शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले अफगानिस्तानबाट करिब ५ हजार सेना हटायो

आइतबार, ०७ असार २०७७, १९ : ३५
आइतबार, ०७ असार २०७७

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौता बमोजिम करिब पाँच हजार अमेरिकी सैनिकको संख्या कटौती गरिएको हो । 

अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले अफगानिस्तानमा तैनाथ अरु सैन्यबल कहिलेसम्ममा फिर्ता भइसक्छन् भन्ने बारेमा भने बताएनन् । तालिबानसँगको सम्झौता अनुसार अफगानिस्तानमा तैनाथ सबै अमेरिकी र अन्य विदेशी फौज आगामी सन् २०२१ को मे महिनाभित्र फिर्ता भइसक्ने छन् ।  तर जनरल म्याकेन्जीले थप सैन्य कटौतीका लागि तालिबान समूहले पनि आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान मिसनको कार्य पूरा भइसकेकाले अमेरिकी फौज फिर्ता गरिने बताउँदै आएका छन् । उनले अमेरिकी सेना अफगानीहरुको आन्तरिक मामिला सुल्झाउन लामो समय अफगानिस्तानमा बस्न नसक्ने बताएका छन् ।  अमेरिकी फौज अफगानिस्तानमा सन् २००१ को अक्टोबरदेखि तैनाथ छ ।  जनरल म्याकेन्जीले तालिबान समूहसँगको सम्झौतालाई अमेरिकाले कार्यान्वयन गरिरहेको जानकारी दिए ।

आस्पेन स्ट्राटेजी ग्रुपको वेबिनारमा बोल्दै म्याकेन्जीले भने– ‘हाम्रा सेनालाई लक्षित गरी तालिबान समूहबाट आक्रमण हुन छाडेका छन् । अहिले अमेरिका लक्षित केही घटनाहरु अल–कायदा र इस्लामिक स्टेट्सले गराएका छन् ।’ 

गत फेब्रुअरीको सम्झौतामा तालिबान समूहले अफगानिस्तानमा कुनै पनि अन्य आतंकवादी समूहलाई आश्रय नदिइने वा अमेरिका विरुद्ध आक्रमण हुनबाट रोक्ने उल्लेख छ । उनले भने– ‘तालिबानले आफूले व्यक्त गरेका प्रतिबद्धता पूरा गरेको छ छैन भन्ने हामी नियालिरहेका छौं । उनीहरुसँग शान्तिपूर्ण अफगानिस्तान निर्माण गर्ने अवसर छ, तर समय निकै घर्किरहेको छ ।’ –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप