केन्द्रीय संस्करण

इतिहासमा आज – संयुक्त राष्ट्रसंघको घोषणापत्रमा ५० देशद्वारा हस्ताक्षर

person explore access_timeअसार १२, २०७७ chat_bubble_outline0

सन् १९४५ मा अमेरिकाको सान फ्रान्सिस्कोमा आजैका दिन ५० देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको घोषणापत्रमा हस्ताक्षर गरे । यही घोषणापत्र  विश्वयुद्धपछिको नयाँ वैश्विक संगठन अर्थात् संयुक्त राष्ट्रसंघ निर्माणको आधार हो ।

देशहरुबीचको विवाद समाधान गर्न लिग अफ नेसन्स असफल हुँदा दोस्रो विश्वयुद्ध निम्तिएको थियो । तर, यसका बाबजुद विश्वयुद्धमा एकसाथ लडेका मित्र राष्ट्रहरुले सन् १९४१ को सुरुवातमै युद्धपछिको विश्वमा शान्ति कायम गर्नका लागि नयाँ अन्तर्राष्ट्रिय संगठनको आवश्यकता पर्ने महसुस गरेका थिए । संयुक्त राष्ट्रसंघको अवधारणा अगस्ट १९४१ बाट आयो, जतिबेला अमेरिकी राष्ट्रपति फ्रयाङ्कलिन डि रोसभेल्ट र बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले एटलान्टिक  चार्टरमा हस्ताक्षर गरे, यो चार्टरले शान्ति र सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहकार्य गर्न केही मान्यताहरु प्रस्ताव गरेको थियो । 

अर्को वर्ष, रोसभेल्टले धुरी राष्ट्र अर्थात् जर्मनी, इटली र जापानविरुद्ध एकजुट भएका राष्ट्रहरुको व्याख्या गर्न ‘संयुक्त राष्ट्रसंघ’ शब्द प्रयोगमा ल्याए । यो शब्द औपचारिक रुपमा पहिलो पटक १ जनवरी १९४२ मा प्रयोगमा आयो, जतिबेला मित्रराष्ट्रका २६ वटा देशका प्रतिनिधिले वासिङटन डिसीमा भेटेर  ‘संयुक्त राष्ट्रको घोषणापत्र’ नामक दस्तावेजमा हस्ताक्षर गरे । यसले एटलान्टिक चार्टरलाई स्विकृति दियो र मित्र राष्ट्रहरुको एकिकृत युद्ध लक्ष्यलाई प्रस्तुत ग-यो ।

सन् १९४३ मा मित्रराष्ट्रका प्रमुख शक्ति– बेलायत, अमेरिका, सोभियत युनियन र चीनले मस्कोमा भेटेर ‘मस्को घोषणापत्र’ जारी गरे । यस घोषणापत्रले औपचारिक रुपमै लिग अफ नेसन्सलाई विस्थापित गर्ने नयाँ अन्तर्राष्ट्रिय संगठन चाहिएको ठहर ग-यो ।

तेहरानमा डिसेम्बर १९४३ मा भएको मित्रराष्ट्रको सम्मेलनमा यो लक्ष्यप्रतिको प्रतिबद्धता दोहो-याइयो र १९४४ मा बेलायत, अमेरिका, सोभियत युनियन र चीनबीच वासिङटन डिसीस्थित डुमबार्टोन ओक्समा संयुक्त राष्ट्रसंघ निर्माणका लागि योजना बनाउन भेटवार्ता भयो । सात हप्तासम्म प्रतिनिधिहरुले नयाँ वैश्विक संगठनको ढाँचाको खाका कोरे, उनीहरुबीच सदस्यता र मतदानलाई लिएर विवाद पनि भयो । अन्तत ‘बिग थ्री’ अर्थात् अमेरिका, बेलायत र रुसबीच फेब्रअरी १९४५ मा याल्टा सम्मेलनमा सहमति जुट्यो । र, १९४२ मा  ‘संयुक्त राष्ट्रको घोषणापत्र’ मा हस्ताक्षर गरेका सबै देशका प्रतिनिधिहरुलाई संयुक्त राष्ट्रसंघको स्थापना भेलामा निम्ता गरियो ।

२५ अप्रिल १९४५ मा ५० देशको सहभागितामा सान फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय संगठनबारे संयुक्त राष्ट्रहरुको सम्मेलन गरियो । तीन महिनापछि, जतिबेला नाजि जर्मनीले आत्मसमर्पण गरिसकेको थियो, त्यसबेला संयुक्त राष्ट्रसंघको अन्तिम चार्टरलाई प्रतिनिधिहरुले सर्वसम्मत रुपमा स्विकार गरे । २६ जुनमा  चार्टरमा हस्ताक्षर गरियो । संस्थाको परिचयसहित १ सय ११ धारामा विभाजित १९ च्याप्टर समावेश यस चार्टरमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न, सामाजिक सुधार र राम्रो जीवन शैलीको प्रबद्र्धन , अन्तर्राष्ट्रिय कानून बलियो बनाउन र मानवअधिकार विकासको प्रवद्र्धनका लागि संयुक्त राष्ट्रसंघ गठन गर्नुपर्ने आवश्यकता उल्लेख गरिएको थियो । सचिवालय, महाभेला, सुरक्षा परिषद्, आर्थिक र सामाजिक काउन्सिल, इन्टरनेशनल कोर्ट अफ जस्टिस र ट्रस्टिसीप काउन्सिल संयुक्त राष्ट्रसंघका आधारभूत अंगका रुपमा रहने यस चार्टरमा उल्लेख छ ।

सुरक्षा परिषद्का पाँच स्थायी सदस्य र अन्य हस्ताक्षरकर्ताबाट बहुमतले पारित भएपछि २४ अक्टुबर १९४५ देखि संयुक्त राष्ट्रसंघ चार्टर कार्यान्वयनमा आयो । त्यसैले २४ अक्टुबरलाई नै संयुक्त राष्ट्रसंघ स्थापना दिवस मानिन्छ । ५१ देशका प्रतिनिधिको सहभागितामा १० जनवरी १९४६ मा संयुक्त राष्ट्रसंघको पहिलो भेला लण्डनमा सम्पन्न भयो । १९५२ मा अमेरिकाको न्युर्योकमा संयुक्त राष्ट्रसंघको हेडक्वाटर तयार भयो ।

अन्य घटनाक्रम

सन् १४९८– चीनमा विश्वकै पहिलो  टुथ ब्रसको आविस्कार ।

सन् १९४९– बेल्जियमको संसदीय चुनावमा पहिलोपटक महिलाहरुलाई पनि मतदानको अधिकार ।

सन् २००० – बंगलादेशलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पूर्ण सदस्यता अर्थात् ‘टेस्ट राष्ट्र’ को मान्यता प्राप्त ।

सन् २००४– भारतका चर्चित फिल्म निर्माता यश जोहरको निधन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.