बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लकडाउनमा लफडा : जसरी भएपनि काठमाडौं प्लाजा खाली गराउने पक्षमा नेपाल ट्रष्ट

कन्सेप्ट डेभलपर्स भन्छ–अहिले नै प्लाजा खाली गरेर व्यवसायीलाई विचल्लीमा पार्न सकिँदैन
बिहीबार, ११ असार २०७७, १७ : ०७
बिहीबार, ११ असार २०७७

कोरोनाभाइरसको संक्रमणका कारण मुलुक लामो समयसम्म लकडाउनमा जाँदा व्यापार व्यवसाय चौपट बनेकै अवस्थामा नेपाल ट्रष्टको कार्यालयले काठमाडौं प्लाजा जसरी भएपनि खाली गराउने नीति लिएको छ । 

कन्सेप्ट डेभलपर्स प्रालिसँग भएको सम्झौता यही असार २ गते सकिएकाले सो भवन पूर्णरुपमा खाली गराउन भन्दै ट्रस्टले सूचना जारी गरेपछि दुई पक्षबीच विवाद सतहमा आएको छ । 

ट्रष्टले यसअघि भाडामा लगाउँदै आएको कन्सेप्ट डेभलपर्सलाई सम्झौता नवीकरण नगरी अब काठमाडौ महानगरपालिकालाई भाडामा दिने निर्णय गरेको बताइएको छ । 
 ट्रष्टले प्लाजा खाली गराउन जारी गरेको निर्देशन कानुन विपरित रहेको भन्दै कन्सेप्टले यसविरुद्ध अदालत जाने चेतावनी दिएको छ । 

कन्सेप्ट डेभलपर्सका अध्यक्ष सुनिलभक्त श्रेष्ठले प्लाजा अहिले नै छाडेर झण्डै ८० व्यवसायीलाई विचल्लीमा पार्न नसक्ने बताएका छन् । आफूहरुबाट प्लाजा खोसेर महानगरलाई बुझाउन चलखेल गर्न लागिएको पनि उनको आरोप छ । 

अध्यक्ष श्रेष्ठले भने, ‘महानगरपालिकाले मासिक ६० लाख ५० हजार दिने  भनेको छ  । तर हामीले उसको भन्दा बढी अर्थात ६२ लाख मासिक भाडा दिन्छौ भनेका छौ । उनीहरुको कानुनले नै म्याद पुनः थप गर्न सक्ने व्यवस्था गरेको छ । फेरि पनि ट्रष्टले हामीबाट खोसेर चलखेल गर्न किन खोजिरहेको छ ?’

कन्सेप्टले अहिले भने मासिक ६ लाख भाडा तिरिरहेको छ । २५ वर्ष अघि १६ करोड रुपैयाँ लगानी गरेर कन्सेप्ट डेभलपरले नै सो भवन निर्माण गरेको थियो । उसको लगानी भएकाले कम भाडा तिरेको डेभलपरले भनेको छ ।

 गोकर्ण रिसोर्टको करार अवधि थप्न ऐन संशोधन गरेको ट्रष्टले के कति कारणले कन्सेप्ट डेभलपर्सलाई समय थप गर्न नसकेको हो सोको जानकारी माग गर्दै पुनः कन्सेप्ट डेभलपरले नेपाल ट्रष्टलाई पत्र लेख्ने भएको छ । 

करार सकिनु एक बर्ष अगावै  डेभलपर्सले तिर्दै आएको भाडाको दोब्बर (मासिक १३ लाख) तिर्ने गरी प्रोपेजल (बैशाखमा) पेश गरेको भएपनि ट्रष्टले सो प्रपोजल माघमा मात्र अस्वीकार गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले भने, ‘ट्रष्टको कन्सल्ट्यान्टले हाम्रो दर कम भएको ठहर गरेको भनिएको थियो । के कति हो सो रकम तिर्न तयार छौ भन्दा पनि उनीहरुले हामीलाई सो रकम बारे भन्न मानेनन् ।’

प्लाजाको भवन मर्मत गर्न अहिले ८ करोड लाग्ने देखिएको र सो रकम समेत आफूले ब्यहोर्न तयार रहेको श्रेष्ठ बताउँछन् । डेभलपरले असार ४ गते नेपाल ट्रष्टलाई आफूले प्रकाशित गरेको सूचनाको पुर्नविचार गर्दै नवीकरण गर्न पत्राचार गरेको थियो । 

तर ट्रष्टले भने कन्सेप्ट डेभलपर्सले राम्रो निर्णय गरेको भएपनि सबै प्रस्ताव महानगरलाई दिने स्वीकृत भएपछि मात्र आएकाले उनीहरुको प्रस्ताव सुनुवाइ गर्न नसकेको बताएको छ । 

तर डेभलपर्सले भने आफ्ना प्रस्तावलाई वेवास्ता गर्दै महानगरको प्रस्तावमात्र मन्त्रिपरिषदमा लगेको दावी गरेको छ । उसले पटक पटक पत्राचार गरेपनि दर्ता गर्नै नमानेको आरोप लगाएको छ । 

 के छ कानुनमा ?
नेपाल ट्रष्ट ऐन २०६४ (केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७५) को  बुँदा ५ को ३ ख मा लिज अवधि सकिएपनि पुनः नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । 

ऐनमा भनिएको छ, ‘उपदफा ३ (क) मा जुनसुकै कुरा लेखिएको भएपनि अवधि तोकिएको लिजमा दिएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पुँजी लगानीसहित विद्यमान संरचनालाई मर्मत सम्भार गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रष्टलाई आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाव्त हुनु अगावै समेत आवश्यकता अनुसार ट्रष्टको सिफारिसमा नेपाल सरकारले  लिज अवधि थप गर्न सक्नेछ । तर त्यसरी थप गरिएको लिज अवधि शुरु अवधि भन्दा बढी हुने छैन । ’

ऐनलाइ आधार मान्ने हो भने कन्सेप्ट डेभलपर्सको म्याद थप हुने कानुनी बाटो देखिन्छ । 

२०५० असार ३ गते तत्कालीन नारायणहिटी राजदरबारसँग सम्झौता गरी राजदरबाार खर्च विभागको नाममा दर्ता रहेको जग्गा भाडामा लिएर डेभलपर्सले आफ्नै लगानीमा काठमाडौ प्लाजाको भवन निर्माण गरेको थियो । यता सम्झौता अवधि सकिएपनि नवीकरण गर्ने व्यहोरा सम्झौताको प्रकरण नम्बर ४ (ग) मा पनि छ ।

के भन्छ ट्रष्ट ?
नेपाल ट्रष्टका प्रवक्ता बाबुराजा श्रेष्ठ अब जसरी भएपनि काठमाडौ प्लाजा खाली गराएर महानगरपालिकालाई दिने बताउँछन् । असार २ गते नै उनीहरुको म्याद सकिसकेकोले महानगरलाई दिने निर्णय क्याविनेटबाटै भइसकेको उनले बताए । 

 २०७६ को कात्तिकमा पेस गरिएको प्रस्तावमा ज्यादै थोरै दर राखेकोले त्यसलाई अस्वीकार गरेको उनले बताए । उनले भने, ‘महानगरको प्रस्ताव स्वीकृत भएपछि त्यो भन्दा बढी मूल्य आफूहरुले पनि दिने भन्दै कन्सेप्ट डेभलपर आएको हो । त्यतिबेलासम्म ढिला भइसकेको थियो । त्यसपछि हामीले उहाँको प्रस्ताव खारेज गरेका हौ ।’ 

कन्सेप्ट डेभलपरको पटक पटक  लेखेको चिठीनै दर्ता गर्न नेपाल ट्रष्टले नमानेको भन्ने आरोपलाई ट्रष्टका प्रवक्ता श्रेष्ठले खण्डन गरेका छन् । 

ट्रष्ट जसरी भएपनि काठमाडौ प्लाजा खाली गर्ने पक्षमा देखिएको छ भने डेभलपर्स अब अदालत जाने तयारीमा देखिएको छ । 

डेभलपरकाे पत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप