बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टिनमा बसेका किशोरको प्रादेशिक अस्पतालमा मृत्यु, परिवारजनद्वारा चार बुँदे माग

बुधबार, १० असार २०७७, १७ : १३
बुधबार, १० असार २०७७

जनकपुर । क्वारेन्टिनमा बसेका एक किशोरको स्वास्थ्य अवस्था बिग्रिएपछि प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा उपचारको अभावमा उनको मृत्यु भएको परिवारजनले आरोप लगाएको छ । परिवारले उनको मृत्युबारे अनुसन्धानको माग गरेको छ ।

धनुषाको हंसपुर नगरपालिकास्थित क्वारेन्टिनमा रहँदै आएका १५ वर्षीय राजु सदाको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । भारतबाट फर्किएका उनको क्वारेन्टिनमै स्वास्थ्य अवस्था बिग्रिएपछि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो ।

अस्पतालले समेत कोरोनाको आशंका गर्दै बेवास्ता गरेपछि उनको मृत्यु भएको हो । हंसपुर–७ स्थित प्रसाही बस्ने राजुलाई झाडापखाला लागेको थियो । झाडापखालाको समयमै उपचार नभएका कारण उनको मृत्यु भएको मृतककी आमा निलम देवी सदाको भनाइ छ ।

आर्थिक अवस्था दयनीय रहेकै कारण उनी भारतको मद्रासमा मजुदुरी गर्दै घरपरिवारको गुजारा चलाउँदै आएका थिए । विश्वव्यापी महामारी कोरोनाभाइरसका कारणले रोजगारी गुमेपछि उनी भारतबाट जसोतसो स्वदेश आईपुगे ।
गाउँमा आउनासाथ उनलाई जेठ १४ क्वारेन्टिनमा भर्ना गरियो । क्वारेन्टिनमा भर्ना भएदेखि नै उनलाई झाडापखालाले सताएको थियो । तर समयमा कसैले वास्ता भने गरेनन् ।

क्वारेन्टिनमा आरडिटी चेकजाँचबाट पोजेटिभ रिपोर्ट आएपछि उनलाई २८ गते प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । यसबीचमै उनलाई झाडापखालाले सिकिस्त बनायो । उनको पीसिआर टेस्ट चेकजाँच भयो । पिसिआर रिपोर्ट आउन ढिलो भएका कारण उनको समयमै उपचारसमेत हुन सकेन ।

लामो समयसम्म झाडापखालाका कारण शरीर शिथिल हुदैँ गएका कारण मृत्यु हुनपुगेको आमा निलम देवीको भनाइ छ । अस्पतालमा ल्याए पनि उनको स्वास्थप्रति कसैले वास्ता नगरेको उनको आरोप छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएको अवस्थामा समेत १४ दिनसम्म आइसोलेसनमै रहेका उनले झाडापखाला लगायतका रोगको उपचार पाउन नसकेको परिवारजन बताउँछ । उनलाई सोमबार रातिमात्र ईमरजेन्सी कक्षमा भर्ना गरिएको थियो ।

प्रादेशिक अस्पताल जनकपुरका डा.कुलदीप पण्डितले भने अस्पतालमा ल्याएको केही दिनमै झाडापखाला निको भइसकेको दावी गरे । पीसिआर रिपोर्ट नेगेटिभ रहेकोले उनको कोरोनाको कारण मृत्यु नभएको प्रष्ट पार्दै उनले अन्य कारणले मृत्यु भएको जिकिर गरे ।

डा. पण्डितका अनुसार मस्तिष्कघातका कारण उनको मृत्यु भएको हुन सक्छ । उनले भने, ‘मिनिंगो इन्सेफ्लाईटिस रोगको समयमै उपचार नभएका कारण राजुको मृत्यु भएको हो, हामीलाई पनि ढिला गरी थाहा भएका कारण उनलाई बचाउन सकिएन ।’

राजुकी आमा निलम देवीले पत्रकार सम्मेलन आयोजन गरि ४ बुँदे माग अघि सारेकी छन् । राजुको मृत्युका बारेमा अनुसन्धान हुनुपर्ने, प्रादेशिक अस्पतालका मेसु, अस्पताल प्रशासन र आईसोलेसन सहित ईमरजेन्सीका जिम्मेवार व्यक्ति माथि कारवाही हुनुपर्ने, हंसपुर नगरपालिका वडा नम्बर ७ स्थित नौहाप्रसाही क्वारेन्टिनका व्यवस्थापक माथि कारवाही हुनुपर्ने र छट्पटाएर प्राण त्यागेका राजु सदाको परिवारलाई अविलम्ब राहत व्यवस्था हुनुपर्ने माग अघि सारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप