विश्वको पर्खाल पुग्दा... (फोटोफिचर)
ओम शर्मा
बेइजिङ । ग्रेट वाल अफ चाइना चीनको उत्तरी सीमामा फैलिएको विशाल पर्खाल हो । यो पर्खाल चीनलाई विश्वसामु चिनाउने सबैभन्दा चर्चित पर्यटकीय क्षेत्रमा पर्छ ।
सम्राट क्विन सी हुवाङले ईशापूर्व तेस्रो शताब्दीमा यो पर्खालको निर्माण सुरु गरेका थिए । हाल पर्यटकहरू पुग्ने यस पर्खालको सबैभन्दा संरक्षित रहेको भाग भने १४ देखि १७औँ शताब्दीमा मिङ साम्राज्यको दौरान निर्माण भएको थियो ।
दुस्मनको हमला रोक्न यो पर्खालको निर्माण गरिएको भए पनि यसले वास्तवमै त्यस्तो हमला भने कहिल्यै रोक्न सकेन ।
ग्रेट वाल अफ चाइनाको निर्माणको सुरुवात ईशापूर्व तेस्रो शताब्दीमा भएको शोधकर्ताहरूले पत्ता लगाए पनि यससँग जोडिएका थुप्रै पर्खाल त्योभन्दा अघि निर्माण भएका छन् । चीन ससाना राज्यमा विभाजित भएका बेला यस्ता पर्खालहरू निर्माण भएका थिए ।
ईशापूर्व २२० मा एकीकृत चीनका प्रथम सम्राट क्विन सी हुवाङले विभिन्न राज्यबीच रहेका पर्खालहरू भत्काएर उत्तरी भागमा रहेको विभिन्न पर्खाललाई जोडेर एउटै लामो पर्खाल बनाउन सुरु गरेका थिए । यसलाई वाङ लि च्याङ चेङ वा १०,००० लि लामो पर्खाल भनिन्थ्यो । (१ लि करिब १ माइलको एक तिहाइ भाग हुन आउँछ ।)
यो कुनै पनि मानव सभ्यताले सुरु गरेको सबैभन्दा महत्वकांक्षी योजना थियो । चर्चित चिनियाँ जनरल मेङ टियानले यो परियोजनाको नेतृत्व गरेका थिए । यो निर्माण गर्न सेना, कैदीदेखि सर्वसाधारणको प्रयोग भएको थियो । यो पर्खाल निर्माणका क्रममा ४ लाख जनाले ज्यान गुमाएको बताउने गरिन्छ ।
माटो र ढुङ्गाले निर्माण गरिएको उक्त पर्खाल चीनको सान्हाइगुवान तटदेखि पश्चिममा रहेको गान्सु प्रान्तसम्म करिब ३ हजार माइल क्षेत्रफलमा फैलिएको थियो । केही रणनीतिक क्षेत्रमा उच्च सुरक्षाका लागि पर्खाललाई दोहोरो बनाइएको थियो । पर्खालको उचाइ १५ देखि ३० फिटको रहेको छ भने निश्चित दूरीमा अग्ला गार्ड टावर रहेका छन् ।
क्विन सी हुवाङको मृत्यु र क्विन साम्राज्यको अन्त्यपछि ग्रेट वाल जीर्ण बन्न पुग्यो । अझ, हान वंशको अन्त्यपछि विभिन्न शक्तिशाली जनजातिहरूले उत्तरी चीनमा नियन्त्रण बनाए । यसमध्ये उत्तरी वेइ वंश सबैभन्दा शक्तिशाली थियो । यही बेला पर्खालको पुनःनिर्माण र जीर्णोद्धार सुरु गरिएको थियो । बेइ की राज्यले यो पर्खालको ९ सय माइल जीर्णोधार र निर्माण गरेको थियो । त्यस्तै सुई वंशले पनि ग्रेटवालमा थप निर्माण गरेको थियो ।
सुई वंशको अन्त्य र टाङ वंशको उदयपछि पर्खालले आफ्नो महत्व गुमाएको थियो । चीनले उत्तरमा रहेको तुजुये कबिलालाई पराजित गरी पर्खालभन्दा पनि पर आफ्नो साम्राज्य विस्तार गर्न सफल भएको थियो । सोङ वंशका बेला चीन फेरि पर्खाल पछाडि फर्कन बाध्य भएको थियो ।
त्यसपछि शक्तिशाली जङ्गिस खानले निर्माण गरेको युवान वंशले चीन तथा एसिया र युरोपको केही भागमा आफ्नो सम्राज्य फैलाए । राज्यको सुरक्षाको दृष्टिकोणले उनका लागि पर्खालको खासै महत्व नभए पनि उनले व्यापारी र व्यापार मार्गको सुरक्षाका लागि उक्त पर्खालमा सेनाहरू खटाएर जिर्णोद्धार गर्न लगाएका थिए ।
ग्रेट वाल अफ चाइनाको यति लामो इतिहास भए पनि हाल सुरक्षित रहेको धेरैजसो पर्खाल भने मिङ वंशको बेला निर्माण भएको हो । यो समयमा मिङ वाल लियाओलिङ प्रान्तदेखि गान्सु प्रान्तसम्म फैलिएको थियो ।
१७औँ शताब्दीको मध्यतिर मान्चुहरूले ग्रेट वाल भत्काएर बेइजिङमा आक्रमण गरे अनि मिङ वंशको अन्त्य गर्दै क्विङ वंशको सुरुवात गरे । १८औँ र २०औँ शताब्दीको बीचमा ग्रेट वाल चीनको सबैभन्दा चर्चित प्रतीक बन्न पुग्यो । चीनका लागि ग्रेट वालले भौतिकरूपमा शक्तिको प्रतीक बन्न र मनोवैज्ञानिक रूपमा विदेशी प्रभाव रोक्न र आफ्ना जनतालाई बाँधेर राख्न सफल भयो ।
सन् १९८७ मा युनेस्कोले ग्रेटवाललाई विश्व सम्पदा क्षेत्रको सूचीमा राखेको थियो । यो पर्खाल अन्तरिक्षबाट देखिने एक मात्र मानवनिर्मित संरचना भएको पनि दाबी छ । हुन त चन्द्रमाबाट पनि यसलाई देखिन्छ भने पनि त्यो सत्य भने होइन । अहिले पर्यटकहरू जाने पर्खालको बडालिङ क्षेत्र बेइजिङमा ७० किलोमिटर उत्तरमा रहेको छ । यसलाई १९५० ताका पुनःनिर्माण गरिएको थियो । यहाँ दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजी ब्राण्डको विन्टर प्रोडक्ट्सहरु सार्वजनिक
-
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
-
चेन्नई सुपर किङ्सको मालिकले आईपीएलमा फिक्सिङ गरेको ललित मोदीको आरोप
-
लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न केयुसँग सम्झौता
-
समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने मन्त्रीको चेतावनी
-
‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट