बार्सालाई उछिन्दै रियल पुनः ला लिगाको शीर्ष स्थानमा

भिनिसियस जुनियर र सर्जियो रामोशको गोलको मद्दतले मार्योकामाथि सहज जित हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः उक्लिएको छ । जिनेदिन जिदानको टोली र बार्सिलोनाको बराबर ६८ अंक रहे पनि हेड टु हेडको आधारमा रियल शीर्ष स्थानमा पुगेको हो ।
खेलको पहिलो हाफमा भिनिसियस जुनियरले रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रामोशले रियलको जीत सुनिश्चित गरे । यो सिजन रामोशको यो दशौँ गोल थियो । रियलका लागि एडिन हजार्ड र करिम बेन्जेमाले गोलको सुन्दर अवसर गुमाएका थिए ।
मार्योकाले खेलमा १५ वर्षीय लुका रोमेरोलाई डेब्यु दिएको थियो । योसँगै उनी लिगमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बने ।
अब बाँकी ७ खेलमा सबैमा जित हासिल गरे, रियलले सन् २०१७ पछि पहिलो उपाधि जित्नेछ । यता, हारपछि मार्योका भने रेलिगेसन क्षेत्रमा रहेको छ ।
अन्य खेलमा सेल्टाभिगोले रियल सोसिडाड र ओसासुनाले आलाभेसलाई समान १–० को गोलअन्तरले हरायो ।