शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसपा नेपालविरुद्ध निर्वाचन आयोगमा उजुरी

मङ्गलबार, ०९ असार २०७७, ११ : ४४
मङ्गलबार, ०९ असार २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण पछि बनेको पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाल विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हुने भएको छ । पार्टीको विधान तथा निर्वाचन आयोगको नियमावली विपरित जसपा नेपाललाई दर्ता गराउन निवेदन परेको भन्दै तत्कालिन राजपा नेपालका असन्तुष्ट नेताहरु आज आयोगमा निवेदन दर्ता गराउन जाने भएका हुन् ।

जसपा नेपाल दर्ता गराउन बुझाएको कार्यसमितिमा ३३ प्रतिशत महिला नरहेको, पार्टी दर्ता गराउनका लागि केन्द्रीय समितिबाट सर्वसम्मतीले पास नभएको साथै पार्टी दर्ताका लागि बुझाइएको हस्ताक्षरमा तत्कालिन राजपा नेपाल अध्यक्षमण्डलमा रहेका छजनामध्ये दुईजनाको हस्ताक्षर नरहेको कारण देखाउँदै सो पार्टीका असन्तुष्ट नेताहरु आज निवेदन लिएर निर्वाचन आयोग जाँदैछन् ।

तत्कालिन राजपा नेपालका सचिव अर्यालका अनुसार समाजवादी पार्टीसँग एकीकरण गर्दा राजपा नेपालले कानुनी प्रकृया नपुर्याएको तथा कानुनअनुसार समावेशी नबनाएको कारण सो दर्ता प्रकृयालाई रोक्नका लागि आफूहरु आयोगमा निवेदन दर्ता गराउन जान लागेको बताए । जसपा नेपालको कार्यसमितिलाई लिएर तत्कालिन राजपा नेपालभित्र तीब्र असन्तुष्टि रहेको छ ।

सो पार्टीका दुईजना नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आ–आफ्ना निकटका नेताहरुलाई मात्र कार्यसमितिमा राखेको भन्दै सो पार्टीमा असन्तुष्टि बढेको छ ।

अध्यक्षमण्डलका सदस्यहरु अनिलकुमार झा, राजकिशोर यादवहरुले एकीकरणका लागि आफ्ना असन्तुष्टि जनाइसकेका छन् । उनीहरु पक्षका एकजना पनि कार्यसमितिमा परेका छैन । उनीहरुले पार्टीभित्र असन्तुष्टि जाहेर गरेपछि त्यसलाई शीर्ष नेताहरुले त्यसलाई सच्याउने आश्वासन दिए पनि हालसम्म त्यो भएको छैन ।

तत्कालिन राजपा नेपालसँग एकीकरण गरेको जनमुक्ति पार्टी र जनता सेवा दलका असन्तुष्ट नेताहरु पनि दर्ता प्रकृया खारेजीको माग गर्दै निर्वाचन आयोग जान लागेका छन् ।

निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाणपत्र नदिएको कारण समाजवादी पार्टी र राजपा नेपालका गतिविधिहरु छुट्टा छुट्टै भइरहेको छ । संसदीय दलदेखि पार्टी कमिटीको बैठक पनि छुट्टा छुट्टै बैठक बसेर निर्णयहरु गरिरहेको छ । हिजो मात्रै तत्कालिन समाजवादी पार्टीको पदाधिकारी बैठक बसेर सांसद सरिता गिरीलाई स्पष्टीकरण सोधेको छ । त्यसअघि राजपा नेपालका पनि अध्यक्षमण्डलको बैठक बसेर विभिन्न निर्णय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप