बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सडक स्तरोन्नतिमा चासो नदिएको भन्दै ककनीमा सरकारको पुत्ला जलाइयो

आइतबार, ०७ असार २०७७, १२ : २१
आइतबार, ०७ असार २०७७

काठमाडौँ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको काठमाडौँदेखि ककनी हुँदै त्रिशूली पुग्ने पासाङ ल्हामुमार्गको स्तरोन्नतिमा चासो नदिएको भन्दै ककनीवासीले सरकारप्रति आक्रोश पोखेका छन् । 

स्थानीयको चर्को आक्रोशका बीच आज नेपाली काँग्रेस ककनी गाउँ कार्यसमितिले ककनीमा गरेको कोणसभामा ‘अक्षम तथा भ्रष्ट’ सरकार भन्दै पुत्ला जलाएर विरोध गरेको हो । 

सरकारको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि कोणसभामा सहभागी ककनीवासी थप आक्रोशित बनेका थिए । कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवानेता रमेशकुमार महतले नुवाकोटलाई राजधानीसँग जोड्ने जेठो बाटोको हालत यस्तो हुनुमा कम्युनिस्ट सरकारको भ्रष्ट र निकम्मा चरित्र जिम्मेवार रहेको टिप्पणी गरे । 

काँग्रेस सरकारको पालामा एक अर्बभन्दा बढी बजेट छुट्याइएको स्मरण गर्दै उनले यत्रो बजेट पर्दा पनि स्तरोन्नतिको काम सम्पन्न नगरी राष्ट्रिय स्तरमै महत्वपूर्ण राजमार्गलाई त्यसै अलपत्र छाडेकोमा उनले सरकारको आलोचना गरे । 

पर्यटकीय महत्वको ककनी क्षेत्र हुँदै जाने र बेलकोटदेखि ओखरपौवासम्मका सयौँ बस्तीलाई राजधानीसँग जोड्ने निर्विकल्प सडक भएकाले पनि यो सडकको स्तरोन्नति अति आवश्यक रहेको उनको भनाइ थियो । यसका लागि जनस्तरबाटै दवाव सिर्जना गर्नुपर्ने बेला आएको भन्दै उनले कांग्रेसले त्यसको नेतृत्व गर्ने बताए । 

कार्यक्रममा गिरिजाप्रसाद कोइराला फउन्डेसनका नुवाकोट जिल्ला अध्यक्ष रमेशकुमार पाठकले पासाङ ल्हामु मार्गसँगै नुवाकोटका विभिन्न भाग जोड्ने थुप्रै सडक जीर्ण अवस्थामा पुगेको भन्दै ती सडकको स्तरोन्नतिमा सरकारी उदासीनतालाई चिर्न काँग्रेसले दवाव सिर्जना गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप