अमेरिकाले अफगानिस्तानबाट करिब ५ हजार सेना हटायो

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौता बमोजिम करिब पाँच हजार अमेरिकी सैनिकको संख्या कटौती गरिएको हो ।
अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले अफगानिस्तानमा तैनाथ अरु सैन्यबल कहिलेसम्ममा फिर्ता भइसक्छन् भन्ने बारेमा भने बताएनन् । तालिबानसँगको सम्झौता अनुसार अफगानिस्तानमा तैनाथ सबै अमेरिकी र अन्य विदेशी फौज आगामी सन् २०२१ को मे महिनाभित्र फिर्ता भइसक्ने छन् । तर जनरल म्याकेन्जीले थप सैन्य कटौतीका लागि तालिबान समूहले पनि आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान मिसनको कार्य पूरा भइसकेकाले अमेरिकी फौज फिर्ता गरिने बताउँदै आएका छन् । उनले अमेरिकी सेना अफगानीहरुको आन्तरिक मामिला सुल्झाउन लामो समय अफगानिस्तानमा बस्न नसक्ने बताएका छन् । अमेरिकी फौज अफगानिस्तानमा सन् २००१ को अक्टोबरदेखि तैनाथ छ । जनरल म्याकेन्जीले तालिबान समूहसँगको सम्झौतालाई अमेरिकाले कार्यान्वयन गरिरहेको जानकारी दिए ।
आस्पेन स्ट्राटेजी ग्रुपको वेबिनारमा बोल्दै म्याकेन्जीले भने– ‘हाम्रा सेनालाई लक्षित गरी तालिबान समूहबाट आक्रमण हुन छाडेका छन् । अहिले अमेरिका लक्षित केही घटनाहरु अल–कायदा र इस्लामिक स्टेट्सले गराएका छन् ।’
गत फेब्रुअरीको सम्झौतामा तालिबान समूहले अफगानिस्तानमा कुनै पनि अन्य आतंकवादी समूहलाई आश्रय नदिइने वा अमेरिका विरुद्ध आक्रमण हुनबाट रोक्ने उल्लेख छ । उनले भने– ‘तालिबानले आफूले व्यक्त गरेका प्रतिबद्धता पूरा गरेको छ छैन भन्ने हामी नियालिरहेका छौं । उनीहरुसँग शान्तिपूर्ण अफगानिस्तान निर्माण गर्ने अवसर छ, तर समय निकै घर्किरहेको छ ।’ –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर युद्ध : चीनले अमेरिकी सामानमा १२५% कर लगाएपछि ट्रम्पले के भने ?
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो