बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहर : विमानहरु ‘ग्राउन्डेड’ भएपछि पाइलटले गर्न थाले ‘फुड डेलिभरी’

आइतबार, ०७ असार २०७७, ११ : १८
आइतबार, ०७ असार २०७७

बैंकक । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विश्वका विभिन्न मुलुकले व्यावसायिक उडान रोकेका छन् । संक्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न मुलुकले यात्रामा प्रतिबन्ध लगाउनका साथै बजार–व्यवसाय पनि बन्द गरिदिए ।

विमानहरु ‘ग्राउन्डेड’ भएसँगै सो क्षेत्रमा काम गर्ने कर्मचारीहरु विकल्प खोज्न बाध्य हुन थाले । यसमा पाइलट पनि अपवादका रुपमा रहन सकेनन् ।

थाइल्याण्डमा आन्तरिक पर्यटनमा केही छुट भए पनि जनवीवन अझै सामान्य भइसकेको छैन । लकडाउका केही प्रतिबन्धमा छुट भए पनि विमानकर्मीहरु आकाशबाट जमिनमा सीमित भएका छन्, जो ‘फुड डेलिभरी ब्वाई’ का रुपमा काम घर–घरमा अर्डरअनुसार खाना तथा खाजा पु-याउने कामसमेत गर्न थालेका छन् ।

थाइल्याण्डका सह–पाइलट नकारिन इन्टा विगत ४ वर्षदेखि व्यावसायिक रुपमा विमान उडान उडाउँदै आएका थिए । तर कोरोना संक्रमणका कारण व्यावसायिक उडान ठप्प हुँदा उनी अहिले फूड ब्वाईका रुपमा काम गर्न थालेका छन् । अर्डरअनुसार उनी मोटरसाइकलमा खाना तथा खाजा बोकेर घर–घरमा पु-याउने काम गर्दछन् ।

उनी भन्छन्, ‘एयरलाइन्सले आफ्ना अधिकांश कर्मचारीलाई बेतलबी बिदामा राखेको छ, जुन कर्मचारीलाई तलब दिइएको छ, त्यो पनि दिएको भन्नुमात्र हो, कयौंले त जागिर नै गुमाएका पनि छन् ।’

यो अवस्थामा आफ्ना कयौं साथीले विकल्प खोजेको र अन्य पेशा–व्यवसायमा काम गर्न थालेको उनले बताए । ‘हामीमध्ये अधिकांशले ७० प्रतिशतभन्दा बढी पारिश्रमिक बटौतीको सामना गर्नु परेको छ, तर अहिले पनि प्रत्येक महिना घर खर्च उस्तै छ, त्यसैले विकल्प खोज्नु परेको हो,’ उनले भने ।

लकडाउनका कारण बैंककमा खाद्य वितरण सेवाको एप निकै लोकप्रिय बन्यो । साथीकै सल्लाहमा उनले पनि घर खर्च चलाउनका लागि सोही एपमार्फत मोटरसाइकलबाट खाद्य वस्तु ढुवानी गर्ने काम सुरु गरे । पत्नी र चार वर्षकी छोरीलाई समस्या नहोस् भनेर आफूले विकल्पमा यो काम गर्न थालेको उनको भनाइ छ ।

४२ वर्षीय उनी एउटा पाइलटका रुपमा प्रतिमहिना ६ हजारदेखि ८ हजार डलरसम्म कमाउथे । कोभिड–१९ महामारीका कारण उनलाई अहिले दैनिक ३० डलर आर्जन गर्नु पनि निकै ठूलो कुरा भएको छ ।

डेलिभरी ब्वाईका रुपमा काम गरिरहेका उनी भन्छन्, ‘जब मलाई पहिलोपटक अर्डर प्राप्त भयो, मैले ती ग्राहकको घरमा खाना पु-याएको अनुभव निकै फरक थियो । त्यतिबेला मलाई लाग्यो कि म यो काम गर्न सक्छु ।’

यस्तो काम गर्ने उनी एक्ला उड्ड्यनकर्मी होइनन् । उनका अनुसार ५० भन्दा बढी उड्डयनकर्मीले यस्तो काम गरिरहेका छन् । यद्यपि उनी आकाशमै उड्ने दिनको प्रतीक्षामा छन् । किनकि पाइलट बन्नु उनको सानैदेखिको सपना थियो ।

उनी भन्छन्, ‘म आफ्नो साथीहरु, कप्तान, केबिन क्रु, अन्य कर्मचारीलाई धेरै सम्झन्छु, म अकाशमा उडिरहेको पल सम्झन्छु ।’

स्रोत : सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप