बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्र शाहको चेतावनी- निषेध र प्रतिशोधको भावनाले कसैको हित गर्दैन

बुधबार, १० असार २०७७, १९ : ३७
बुधबार, १० असार २०७७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र प्रतिशोधको भावनाले कसैको हित नगर्ने चेतावनी दिएका छन् । आफ्नो जन्मोत्सवको अवसरमा बुधबार एक शन्देश जारी गर्दै पूर्व राजा शाहले राष्ट्रियता नै मुलमन्त्र र एकता शक्ति भएको भन्दै अहिले एक अर्कामा आरोप प्रत्यारोप र निषेधको संस्कृति मौलाएको र यसले कसैको हित नगर्ने चेतावनी दिएका हुन् । 

उनले नेपालको गौरवमय इतिहासलाई स्वीकार गरेर जानुपर्ने आवश्यक्तामा जोड दिदै नेपाल राष्टको एकीकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वोत्तममुखी विकासको चिन्तन कहिले कसले र कोबाट भयो भन्दै  त्यो आम हेक्काको विषय भैसकेको बताएका छन् । उनले त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने र राष्ट्रियता नै मुल मन्त्र र एकता नै शक्ति बनाउनुपर्ने सुझाव पनि दिएका छन् । 

उनले देशभक्ति, स्वाधिन स्थिति एवम् स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ भन्दै प्रश्न समेत गरेका छन् । उनले जनताको सुरक्षा, स्वास्थ्य र जिविकाको विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ भन्दै रोगको महामारी, राष्ट्रियताको संकट, सिमा समस्या, राष्ट्रिय हित बिरुद्धका सन्धि सम्झौता तथा हत्या हिंसा र आत्महत्याजस्ता जल्दाबल्दा दुःखद विषय सन्दर्भमा पनि किन सधैँभरी विवाद आइरहन्छ भनेर प्रश्न गरेका छन् ।
‘त्यसैले अहिले देशमा पनपनाउँदै गएको जातीयता, वर्गियता र क्षेत्रीयताका संक्रिण दुर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन’ शाहले भनेका छन् ।  पूर्वराजा शाहले कोरोना महामारीबाट जीवन गुमाएका र पीडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदनाका साथै संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दै संक्रामक रोगको यो समयमा नेपाली जनताले भोग्न परेको गाँस, बास र कपास लगायतका विविध समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । 

उनले यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिक बेथितिप्रति चिन्ता व्यक्त गरेका छन् । वाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरु स्वदेश फर्कने क्रममा रहेका भन्दै  फर्कने सबैको श्रम, सीप र सामथ्र्यको सदुपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउन जरुरी रहेको शाहले बताएका छन् ।  पूर्वराजा शाहले राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गर्दै असार महिनामा पर्ने आफ्नोे जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको समेत जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप