका कतिपय नेताले समेत नेपालको जमिन भारतले फिर्ता गर्नुपर्ने धारणा राखेका छन्, उनीहरुले त लिपुलेक नेपालको होइन भनेर कहीँ भनेका छैनन्’ उनले भने, ‘तर नेपालकै कतिपय नेताहरु लिपुलेक नेपालको होइन भन्दै सरकारले जारी गरेको नक्सालाई विरोध गरिरहेका छन् ।’

कांग्रेस सांसद जितेन्द्र देव भने आफूले राष्ट्रियसभामा दिएका अभिव्यक्ति सही नै रहेको दावी गर्छन् । ‘मैले राष्ट्रियसभामा जे बोलेको छु, ठिक बोलेको छु,’ उनले भने, ‘कुनै शब्दप्रति मलाई पश्चाताप छैन, र संसदको मार्यादाभित्रै रहेर बोलेको छु । संसदमा यस्तै कुरा बोल्ने हो ।’

सबैलाई सबैको कुरामा चित्त बुझ्नै पर्छ भन्ने नरहने उनको भनाइ छ । तर आफूले राष्ट्रि«य भावनाको कुरा गरेको उनले प्रष्ट पारे । ‘यो नागरिकता विधेयकले कुन देशसँगको मित्रतामा सबभन्दा बढी असर पर्छ, त्यो कुरा सबैलाई थाहा छ,’ उनले भने, ‘नेकपाले चीनसँग नजिक हुनका लागि जानी जानी यो विधेयक ल्याएको कुरा छर्लङ्ग छ, यदि यस्तो भयो भने राष्ट्रियता नै खतरा पर्ने निश्चित छ ।’

सीमा विवाद र नक्साको विषयमा राष्ट्रिय सहमति बनेको स्मरण गराउँदै उनले भने, ‘सबै दल एक ठाउँमा आएका थिए ।’

पत्रकार अग्रहरीले सरिता गिरीले दिएको अभिव्यक्तिलाई लिएर सिङ्गै मधेशको भावनालाई कुल्चन नमिल्ने बताए । ‘सरकारले जारी गरेको नक्सालाई मधेशले पनि स्वागत गरेको छ,’ उनले भने, ‘मधेशले पनि वार्ता र छलफलको माध्यमबाट आफ्नो जमिन फिर्ता ल्याउनुपर्छ भन्दै आएको छ ।’ सीमाका विषयमा मधेश केन्द्रित दलहरुले पनि सरकारलाई साथ दिएको तर नागरिकताको विषयमा अहिले सिङ्गो मधेश आन्दोलित भएको उनको भनाइ छ ।

मधेशमा अहिले सधैँजसो नागरिकताको विषयमा आन्दोलन हुने गरेको छ । जनता समाजवादी पार्टी नेपालले असार १६ गते आन्दोलनको कार्यक्रम राखेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले तराई मधेशमा दिनहुँ नारा जुलुस गरिरहेको हुन्छ । अन्य संघ संगठनहरुले पनि सडकमा नारा लगाइरहेका छन् ।

सीमा, नक्सा र नागरिकता विधेयक विल्कुल फरक विषय भएकाले यसलाई एकै ठाउँमा राखेर हेर्न नहुने धेरैको तर्क छ । तर पत्रकार चन्द्रकिशोर भन्छन्, ‘यो दुईटा विषयको अन्तरसम्बन्ध छ, सीमामा कुनै समस्या भयो भने दुई देशको सम्बन्धमा असर पर्छ, बिहेबारी रोकिन्छ, अनि कहाँबाट आउँछ यो अंगीकृत नागरिकता, त्यसैले दुवै इस्यु फरक फरक भए पनि दुवैको अन्तरसम्बन्ध छ ।’

संसद पनि राजनीति गर्ने प्लेटफर्म भएकाले नेताहरुले आआफ्नो राजनीतिक स्वार्थ अनुसार त्यहाँ कुरा राख्ने गरेको उनको भनाइ छ । ‘यसरी बोलेका कुरा कतिपय विषय राष्ट्रिय मुद्दा बन्छ,’ उनले भने, ‘अहिले त्यस्तै भएको छ, नेताहरुले संसदमा बोलेको कतिपय कुरा राष्ट्रिय बहस बनेका छन् ।’

पदमरत्न तुलाधरले राष्ट्रिय पञ्चायतमा बहुदलको कुरा गर्दा यस्तै हंगामा भएको, रामराजा प्रसाद सिंहले गणतन्त्रको कुरा गरेर राष्ट्रिय पञ्चायतमा चुनाव जितेको स्मरण गराउँदै उनले भने, ‘संसदमा यस्ता कुराहरु भइरहन्छन् ।’

तर संसदमा बोलेकै आधारमा कसैमाथि गाली गलौज, भौतिक आक्रमण जस्ता कार्य गर्न नहुने उनले बताए । ‘असहमति हुनसक्छ, फरकमत हुनसक्छ तर असहमति हुँदैमा आक्रमण तथा गाली गलौज गर्न हुँदैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप