शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपाधि चुम्नबाट ६ पटक चुकेको ‘अभागी’ लिभरपुल

शुक्रबार, १२ असार २०७७, १४ : ०९
शुक्रबार, १२ असार २०७७

अन्तत ३० वर्षपछि लिभरपुल क्लब फेरि इङल्यान्डको लिग च्याम्पियन बन्यो । ‘प्रिमियर लिग’ युगमा लिभरपुलले उपाधि जितेको यो पहिलो अवसर हो, २८ वर्षअघि इंलिस प्रिमियर लिग सुरु हुँदा सर्वाधिक १८ पटक माथिल्लो डिभिजनको लिग जितेको गर्विलो इतिहास लिभरपुलको थियो । तर, यसपछि उपाधि जित्नका लागि उसले वर्षौं–वर्ष पर्खनुप-यो । केही त्यस्ता अवसर थिए, जतिबेला परिस्थिती अनुकुल बनेको भए लिभरपुलले यति लामो प्रतिक्षा गर्नुपर्ने थिएन ।


सन् १९९०–९१

१९९०–९१ मा इङल्यान्डको पहिलो डिभिजनअन्तर्गत कुल २ सय ६८ दिनमध्ये १ सय ६३ दिनसम्म लिभरपुल शीर्ष स्थानमा थियो । तर, अन्त्यमा उपाधि आर्सनलको पोल्टामा पुग्यो र लिभरपुलले दोस्रो स्थानमै चित्त बुझायो । स्पष्ट तीन अंकको अग्रतासहित लिभरपुल लिगको शीर्ष स्थानमै रहेका बेला प्रशिक्षक केनी डेलग्ल्सिले अचानक क्लब छाडेको घोषणा गरे । यो निर्णय लिग सकिनु तीन महिनाअघि आएको थियो । खेलाडी तथा प्रशिक्षकका रुपमा १४ वर्षसम्म क्लबमा बिताएकी डेलग्ल्सिको सन्यासको घोषणा नै लिग उपाधिमा टर्निङ प्वाइन्ट बन्यो । आफ्ना नियमित प्रशिक्षक नहुँदा लिभरपुल पहिलेजस्तो प्रभावकारी देखिएन । घरेलु मैदानमा आर्सनलसँग १–० ले पराजित भएपछि लिभरपुललाई ठूलो धक्का लाग्यो । डेलग्ल्सिको नेतृत्वमा २४ मध्ये २ खेलमात्रै हारेको लिभरपुलले त्यसपछि बाँकी १४ खेलमा ६ खेल हा-यो । नतिजा, आर्सनलले ८३ अंक बटुलेर उपाधि जित्दा लिभरपुल ७६ अंकसहित दोस्रो स्थानमै सिमित भयो ।

नट्टिङह्याम फरेस्ट र लिभरपुलबीच १९८९ मा हिल्सवर्ग रंगशालामा भएको एफए कप सेमिफाइनल खेलका दौरान समर्थकबीच भागदौड मच्चिएर ९६ जनाको ज्यान गएको थियो र ७ सय ६६ जना घाइते बनेका थिए । यस घटनाको साक्षी बनेका प्रशिक्षक डेलग्ल्सिमा जीवनभर त्यसको प्रभाव प¥यो । यसैबाट सिर्जित मानसिक तनावलाई कम गर्न आफुले सन्यासको घोषणा गरेको डेलग्ल्सिको प्रतिक्रिया थियो । योर्गन क्लोपले यस सिजन उपाधि जिताउनुअघि लिभरपुललकै अन्तिमपटक सन् १९९० मा उपाधि जितेको डेलग्ल्सिकै प्रशिक्षणमा थियो ।

सन् १९९६–९७

१९९२–९३ देखि इंलिस प्रिमियर लिग सुरु भयो र यसपछि लिभरपुलको उत्कृष्ट प्रदर्शन १९९६ मा मात्रै देखियो । यतिबेला क्रिसमस ब्रेकसम्म आइपुग्दा लिभरपुल शीर्ष स्थानमा थियो । तर यसपछि बाँकी खेलमा उसको प्रदर्शन राम्रो भएन र समग्रमा चौथो स्थानमै चित्त बुझायो । ‘सुरुको १० खेलमा हामी सबै प्रतियोगितामा अपराजित थियौं, जसले हामीमा उपाधि जित्ने विश्वास जगाएको थियो,’ यस सिजन लिभरपुलबाट एउटा खेलमात्रै गुमाएका जासोन म्याकएटर भन्छन्,‘हामी डिसेम्बरमा शीर्ष स्थानमा थियौँ । हामीले सोचेका थिएनौं की हामी जित्नेछांै, तर मलाई लागेको थियो हामीलाई हराउन निकै कठिन हुनेछ ।’ सो सिजन म्यान्चेस्टर युनाइटेड च्याम्पियन बन्यो ।

सन् २००१–०२

सन् १९९१ पछि लिभरपुल फेरि दोस्रो भयो । अक्टुबरमा मुख्य प्रशिक्षक जेरार्ड होउलियर गम्भीर बिरामी भएपछि ५ महिनासम्म सहायक प्रशिक्षक फिल थोम्पसनकै नेतृत्वमा लिभरपुलले खेलेको थियो । तर अप्रिलमा हर्ट सर्जरी गरेर फ्रान्सेली प्रशिक्षक फेरि फर्किए । लिभरपुलले लिगमा ८० अंक जोड्यो । तर, आर्सनल यतिबेला अन्य टोलीभन्दा निकै उत्कृष्ट लयमा थियो, उसले ८७ अंकसहित उपाधि जित्यो ।

सन् २००८–०९

२००५ मा राफा बेनिटेजले लिभरपुललाई च्याम्पियन्स लिग जिताएका थिए । र, उनी लिभरपुललाई प्रिमियर लिग जिताउन चाहन्थें । स्टेभेन जेरार्ड, जाभी अलन्सो, डर्क क्वेट, फर्नान्डो टोरेजलगायत खेलाडीहरुले भरिएको लिभरपुल २००९ मा उपाधि नजिक पनि पुगेको थियो । २००८–०९ को सिजन लिभरपुलले निकै उत्कृष्ट सुरुवात ग¥यो । २००९ को जनवरीसम्म यो टोली शीर्ष स्थानमा थियो । तर एलेक्स फर्गुसनको म्यानचेस्टर युनाइटेडको दबाब लिभरपुलले धेरै थेग्न सकेन । जनवरीमा लिभरपुलले लगातार तीन खेल बराबरी ग¥यो । यसपछि उपाधि होडमा युनाइटेड अगाडि देखियो । म्यानचेस्टर सिटीसँगको बराबरी र मिडल्ब्रोसँगको हारले लिभरपुललाई नराम्रो धक्का दियो । म्यानचेस्टरलाई वल्र्ड ट्राफोडमै ४–१ को हार चखाएको लिभरपुलले अन्तिम ११ खेलमध्ये १० खेल जितेपनि उपाधि आफ्नो बनाउन सकेन । युनाइटेडले ९० अंकसहित लिग जित्दा लिभरपुलले ८६ अंक जोडेर दोस्रो स्थानमै चित्त बुझायो ।

सन् २०१३–१४

स्टेफेन जेरार्ड, लुईस सुआरेजसँगै डेनिल स्टुआरेज, फिलिपो काउन्हिो र युवा खेलाडी रहिम स्ट्रर्लिङको प्रदर्शन सिजनभर जर्बजस्त रह्यो । ब्रेन्डन रोजर्सको नेतृत्वमा रहेको लिभरपुल यस सिजन अन्तिम तीन खेल बाँकी छँदासम्म शीर्ष स्थानमा थियो । तर चेल्सीसँग २–० ले पराजित हुनु नै लिभरपुलको सबैभन्दा ठूलो दुर्घटना थियो ।  यसपछि लिभरपुलले उपाधि जित्न या त बाँकी दुई खेलमा फराकिलो अन्तरको जित निकाल्ने वा म्यानचेस्टर सिटीको नतिजामै भर पर्नुपर्ने अवस्था निम्तियो किनकीसमान अंक भएपनि गोलअन्तरमा लिभरपुल सिटी अघि थियो । लिभरपुलले क्रिस्टल प्यालेससँग ३–० को अग्रता लिएको खेलमा पनि बराबरी खेल्यो । अन्तिम खेलमा न्युक्यासलसँग लिभरपुलले २–१ को जित निकाल्यो, तर यसअघि लगातार दुई खेल जितेर शीर्ष स्थानमा कायम रहेको सिटीले बराबरी गरेमात्रै पनि पुग्ने आफ्नो अन्तिम खेलमा वेस्टहयाम युनाइटेडलाई २–० ले हरायो । यसको अर्थ म्यानचेस्टर सिटी ८६ र लिभरपुल ८४ अंकसहित पहिलो र दोस्रो भए । 

सन् २०१८–१९

योर्गान क्लोपको नेतृत्वमा गत सिजन पनि लिभरपुल उपाधि नजिक थियो र सिजनको अधिकांश समय लिभरपुल शीर्ष स्थानमै रह्यो । २१ औं चरणको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग शीर्ष स्थानको लिभरपुलको भिडन्त नै यस लिगको टर्निङ प्वाईन्ट थियो । यस खेलअघि लिभरपुल ७ अंकले अघि थियो अर्थात् जित हासिल गर्दा अग्रता १० अंकमा पुग्ने थियो । तर सिटीले २–१ ले खेल जितेसँगै दुई टोलीबीच शीर्ष स्थानमा ४ अंकको मात्रै फरक रह्यो । त्यसयता, लिभरपुलले कुनै खेल हारेन । उसले आफ्ना अन्तिम १५ खेलमध्ये ४ खेल बराबरी खेल्यो ।  यता, आफ्नो अन्तिम १५ खेलमध्ये १ खेल गुमाएको म्यानचेस्टर सिटीले बाँकी १४ खेल जित्यो । समग्रमा सिटी ९८ अंकसहित च्याम्पियन बन्यो, लिभरपुलले ९७ अंकसहित दोस्रो स्थानमै चित्त बुझायो । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थान हासिल गर्ने टोलीले ९७ अंक जोडेको यो नयाँ रेकर्ड थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप