बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारत–चीन सैन्यस्तरमा भएको झडपबारे सर्वदलीय बैठकमा मोदीले दिएको अभिव्यक्ति आलोचित

शनिबार, ०६ असार २०७७, ११ : ४४
शनिबार, ०६ असार २०७७

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनका सेनाबीच गलवान उपत्यकामा भएको हिंसात्मक झडप र त्यसबाट उत्पन्न परिस्थितिबारे सर्वदलीय बैठकमा चर्चा गरेका छन् ।

शुक्रबार साँझ बसेको भर्चुअल बैठकमा भारतका विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । बैठकमा मोदीले भने, ‘न त उनीहरु (चिनियाँ) हाम्रो सीमामा प्रवेश गरे, नत हाम्रो कुनै सुरक्षा पोस्ट कब्जा गर्न सके ।’ भारतका २० सैनिक शहीद भए पनि उनीहरुले घुसपैठ गर्न खोज्नेलाई एउटा पाठ पढाएको मोदीको भनाइ छ ।

मोदीले उक्त भनाइका बारेमा कांग्रेस आईका नेता राहुल गान्धीले ट्वीटरमा प्रश्न गरेका छन्, ‘चीनको आक्रमणका सामु प्रधानमन्त्रीले आत्मसमर्पण गर्नुभएको छ, यदि त्यो जमिन चीनको थियो भने भारतका सैनिक किन शहिद भए ? उनीहरु कहाँ शहिद भए ?   

कांग्रेस आईका प्रवक्ता मनीष तिवारीले पनि मोदीको भनाइको आलोचना गरेका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘प्रधानमन्त्रीले भारतीय सीमालाई प्रभावकारी रुपमा पुनर्लेखन गरिदिनुभएको छ, उहाँले चीनको कदमलाई सही ठहर गर्दै आफ्नै विदेशमन्त्रीको भनाइलाई खण्डन गर्नुभएको छ ।’

उनले पनि मोदीसँग प्रश्न गरेका छन्, ‘के भारतीय सैनिक चिनियाँ क्षेत्रमा गएका थिए, अब भारतको हिसाबमा वास्तविक नियन्त्रण रेखा कहाँ छ ? के हाम्रा यतिका वीरले विना कारण ज्यान दिएका थिए ?’

सर्वदलीय बैठकमा कांग्रेस अध्यक्ष सोनिया गान्धीले सीमा क्षेत्रको अवस्थाबारे सरकारले विपक्षी दलहरुलाई समय समयमा जानकारी दिनुपर्ने बताइन् । उनले सरकारलाई प्रश्न गरिन्, ‘लद्दाखमा चिनियाँ सेनाले कहिले अतिक्रमण गरे ? सरकारले यसबारे कहिले जानकारी पायो ?’ उनले गुप्तचर संयन्त्रको प्रभावकारितामा पनि प्रश्न गरिन् ।

चीनले यसअघि नै चिनियाँ सैनिक भारतीय सीमामा नगएको प्रष्ट पारिसकेको छ । चिनियाँ विदेशमन्त्रालयले भारतीय सैनिकले नै वास्तविक नियन्त्रण रेखा पार गरेर उत्तेजक गतिविधि गरेका कारण झडप भएको बताउँदै आएको छ ।

मोदीका भनाइ र चिनियाँ विदेशमन्त्रालयको उक्त भनाइले गलवान उपत्यकामा भारतीय सैनिक नै चिनियाँ क्षेत्रमा पुगेपछि झडप भएको बुझ्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप