शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सोनी भन्थिन् – नआत्तेऊ है आमा, २ वर्षपछि भेटौँला ! तर, बाकसमा फर्किइन्

जहाज आएपछि एयरपोर्टमा रुवाबासी, २४ नेपाली फर्किए काठको बाकसमा
शनिबार, ०६ असार २०७७, १० : ०६
शनिबार, ०६ असार २०७७

शुक्रबार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २४ नेपालीको शव नेपाल ल्याइएको छ । जसमा कतारबाट २०, कुवेतबाट दुई, साउदीबाट एक र युएईबाट एकको शव नेपाल ल्याइएको हो । 

बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार कतार एयरवेजको जहाजबाट २० नेपालीको शव, कुवेतबाट आएको जजिरा एयरले २ नेपालीको शव, साउदीबाट आएको हिमालय एयरलाइन्सले एकजनाको शव र युएईबाट आएको नेपाल एयरलाइन्सले एकजनाको शव नेपाल ल्याइएको हो ।

रोजगारीमा गएका नेपालीहरु अपराधको शिकार पनि बन्ने गरेको निर्देशक श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘बिना अपराध पनि धेरै नेपालीले मृत्युवरण गर्नुपरेको अवस्था छ ।’ लुटपाटमा संलग्न हुने समूहबाट तथा व्यक्तिगत रिसइवीमा पनि विदेशमा हत्याका घटना हुने गरेको श्रेष्ठले बताए ।

‘नेपाली–नेपाली तथा अन्य देशका कामदारसँग झगडा गरेर पनि धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् ।’ यद्यपी शुक्रबार विदेशबाट ल्याइएको २४ नेपालीको मृत्युको कारणबारे आफू अनविज्ञ रहेको श्रेष्ठको दावी छ । ‘जुन–जुन देशबाट नेपालीहरुको शव ल्याइयो त्यहीँको सरकारको सहयोगमा ल्याइएको हो,’ श्रेष्ठले भने ।

त्यसैगरी मृत्युदण्ड, प्राकृतिक प्रकोप लगायतका कारण पनि कामदारको ज्यान जाने गरेको श्रेष्ठले बताए । ‘कतिपयको मृत्यु भने कालगतिले पनि हुन्छ । आत्महत्या गरेर विदेशमा मृत्यु रोज्ने नेपालीको संख्या पनि छ,’ श्रेष्ठले भने ।

विदेशमा धन कमाएर नेपाल फर्केर अनेकौँ सपना सजाएर विदेशिएका यी २४ नेपाली काठको बाकसमा स्वदेश फर्किनुपरेको छ । विदेशबाट फर्किने बासकहरूमा शव मात्र हैन, अधुरा र अपूरा सपना पनि फर्किन्छन्न् । लकडाउनअघिसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनमा दुईवटा शव नेपाल आउँथे ।

जहाज आएपछि एयरपोर्टमा रुवाबासी

विदेशबाट २४ जनाको शव नेपाल ल्याउने हल्लालले शुक्रबार बिहानैदेखि त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलमा सन्नटा छाएको थियो । जब ११ बजेतिर एक जहाज आइपुगेको आवाज आयो सबैको ध्यान त्यतैतिर खिच्यो । 

त्यो जहाज थियो हिमालयन एयरलाइन्स । साउदी अरबाट आएको थियो एक नेपालीको शवसहित अन्य यात्रु बोकेर । कामको सिलसिलामा साउदी पुगेका भैरब बहादुरको शव आएको थियो । करिब १ बजेतिर अर्को जहाज आयो । त्यो जहाज थियो कतार एवरवेज । जसमा ४३ यात्रुसहित २० नेपालीको शव आएको थियो ।

एयरपोर्टको त्यो भिडमा सबैका आफ्नै दुःखका कहानी थियो, शोक थियो, पीडा थियो । 

सोनी भन्थिन् – नआत्तेऊ, २ वर्षपछि भेटौँला है आमा, तर, बाकसमा फर्किइन्

गत वर्ष नुवाकोटकी अन्दाजी ३२ वर्षीया सोनी तामाङ वैदेशिकक रोजगारीको कुवेत गइन् । साथीहरुको लहलहैमा सोनी कुवेत गएकी परिवारको दावी छ । सोनीले गएको एक महिनाको तलब पठाउन नपाए पनि पछिल्लो दुई महिनाको तलब घरमा पठाएकी थिइन् । आमासँगको कुराकानीमा सोनीले ‘नआत्तेऊ दुई वर्षपछि फर्किहाल्छु । अनि भेटौंला, काम राम्रो छ,’ भनेकी थिइन् ।

डेढ वर्षपछि खुसीसाथ छोरीको स्वागतको लागि विमानस्थल पुगेर छोरीको स्वागत गर्ने सोचेकी थिइन् आमा कोइकुमायाले । तर कोइकुमायालाई भाग्यले ठग्यो । छोरी डेढ वर्षअघि नै काठको बाकसमा फर्किइन् ।

उनले एउटा काठको बाकसमा मृत आएकी छोरीको शव जिम्मा लिन नुवाकोटदेखि बिहीबार बिहान काठमाडौँ आएकी थिइन् । काठमाडौँ आएदेखि छोरीको यादले निन्दा्रसमेत नलागेको शुक्रबार एयरपोर्टमा भेटिएकी कोइकुमायाले रातोपाटीसँग भनिन् ।

उनी विमानस्थलमा कहिले छटपटाउँदै थिइन् त, कहिले बरबराउँदै । एयरपोर्टमा नुवाकोटबाट अन्य आफन्तहरु पनि आएका थिए । वरपर जम्मा भएका आफन्तले उनलाई सम्हालिन साथ दिएका थिए । तर, पनि आमाको मन न हो । उनी शव निकालिने गेटतिर हेरिरहन्थिन् ।

त्यस्तै १ः२० बजेतिर अर्को जहाज अवतरण भयो । कुवेतबाट आएको जजिरा एयरलाइन्सले २ नेपालीको शव बोकेर आएको थियो । त्यसमा सोनि तामाङको पनि शव आएको थियो ।

कसरी भयो सोनुको मृत्यु ?

सोनुलाई विदेश गएको चार महिनामै ब्लड क्यान्सरको रोग देखियो । ‘जानेबेलासम्म हट्टाकट्टा मान्छेलाई त्यति छिट्टै रोगले कसरी च्याप्यो होला ?,’ आमाले रुँदै प्रश्न गर्छिन् । रोग लागेको थाहा पाएपछि सोनुले उपचार पनि नगरेकी होइनन्, तर, अन्ततः उनले रोगलाई जित्न सकिनन् र मृत्युको मुखमा पुगिन् । करिब २ महिनादेखि सोनिको शव विदेशमा अलपत्र बनेको थियो ।

सोनुको १८ वर्षका छोरा छन्, छोरा नेपाल आर्मीको तालिम सकेर ‘पासिङ आउट’को तयारी गर्दैछन् ।

कोइकुमाया मात्र होइन एयरपोर्टमा आफ्नो आफन्तको शव लिन आउने जो कोहीको आँखा रसाएका थिए । उनीहरुले बारम्बार आँसु पुछिरहे पनि पापी मन कहाँ मान्थ्यो र ? उनीहरुको आँखाको डिल ओभाउनै दिँदैनन्थ्यो ।

क–कसको शव ल्याइयो ?

कतारबाट

१. महमुद अलमान मुसलमान, कपिलवस्तु 

२. मुस्ताक साइक, सर्लाही

३. रुपेशकुमार मण्डल, सिरहा

४. कुम्बा तामाङ, लमजुङ

५. भक्तबहादुर थापामगर, बाँके

६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी

७. युवराज अधिकारी, मोरङ

८. मीनबहादुर थापा, भोजपुर

९. नरबहादुर कामी, सुर्खेत

१०. मंगलबहादुर तामाङ, भोजपुर

११. सुकराम थारु, बर्दिया

१२. अरुणकुमार पंजियार, सर्लाही

१३. शिवशंकर राउत, महोत्तरी

१४. चुतर्वा मण्डल, धनुषा

१५. जितेन्द्र थापामगर, मकवानपुर

१६. यामबहादुर थापा, रुपन्देही

१७. कासिदेव यादब, सिराहा

१८. सधोवाका पासवान, सर्लाही

१९. अनिल चौधरी, महोत्तरी

२०. मनोज पासवान, सर्लाही

साउदीबाट

१. भैरब बहादुर बस्नेत

कुवेतबाट

१. सोनि तामाङ, नुवाकोट

२. मानव आले, सङ्खुवासभा

युएईबाट

१. पेम्बा नुर्बु शेर्पा, सोलु

उनीहरुको कोरोना भाइरसको महामारीपछि अन्तर्राष्ट्रिय लकडाउन बन्द हुँदा शव रोकिएका थिए । शवहरूलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्याउने काम गरेको निर्देशक श्रेष्ठले बताए ।

बोर्डले लकडाउनका कारण काठमाडौँ आउन सम्भव नभएका मृतकका परिवारसँग सम्पर्क गरेर घरसम्मै शव लैजाने व्यवस्थासमेत गरेको निर्देशक श्रेष्ठले रातोपाटीलाई बताए । धेरैजसोले आफ्नै घर लगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप