मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् अझै बैंक पुग्न नसकेका ७ ‘दुर्गम गाउँ’

मङ्गलबार, ०९ असार २०७७, १७ : ००
मङ्गलबार, ०९ असार २०७७

काठमाडौं । नेपालको दुर्गम ठाउँहरु कुन होलान् ? प्रश्न सुन्नेबित्तिकै हाम्रो ध्यान हुम्ला डोल्पा, मुगु लगायतका जिल्लामा पुग्छ । 

 सामान्यतया मोटरबाटो पुग्न बाँकी रहेका क्षेत्रलाई हामी दुर्गमको रुपमा हेर्छौं । तर, स्थानीयस्तरको कार्यसञ्चालनको सुविधाका आधारमा भने ७ वटा स्थानीय तह ‘सबैभन्दा दुर्गम’मा परेका छन् जहाँ अझैसम्म पनि बैंकको शाखा पुग्न सकेको छैन ।  

नयाँ संविधानको व्यवस्थाअनुसार स्थानीय सरकारको संरचना निर्माण भएपछि नेपाल राष्ट्र बैंकले शाखा पुग्न नसकेका स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने नीति लिएको थियो । 

वित्तीय गतिविधि सञ्चालन र स्थानीय क्षेत्रको वित्तीय पहुँच विस्तारको लागि भन्दै त्यसरी २ वर्षअघि नै प्रत्येक तहमा बैंकको शाखा खोलिसक्ने लक्ष्य लिइए पनि चालु आर्थिक वर्षमा पनि त्यो लक्ष्य पूरा हुन नसक्ने देखिएको हो । योसँगै ती तहले बैंक पाउन अर्को आर्थिक वर्ष कुर्नुपर्ने भएको छ । 

पछिल्लो समय कोरोनाभाइरसका कारण पूर्वाधारको व्यवस्थापनको काम समेत अघि बढ्न सकेको छैन । सोही कारण माघ मसान्तमा ७ वटा स्थानीय तहमा शाखा पुग्न बाँकी रहेकोमा सो संख्या अहिलेसम्म पनि ७ नै छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म ७ प्रदेशमध्ये दुईवटा प्रदेशमा मात्रै वाणिज्य बैंकले शाखा विस्तार गर्न सकेको छ । बाँकी ५ वटा प्रदेशमा ७ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न सकेको छैन । उक्त स्थानीय तहमा प्रदेश १ अन्तर्गत ताप्लेजुङको मिक्वाखोला, बागमती प्रदेश अन्तर्गत धादिङको रुवीभ्याली र नेत्रावती, गण्डकी प्रदेश अन्तर्गत मनाङ जिल्लाको नार्फु गाउँपालिका, कर्णाली प्रदेश अन्तर्गत जाजरकोटको जुरिचाँदे गाउँपालिका तथा सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङको काँडा र थलारा गाउँपालिका रहेका छन् ।

 मिक्वाखोलामा सेञ्चुरी कमर्शियल बैंक, रुवीभ्यालीमा बैंक अफ काठमाण्डू, नेत्रावतीमा नेपाल इन्भेष्टमेन्ट बैंक, नार्फुमा नेपाल बैंक, जुनीचाँदेमा कृषि विकास बैंक तथा थलारामा कुमारी बैंकले शाखा विस्तार गर्न बाँकी रहेको छ ।
सबै बैंकहरुले शाखा विस्तार गर्ने तयारी गरे पनि पूर्वाधारको अभावका कारण यो सम्भव नभएको जनाइएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कुनैपनि बैंक स्थापना गर्नुअघि सो क्षेत्रमा आवश्यक पूर्वाधार पुग्नुपर्ने व्यवस्था रहेकोमा त्यो हुन नसक्दा शाखा खोल्ने प्रक्रिया पूरा हुन नसकेको बताए । 

वाणिज्य बैंकको शाखा खोल्न कम्तीमा पनि विद्युत् र टेलिफोन, इन्टरनेट लगायत सुविधा भएको हुनुपर्छ । 

त्यस्तै, प्रहरी चौकी र पक्की भवन समेत बन्नुपर्छ । कुनै स्थानमा पक्की भवन तथा कतै प्रहरी चौकी स्थापना हुन नसकेको कारण यो शाखा सञ्चालनमा ढिलाइ भएको हो । राष्ट्र बैंकले २०७५ असार मसान्तभित्रै सबै तहमा शाखा पुर्याउने लक्ष्य लिएको थियो । तर सोही पूर्वाधारका कारण २ वर्ष ढिला भएको शाखा विस्तार कोरोनाभाइरसका कारण थप पछि धकेलिने भएको हो । 

बैंकको शाखा पुग्न बाँकी बझाङको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले भने, ‘हामीले सबै पूर्वाधार पूरा गरिसकेका थियौं, कुमारी बैंकले शाखा खोल्ने तयारी गरिसकेको थियो । लकडाउन भएपछि शाखा खोल्ने काम त्यतिकै रोकियो, अब साउनदेखि खुल्ने तयारी गरिएको छ ।’

 स्थानीय तहमा बैंकको शाखा नहुँदा सदरमुकाम चैनपूरको बैंक शाखाबाट कारोबार गरिरहेको सोत उपाध्यायले बताए । थलारामात्रै नभएर अन्य स्थानीय तहहरुले समेत शाखा नखुल्दा कारोबारका लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता परिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप