शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ठमेल क्षेत्रका व्यापारीका रसाएका आँखा : भोलि उठी कहाँ जाने केही ठेगान छैन....(भिडियो)

कोरोनाले ठमेलका व्यापारीको उठिबास
सोमबार, ०८ असार २०७७, १० : ०६
सोमबार, ०८ असार २०७७

सबैभन्दा धेरै विदेशी अनुहार देखिने ठमेल अहिले कस्तो होला ? स्वदेशी र विदेशीको चौबिसै घण्टा जस्तो चहलपहल हुने काठमाडौँको ठमेल यतिबेला सुनसान छ । चैत ११ देखि बन्द भएको ठमेल सरकारले लकडाउन खुकुलो पारेपछि असार १ गतेदेखि फाट्टफुट्ट रुपमा खुल्न थालेको छ । तर पसल खुलेर मात्र के गर्नु ? ग्राहक शून्यको अवस्थामा भएपछि ।

ठमेलका पसलमा मुख्य ग्राहक भनेकै विदेशी पर्यटक हुन् । विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढेपछि यतिबेला धेरै देशमा अन्तर्राष्ट्रिय उडान ठप्प छ । संसार घुम्न निस्किनेहरु घरभित्र बन्द कोठामा खुम्चिएका छन् । विश्वव्यापी रुपमा आर्थिक मन्दी छाएको छ भने करोडौँले रोजगारी गुमाएका छन् । यस्तो संकटका बीच विश्वभरका पर्यटन उद्योग नराम्ररी थलिएका छन् । त्यसको असर नेपालमा नपर्ने त कुरै भएन ।

ठूलो संख्याका मान्छेहरुलाई रोजगारी दिइरहेको नेपालको पर्यटन व्यवसाय पनि धरापमा परेको छ । त्यसको असर कस्तो छ भनेर हेर्न अहिले ठमेलको दृश्यनै काफी छ । पर्यटकलक्षित होटल, व्यापार ब्यवसाय पूर्ण रुपमा ठप्प बनेको छ । जसकारण रोजगारदाता र रोजगारी क्षेत्रमा काम गर्ने श्रमिकहरु अहिले पुर्पोरोमा हात राखेर बस्न विवस छन् ।

हस्ताकलादेखि पर्यटकका लागि चाहिने हरेक सामानको व्यापार हुने ठमेलका अधिकांश पसलका सटरमा ताला लागेको छ । कतिपय भने घरमा बस्न दिक्क भएर पसल खोलेर सरसफाइ गरेर बसेका छन् । पसल खोलेका ब्यवसायीहरुको अनुहार मलिन देखिन्छ । भाडा तिर्न नसकेर कतिपय साथीभाइले पसल छोडेर हिँडेको उनीहरु बताउँछन् ।

गोरखाका अग्नि ढकालले ठमेलमा २५ वर्षदेखि ह्यान्डी क्राफ्ट पसल चलाउँदै आएका थिए । लकडाउनपछि झन्डै ३ महिना उनी घरमै बसे । लकडाउन केही खुकुलो भएपछि असार १ देखि पसल खोलेका छन् तर ग्राहक एकजना छैनन् ।

सामान्य अवस्था भएको बेला यो समयमा राम्रै ब्यापार हुन्थ्यो । तर अब भाडा तिर्ने पैसा कमाउनै पनि धेरै टाढाको कुरा भएको छ ।  उनले घरबेटीसँग भाडा छुटका लागि कुरा गर्न सकेका छैनन्, कतिपयले भाडा तिर्न गाह्रो भएपछि पसल नै छोडेर गएको उनले बताए ।

पसलभित्र झिंगा पनि छिर्दैन

ठमेलमै एउटा ठूलो कपडा पसल खुलेको थियो । सञ्चालक अमृत वस्तीसँगै पसलमा चार जना थिए । अहिले ग्राहक नआउने भएपछि पसल सरसफाइ गर्ने र बस्ने काम मात्र भएको उनले बताए ।

उनले भने–‘पसल त खोलिएको छ तर मान्छे आउँदैनन् । महिनाको डेढ लाख भाडा तिर्नुपर्छ । पसलमा काम गर्ने ५ जना छौँ, घरबेटीले भाडा छुट देलान जस्तो पनि छैन । सबै ठप्प छ । पर्यटक नआइकन ठमेलमा ब्यापार हुँदैन । ब्यापार शून्य छ, झिँगा पनि पसलमा छिर्दैन ।’ उनले त्यस आसपासका बीस पच्चिस जनाले पसल छोडेर गएको बताए । यस्तै अवस्था रहने हो भने भाडा कहाँबाट ल्याएर तिर्ने, पसल कसरी राख्ने भन्ने समस्या भएको बताए । अवस्था सामान्य नबनेमा ठमेलका अधिकांश पसलहरु खाली हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

भोलि उठी कहाँ जाने केही ठेगान छैन

शंकर खनालले २६ वर्ष अघिदेखि ठमेलमा ह्यान्डीक्राफ्टको ब्यापार गर्दै आएका थिए । यो अवधीमा अहिलेजस्तो चरम संकटको सामाना कहिलेपनि गर्नु नपरेको उनले बताए । अहिले उनी यस्तो परिस्थितिमा छन् कि पसल छोडिहाल्न पनि गाह्रो छ, पसल खोलेर बस्न पनि गाह्रो छ । के गर्ने कसो गर्ने उनी तनावमा छन् । 

उनले यसअघि २०७२ सालको भूकम्पको बेलामा पनि खराब अवस्थाको सामना गरेका थिए । तर अहिले जस्तो त्यतिबेला थिएन । उनले भने–‘त्यतिबेला सटर खोलेर बाहिरबाट सामान बेच्न पनि सकिन्थ्यो । हल्का फूल्का मान्छे हुन्थे । घाटा त त्यो बेला पनि घाटा नै थियो । अहिले को विदेशी नेपालमा आउँला र हामीले ब्यापार गर्ने ? अहिलेको अवस्थामा कसरी हामी टिक्ने, घरबेटीलाई हामीले कसरी भाडा बुझाउने ? घरबेटीले पनि बुझिदिनु भयो भने हामी टिक्न सक्ने थियौँ । हामीले पनि भोलि समय फर्किन्छ कि टिक्न सकिन्छ कि भनेर काम गर्न सकिन्थ्यो । घरबेटीले बुझेर टिकाइदिनुभएमा ठमेलको पनि जय हुन्थ्यो, उहाँहरुको पनि जय हुन्थ्यो । अहिले हामीलाई छोड्न पनि गाह्रो भयो बस्न पनि गाह्रो भयो ।’

उनले असार १ गतेदेखि  पसल खोलेका थिए तर व्यापार शून्य छ । ‘बाटोमा मान्छे हिड्न पनि समस्या भएपछि व्यापार कसरी हुन्छ र ?,’ उनले प्रतिप्रश्न गरे । घरमा पनि काम छैन । घरमा बस्न पनि समस्या, पसलमा व्यापार नहुनु त आफ्नो समस्या छँदैछ । उनले भने–‘तर मनमा मैले पसल खोले है भन्ने मात्र छ । पसल खोलेपनि नखोलेपनि भाडा तिर्नुपर्छ । आफूले पैसा तिरेको ठाउँ कुरेर बसौँ भनेर मात्रै पसल खोलेको हो । पसल त खोल्यौं तर बाटोमा ग्राहक कोही पनि छैनन् । हामी बस्दा बस्दैपनि कोही आएर लुटपाट गरिदिन्छ कि भन्ने डर पनि लाग्छ ।’

बाटोमा मान्छे नहिँडेका कारण डर रहेको उनले बताए । व्यापारै नहुने भएपछि धेरैले पसल बन्द गरेर बसेको बताउँदै उनले अब टिक्न गाह्रो भएको बताए । उनले भने, ‘ अब केही भएन भने भोलि यी समान बोकेर हिँड्नुको विकल्प छैन । दुई तीन महिना हेरौँ । भएको अलिकति जग्गा पनि बेच्ने अवस्था आयो भने हामी कहाँ जाने ? उनले दशंैेँसम्म हेर्ने र त्यसपछि पनि यस्तै अवस्था रहे सामान बोकेर हिँड्नुको कुनै विकल्प छैन् ।’

यस्तै अवस्था रहे अबको दुई चार वर्षपछि ठमेलको व्यापार पछि धेकेलिने उनले बताए । घरबेटीले घरभाडा आज देऊ भोलि देउ भन्ने गरेकाले ठमेलका धेरै व्यवसायीहरु तनावमा रहेको र भाडा नघटाएपछि धेरैले पसल छोड्दै गएको उल्लेख गरे । पर्यटन बोर्ड कतैबाट घरभाडामा सहयोग हुन्छ कि, सरकारले केही राहत दिन्छ कि भन्ने आशा राखेको उनले बताए ।

काभ्रेका कृष्णराम घोरासैनीको अगार्निक चिया पसल छ तर ब्यापार शून्य छ । मुख्य ग्राहक भनेकै विदेशी पर्यटन भएकाले ब्यापार ठप्प भएको छ । ठमेलमा पर्यटन व्यवसाय पहिलेको अवस्थामा आउन अब निकै समय लाग्ने उनले बताए ।

घरबेटीतिर आशा

ठमेलमा कुमार खड्काको हस्तकलाको पसल छ । आइतबार पसलमा उनी बौद्धमार्गीले लगाउने माला उनेर बसेका थिए । ब्यापार ब्यवसाय ठप्प भएपछि कसरी गुजारा चलाउने उनको गुनासो थियो । अन्र्तराष्ट्रिय उडान सुरु भयो र पर्यटकहरु आउन थाले भने ब्यापार हुने भएपनि अहिले त्यो अवस्था नभएकोमा उनको चिन्ता छ । अझ सबैभन्दा ठूलो चिन्ता पसलको भाडा कसरी तिर्ने भन्नेमा छ ।

उनले भने–‘ब्यावसाय त अहिले डामाडोल भएको छ । घरबेटीबाट केही हुन्छ कि भन्ने आशा छ । थोर बहुत उहाँहरुले छुट दिएर हामीहरु पनि बाँचौ, यिनीहरु पनि बाँचोस भनेर सहयोग गर्नुभयो भने हामी पनि रहौला नत्र भन्न सकिँदैन् । अहिले पर्यटन व्यवासय धरापमा परेको छ ।’

अहिले पसल छोडेर जानुपर्ने अवस्था भएपनि भोली राम्रो अवस्था आउँदा पसल नपाइएला भनेर मात्र छोड्न नसकेको बताए । भूकम्पको बेला पनि पर्यटकहरु आइरहेकोले अहिलेजस्तो समस्या नभएको सुनाए । घरबाट मात्र ल्याएर कति भाडा तिर्ने, घरबेटीले केही सहयोग गरेहुन्थ्यो भन्ने उनको भनाई छ । ठमेल क्षेत्रका ब्यवसायी यतिबेला घरबेटीको मुख हेरेर बसेका छन्, घरबेटीले भाडामा कसिकसाउ गर्नेहरु पसल छोडेर हिड्न थालेका छन् ।

सरकारले घरबेटीलाई केही महिनाको घरभाडा छुट गर्न आग्रह गरेपनि घरधनीहरुले मानिरहेका छैनन् । अपवादबाहेक केही घरबेटीले भाडा छुट पनि गरेका छन् । महिनाको लाखौं रुपैयाँ भाडा बुझाउनुपर्ने ठमेलका व्यवसायीहरु यही अवस्था कायम रहे पसल व्यवसाय छोड्ने मनस्थितिमा पुगेका छन् । 

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप