शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘विपत्ति’ले सम्झाएको त्यो घर

आइतबार, ०७ असार २०७७, ११ : ४२
आइतबार, ०७ असार २०७७

-प्रकाशकुमार सिग्देल

काँठो परेको धोतीको फेरले पसिना पुछ्दै एकछिन चौतारीमा सुस्ताएपछि हजुरबाले भन्नुभयो, 'किन यति ढिलो गरिस् त नि ! उहाँड कति बजे हिन्याथिस् र ? अब गाडी साडी पाइन्न यो उकालो हिनेरै जान पर्नि भो ।'

म आउने थाहा पाएर हजुरबुवा खुशीले सकिनसकि बेसी झर्नु भा' रैछ । 'कतिबेला आइपुग्नुभा'थ्यो हजुरबा यहाँ ? धेरैबेर कुर्नु त परेन नि ?'

जवाफमा हजुरबाले भन्नु भयो, 'परेन परेन, म याँ भेट्किनी नि तँ गाडीअड झर्नि भो !'

हजुरबुवा अति नैं मेहनती हुनुहुन्छ । हुन त बाह्र छोरा तेह्र नाती, बूढाको धोक्रो काँधै माथी भनेजस्तै भएको पनि छ उहाँलाई । उहाँका चार छोरा र तीन छोरीहरु । छोरीहरुको बिहे भएपछि आआफ्नै घर लागे । पढ्नको लागि सहर पसेका छोराहरुको पनि उतैतिर घरजम  भयो ।

हजुरबा र हजुरआमा जिन्दगीका तीता मीठा अनुभवहरुलाई साटासाट गर्दै दुःख सुखका साथ दिन बिताइरहनु भएको थियो ।   निर्दयी दैवले उहाँको त्यो साथ पनि चुडेर लागेकाले हजुरबा एक्लिन बाध्य हुनुभयो । छोराहरुले शहरमै लैजान नखोजेका त हैनन्, तर उहाँले आफ्नो थातथलो छोड्न मान्नु भएन । विगत सात वर्षदेखि हजुरबा एक्लै बस्दै आउनुभएको छ ।

हजुरबालाई छोरा नातिको मुख देख्न दशैं नैं कुनुपर्थ्यो । हामीलाई दशैंमा घर जाँदा खुब रमाइलो हुन्थ्यो ।  डाँडाकाँडा नैं ढाकिने गरी छोरा नातिको जमघट हुँदा हजुरबाको खुसीको सीमा रहन्थेन । तर, उहाँको वर्षभरीको त्यो प्रतिक्षाको घडि समाप्त हुँदा नहुँदै बिछोडिने दिन पनि नजिकिदै जान्थ्यो । नचाहँदा नचाहँदै पनि उहाँले बिदाइका हात हल्लाउन बाध्य हुनुपर्थ्यो । 

हजुरबासँग भेट्न नपाएको पनि धेरै भएको थियो । परार र पोहर दुवै दशैंमा म बिभिन्न कारणले घर आउन पाएको थिइन । यसरी लामो समयपछि मलाई देख्न पाउँदा हजुरबा बेस्सरी खुसी हुनुभयो । उहाँको अनुहारमा देखिएको कान्तिले  चाउरी परेका गाला पनि तन्किएर सुकोमल भएजस्तो भान भयो मलाई । 

'हेर् केटा ! हाम्ले पहिलेका जमानाँ त्यो पारी पाखाड ढुङ्गा बोकेर यो चौतारो चिनेको हो । अहिले हेर् त यो हरिविजोग ! वनमासा झाडीले पुरै घेरिसक्या छ । चौताराका ढुंगा नि ठीक ठाँ छैन, सबै लथालिङ्गै भा'छ ।' अनुहारमा खुशी झल्किए पनि उहाँले मनको बह पोखिहाल्नु भयो, 'तँ जस्ता पाखुराँ बल भा'का लाठे मुन्छेरु सबै सहराँ छिरे । हामी जस्ता पिढीँ कुरेर बस्नी डाडाँमाथिका घामले के अर्नि ? धन्न यो दशैं भन्नि पर्व रै'चर कहिलेकाँही यिनका अन्नार देख्न पाइन्च । नत्र तिम्हर्लाई गाउँघराँ आउन यस्तै यस्तै विपत्तीले लखेट्नै पर्च क्यारे ।'

मैले मनमनै सोचें । म सानो छँदा हजुरबाले मलाई भन्नुभएका कुराहरु ! हजुरबाका अनुसार पहिले पहिले बाउबाजेको सम्झनामा पाटी पौवा, चौताराहरु बनाउने चलन थियो । उहाँहरुको सम्झनामा बनाइएका त्यस्ता संरचनाहरुलाई बेवास्ता गरियो, जीर्ण अवस्थामा पुग्यो भने पितृको श्राप लाग्छ भनेर बडो जतनका साथ तिनको संरक्षण गर्ने गरिन्थ्यो ।

हजुरबाका त्यतिबेलाका मीठा मीठा कुराहरु सम्झंदा मात्रै पनि हाम्रा पुर्खाहरुको दूरदर्शितालाई नमन गर्न मन लाग्छ । छोरा नातीले बेसीबाट धान पराल बोक्दाको भारी होस् कि भरियाले ढाकर यसो टेको लगाउने ठाउँ होस् भनेर त्यस्तो दुःखजिलो गरी बनाएको संरचना अहिले जीर्ण अवस्थामा देख्दा कसको मन कटक्क हुदैन र !

'ओइ केटा के सोच्या छस् ?' हजुरबाको डाँकोले म झसङ्ग भएँ । र, हत्त न पत्त हजुर भन्दै टोलाएको आँखाहरुलाई यताउता डुलाएर सामान्य अवस्थामा रहेको भान दिलाएँ । हजुरबाले भन्नु भो, 'ल हिंड अब जानुपर्च । एकैठाँ बसेर क्यार्नि हो, रात पर्न नि लाइसको । माथ्लो चौतारीआँ गर फेरि एउछिन बसम्ला ।'

हामी त्यहाँबाट उकालो लाग्यौं । बाटोको रङ्ग नैं फेरिएको थियो । हरियो लेउ लागेको बाटो त्यहिँमाथि वनमासा झाडीले ढाकेको थियो । बाटोको छेवैमा रहेको बनमासाको झाडीलाई लौरीले हिर्काउँदै हजुरबाले भन्नुभयो, 'यी हेर् त बा'टा हालत यस्तो छ । बेसी झर्नि मुन्छै पाइनै छाडे आजभोली, खेत सप्पै बाँझै छन् ।'

मेरा पाइला अघि बढेपनि मनचाहिँ त्यो चौतारीबाट उक्किनै मानेको थिएन । मैले पहिले देखेको चौतारी र अहिलेको चौतारीमा आकाश पातालको फरक थियो । ती दुबै स्वरुपलाई एकै ठाउँमा मिसाएर निफन्ने र केलाउने कोशिसमा थिएँ म । सोच्दा सोच्दै माथिल्लो थुम्कोमा कतिबेला आइपुगिएछ पत्तै भएन ।

म थाकिसकेको थिएँ । पहिले चौतारी भएको ठाउँनिरै पल्टिराखेको ठुलो ढुङ्गामा पल्टेर लामो सास फेरें । निधारको पसिना चोर औंलाले सोहोरेर फ्यात्त जमीनतिर फाल्दै हजुरबुवाले भन्नुभयो, 'ह्याँको बडेमानको चौतारो यो मोटरबाटो बनाम्दा सबै भत्काइदिए, अब त यसो सुस्ताउने ठाम पनि सिलो खोज्न पर्निभो ।'

उफ ! हाम्रा पुर्खाहरुले चिनो छोडेर गएका संरचना पनि 'विकास'ले निलेछ ! हजुरबा जस्ता वयोबृद्ध व्यक्तिहरुको लागि आफ्ना समकालिन साथीहरुसँग बसेर गफिने र दिन काट्ने थलो अब इतिहासको गर्तमा पुगेछ । पुर्खाहरुले छाडेर गएका यस्ता चिनोहरुको संरक्षणका खातिर विकासे निकाय र अभियन्ताहरुको  ध्यान जान सकेको भए वृद्ध मनहरुलाई केहि न केहि त सान्त्वना मिल्थ्यो नि !

हामी खोल्सा खाल्सी बुट्यान पछि पार्दै अघि उकालो चढ्दै थियौं । टोपी खस्ने ठाडो उकालो बाटो, पसिनाले गर्दा शरीर निथ्रुक्कै, लगाएका कुनै लुगा ओभानो थिएनन्, मानौं शरीरमा मुल नैं रसाएजस्तो । यति बेलासम्म झमक्क साँझ परिसकेको थियो । झम्के साँझ हुँदा हामी बल्ल जङ्गल काटेर गाउँ छिरेका थियौं । तर त्यहाँबाट हाम्रो घर पुग्न अझैँ आधा घण्टा लाग्थ्यो ।

हजुरबा अघि अघि हुनुहुन्थ्यो । ७२ वर्षका बुढा बा त्यस्तो अँध्यारोमा पनि ठम्ठम्ति हिड्नुभएको थियो तर मेरो आँखाले त्यो अँध्यारोमा उछार मेलो पाउन सकेन । म पनि त्यस्तै हुस्सु, शहरबाट गाउँ आएको मान्छेले एउटा टर्चलाइट त बोक्नु पर्थ्यो नि ! भनें, 'हजुरबा ! मेरो त आँखाले भुँइ ठम्याउनै छोड्यो ।'

'हो ?' हजुरबाले प्रश्न गर्दै समाधान सुनाउनु भयो, 'उसोभे तँ एउछिन यहिँ रोकिई, म त्याँ पुच्छारघरे काँइलोकाँ गर अउल्टो लेर आउँछु ।' म त्यहिँ उभिएँ । केहि बेरपछि हजुरबा अगुल्टो हल्लाउँदै आउनुभयो । त्यसपछि म अघि अघि हजुरबा पछि पछि उकालो चढ्यौं । घरनजिक आइएछ क्यार ! हजुरबाको गन्ध थाहा पाएर भैसी कराउन थाल्यो ।  

भोलिपल्ट हजुरबाको भजनसँगै मेरा निन्द्राले बिदा लिए । तर अघिल्लो दिनको थकानले गर्दा ओछ्यान छाड्नै मन लागेन । तै पनि उठ्नु त जसरी नि थियो नै । आँखा मिच्दै उठें ।

हजुरबा ! हजुरबा ! भनेर मैले दुइपल्ट बोलाएपछि गोठतिरबाट 'हइ' भनेको आवाज आयो । उहाँ भैंसीको थरीमै हुनुहुँदो रहेछ, कुँडो खुवाउँदै । गोठमा काला पोटिला दुईटा लैना बगेरना भैंसी रहेछन् । मलखात वरिपरि तरकारीहरु लटरम्म फलेका । घरको आडैमा रहेको बगैंचामा लिचि, आँप सुन्तलाका बोटहरुमा फूल खेलिरहेका थिए । ती बोटका काखमा रंगीचंगी फूलहरु मख्ख परेर बसेको जस्तो देखिन्थे । समग्रमा त्यहाँको दृष्य अति नैं मनमोहक थियो ।
हजुरबाले खाना बनाउनु भयो, अर्गानिक भएर हो कि हजुरबाको हात मिठो, साह्रै स्वादिष्ट लाग्यो  । दिउँसो हजुरबा घाँस काट्न जानुभयो । म पनि जान्छु भनेको, उहाँले जान दिनु भएन । म घरमा एक्लै रहें ।

चिनेका साथीभाइ कोहि पनि थिएनन् । चिनेका जति सबै सहरतिरै थिए । तैपनि गाउँ नियाल्न त हुन्छ भनेर घरबाट निस्के म । सबैजसो घरमा मोटर बाटो जोडिन पुगेको रहेछ । सबैको घर घरमा धारा पनि जडान भएका रहेछन् । तर, बिडम्बना यस्ता सुविधाले सम्पन्न भइसकेका अधिकांश घरहरु रित्ता रहेछन् । कतिपय घरको छानामा र पिंढीमा समेत झार उम्रिएको ।

गाउँघरको विकासका लागि भनेर सरकारले बजेटको ठूलो हिस्सा यसै क्षेत्रमा लगानी गरेको छ । तर, सरकारले जुन अपेक्षा लिएर गाउँमा विकास गरिराखेको छ, गाउँका मानिसहरु भने सहरतिर ओइरो लागेछन् । खानेपानीका नाममा करोडौं लगानी गरेर पानीका धाराहरु बनाएर के गर्नु ? ती सबै उपयोगबिहीन भएका रहेछन् । विद्यालयका भवनहरु राम्रा राम्रा नै रहेछन् तर ती विद्यालयहरु विद्यार्थी अभावले धमाधम अर्को विद्यालयमा मर्ज हुन् बाध्य भएछन् ।

पहिले पहिले घर आउँदा मलाई मेरो गाउँ साह्रै रमाइलो लाग्थ्यो, तर यसपटक गाउँघरको यस्तो अवस्था देख्दा दिक्क लाग्यो । 

गाउँघरमा मानिसहरु विकासको अनुहार नै देख्न नपाएको अवस्थामा अति नैं संघर्ष गरेर बसे तर जब गाउँमा विकास हुन थाल्यो, मान्छे लाखापाखा लागे ! कस्तो बिडम्बना !

उसो त शहरमा पनि बढ्दो जनघनत्वका कारण मानिसहरुको जनजीवन अति नैं कष्टकर बनेको छ । उनीहरुमध्ये धेरैजसोको अन्तिम विकल्प भनेको गाउँ नैं हो । पछिल्लो समयमा मानिसले भोग्नुपरेको नियतिले पनि यस्तै पाठ सिकाएको छ । यस्तै यस्तै सोच्दै गोधुली साँझमा घर फर्किएँ, हजुरबाले दुहुनु बाँध्नु गरी खानासमेत बनाइसक्नु भएछ ।

बेलुकाको खानापछि हजुरबासँगै अगेनामा बसेर गफिन थालें म । उहाँ कुँडेभरीको दूध तताइरहनुभएको थियो । मैले दिउँसो गाउँमा जे देखें, अनुभव गरे त्यो सुनाएँ ।

अगेनाको अगुल्टो ठोस्दै हजुरबाले भन्नुभयो, 'पल्लागामको रामे नि घराँ आको एक महिना हुनलाओ । पैलेपैले कामै नअरि लन्ठिएर हिन्नी मोरो अैले एउछिन् बस्दैन । तलको खोरिया फाँडेर विधिबौंसै छ ।' अगेनाको अगुल्टो ठोस्दै हजुरबाले भन्नुभयो, 'अहिले कोरोना हो कि के जाति होले नलखेट्या भा के गाम आम्थ्यो त्यो ! त्यतै सहराँ हल्लेर बस्थ्यो । यो कोरोना हो कि के जाति होले नि ठीकै अ¥याछ जस्तो लाउँछ मलाई त । आफ्नो गाम्मै पौरख गर्ने औसर दियाछ, मुन्छेले यल्लाई चिन्न सके राम्रै हुनी हो क्यार !'

कुरा सुन्नु बूढाको त्यसै भनिएको होइन नि !

अर्को दिन मैले रामेको पौरख नियाँले, गज्जब लाग्यो ।

बेलुकीको खाना खाँदै गर्दा मैले आफ्नो निश्चय सुनाएँ, 'म पनि रामेले जस्तै आफ्नै माटोमा पसिना बगाएर तपाईंको बिंडो थाम्ने भएँ अब ।'

मेरो निर्णय सुनेर हजुरबाको अनुहारमा अहो खुशीको बिजुली चम्कियो  !   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा