केन्द्रीय संस्करण

डमरू र कोरोना

person explore access_timeअसार ६, २०७७ chat_bubble_outline0

-घनबहादुर थापा

‘रातेबन’ नामको जङ्गलमा एउटा बाघको परिवार बस्दथ्यो । परिवारमा बाघ, बघिनी र एउटा डमरू थिए । डमरूका लामा–लामा दाह्रा मुख बाहिरसम्म निस्केका थिए । जीउ पनि हेर्दै डरलाग्दो थियो । उसले आफूलाई राजकुमार नै ठान्दथ्यो । 

सबैभन्दा बलवान मै छु भन्दै निकै घमण्ड गर्दथ्यो । खरायो, जरायो, मृगजस्ता जङ्गलका अरू बासिन्दा भन्दा आफैलाई ठूलो ठान्थ्यो । उनीहरूलाई निकै दुःख पनि दिन्थ्यो । त्यसैले सबै बासिन्दा उसलाई देखेर डराउँथे ।

एकपटक विश्वभर ‘कोरोना’ नामको डरलाग्दो भाइरस देखाप‍र्यो । भाइरस एकबाट अर्को मानिसमा सर्दै रातेबन जङ्गलसम्म पनि आइपुग्यो । यो भाइरस मार्ने औषधि बनेकै थिएन । भाइरस स‍र्यो भने मानिस वा जङ्गलका बासिन्दालाई ज्यान बचाउन गाह्रो हुन्थ्यो । कति त मरिहाल्थे । 

कतिले दुःख पाउँथे । भाइरस एकबाट अर्कोमा सजिलै र छिट्टै सर्दथ्यो । यस्तो थाहा पाएर सबैजना डरले थुरथुर भए । आ–आफ्नो ज्यान कसरी बचाउने भन्ने चिन्ता सबैमा थपियो ।

भीडभाड हुने ठाउँ र भेटघाटबाट भाइरस एकबाट अर्कोमा सर्छ भनेर जङ्गलमा ‘लकडाउन’ घोषणा गरियो । जङ्गलका बजार, स्कुल, कलेज सबै बन्द भए । सवारी साधन चल्न छोडे । जङ्गलमा कोही पनि हिँड्डुल गर्न नपाउने भए ।

कतै हिँड्डुल गर्न नपाएपछि डमरूलाई निकै छटपटी भयो । घर बाहिर जान्छु भन्दै उसले बाबाआमासँग जिद्दी गर्न थाल्यो । बाघले उसलाई सम्झाउँदै भन्यो, ‘यसरी बाहिर हिँड्दा कोरोना भाइरस सर्छ बाबु । बाहिर नजाउ ।’

तर डमरूले बाबाको कुरा मान्दै मानेन । उसले कसैलाई टेरेन । बाहिर निस्केर जता मन लाग्यो त्यतै हिँड्न थाल्यो । जो पायो त्यहीसँग भेटघाट गर्न थाल्यो । जङ्गलको सुरक्षाका लागि प्रहरी खटिएका थिए । एक दिन उसलाई प्रहरीले फेला पारे ।

प्रहरीले सम्झाउँदै भने, ‘हेर्नोस् तपाईंकै सुरक्षाका लागि घरभित्रै बस्नुपर्छ । कतैबाट भाइरस स‍र्यो भने तापाईंको ज्यानै जान सक्छ । त्यसैले अगाडि जान मिल्दैन ।’ त्यस दिन ऊ लुरूक्क घर फर्कियो ।

अर्को दिन फेरि डमरू प्रहरीको आँखा छलेर बरालिँदै लखरलखर हिँड्यो । अर्को जङ्गलका बासिन्दा पनि लुक्दै त्यहाँ आएका रहेछन् । टोलका कोहीकोही उरन्ठेउलाहरू प्रहरीलाई छलेर बरालिँदै हिँडेका रहेछन् । कोरोनाबाट बच्न उनीहरूले मास्क पनि लगाएका थिएनन् । डमरू पनि उनीहरूसँगै हिँड्यो ।

डमरूले सोच्यो, ‘त्यस्तो जाबो आँखाले समेत देख्न नसक्ने सानो भुसुनो भाइरसले के नै पो गर्न सक्छ र मलाई ।’ यही सोचेर ऊ डराएन ।

उसले जङ्गलमा भेट भएका सबैसँग हात मिलायो । उनीहरूको नजिकै गयो । कसैलाई त अनाहकमा पिट्यो पनि । ‘यस्ता बलियालाई त पिट्न सक्छु भने म जस्तो बलवानलाई त्यो चुत्थो भाइरसले के गर्न सक्छ र ?’ उसले घमण्ड गर्दै भन्यो ।

जङ्गलमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या बढिरहेको थियो । खतरा अझै टरेको थिएन । लकडाउनको समय थप भइरहेको थियो । तर पनि बिहान खाना खाएर निस्केपछि साँझ मात्र डमरू घर फर्किन थाल्यो । उसलाई कुनै मतलब नै थिएन ।

यस्तो डरलाग्दो अवस्थामा डमरू बिग्रेको देखेर बाघ र बघिनीलाई निकै दुःख लाग्यो । घर बाहिर जान थालेदेखि उनीहरूले डमरूलाई छुट्टै कोठामा राखे । खान पनि त्यही दिए । उसको नजिक पनि गएनन् । सरसफाईमा ध्यान दिए ।
बाघ र बघिनीले उसलाई कसरी सुधार्ने भन्नेबारे धेरै उपाय सोचे । अन्तिममा बाघले भन्यो, ‘जङ्गलका सबै स्कुल र कलेजले अबदेखि इन्टरनेटमार्फत अनलाइनबाट पढाउन शुरू गरेका छन् । उसलाई पनि पढाउनु प‍र्यो । पढ्न परेपछि बाहिर जान्न र पढाइ पनि बिग्रन्न ।’

बाघले स्कुलका शिक्षकसँग सल्लाह ग‍र्यो । डमरूलाई पनि अनलाइन कक्षा शुरू गराइदिए । बाघले भन्यो, ‘छोरा डमरू अबदेखि बाहिर कतै नजानू । घरमै बसेर पढ्नू ।’

डमरू निकै पुलपुलिएको र घमण्डी थियो । बाबाले भनेको पनि उसले मान्दै मानेन । उल्टै घर बाहिर झन् जथाभावी हिँड्न थाल्यो । दिन बितिरहेका थिए । एक साँझ उसलाई ज्वरो आयो । रूघाखोकी पनि लाग्यो । सास फेर्न गाह्रो भयो । भोलीपल्ट पनि ज्वरो निको भएन । टाउको र घाँटी बेस्सरी दुख्यो भन्दै ऊ रोयो ।

‘कोरोना भाइरस संक्रमण भए यस्तै लक्षण देखिन्छ रे !’, बाघले भन्यो, ‘अब के गर्ने होला डमरूकी आमा ?’

‘लौ न मेरो मुटुलाई के भो । छिटो अस्पताल लैजाऊँ न !’ बघिनीले आत्तिएर रूँदै भनी ।

उसलाई एम्बुलेन्समा अस्पताल लगियो । ज्वरो झन् बढ्दै गयो । ऊ निकै कमजोर भयो । डाक्टरले उसलाई आइसियूमा राखे । सास फेर्न निकै गाह्रो भयो भन्दै ऊ बेस्सरी रोयो । बाघ र बघिनी पनि रोए । ऊ कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टी भयो । अब बाघ र बघिनीलाई पनि भाइरस सर्ने डर भयो । उनीहरू डमरू नजिक जान नपाउने भए ।

डमरूलाई झन् झन् गाह्रो हुँदै गयो । बाघले आत्तिदै अस्पतालका डाक्टरसँग आग्रह ग‍र्यो, ‘डाक्टर साहेव, मेरो डमरूलाई जसरी भए पनि बचाइदिनुस् ।’

‘अवस्था निकै जटिल छ । अब उहाँलाई भेन्टिलेटरमा राखेर उपचार हुन्छ । मेडिकल साइन्सले गर्ने अन्तिम उपाय भनेको यही हो । बाँकी भगवानको कृपा,’ डाक्टरले भन्नुभयो ।

‘के कसरी उपचार गर्नुपर्छ गर्नुस् डाक्टर साहेव, डमरू मेरो एक्लो छोरा हो । उसलाई जसरी पनि बचाउनुस्,’ बाघले अनुनय विनय ग‍र्यो ।

डमरूको राम्ररी उपचार भइरह्यो । केही दिनमा उसलाई निको हुँदै आयो । तीन पटक कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि ऊ अस्पतालबाट डिस्चार्ज भयो । 

बाघ र बघिनीको पनि कोरोना जाँच गरियो । डमरूलाई पहिलेदेखि नै छुट्टै कोठामा राखेको भएर उनीहरूलाई सर्न पाएको रहेनछ । बाघ र बघिनीको वुद्धिको डाक्टरले प्रशंसा गरे ।

डाक्टरले भन्नुभयो, ‘स्यावास, समयमै उपचार गर्न ल्याउनुभयो र राम्रो भयो । बधाई छ । अब घर जानुस् । पहिले जस्तो हैन अब स्वास्थ्यलाई राम्रो ख्याल राख्नु है बाबु । हुन्छ ...?’

‘हस्, डाक्टर साहेव !’ डमरूले विस्तारै भन्यो ।

बाघले भन्यो, ‘सँधै लकडाउन त हुँदैन । लकडाउन खुले पनि भाइरस त सकिन्न होला । घर बाहिरको काममा त जानुपर्छ । बालबालिका स्कुल पनि जानुपर्छ । अनि त्यसबेला के गर्ने होला त डाक्टर साहेव !’

‘राम्रो प्रश्न गर्नुभयो,’ डाक्टरले भन्नुभयो, ‘कोरोना भाइरसबाट बच्न राम्ररी हात धुनुपर्छ । आँखा, कान, नाक हातले छुनुहुँदैन । खोक्दा, हाँछ्‍यु गर्दा टिस्यु पेपरले मुख छोप्नुपर्छ । भीडभाडमा जानु परे घर आएपछि राम्ररी सरसफाई गर्नुपर्छ । खानेकुराहरू राम्ररी पकाएर खानुपर्छ । विरामी भएमा तुरून्त अस्पताल जानुपर्छ ।’

‘हुन्छ, डाक्टर साहेव । हामी त्यसै गर्छौं,’ सबैजनाले एकै स्वरमा भने, ‘हस् नमस्कार । अब हामी जान्छौं । तपाईंलाई धेरै धेरै धन्यवाद ।’

‘पख्नुस् हैु, डाक्टरले फेरि भन्नुभयो,  ‘मैले भनेका कुराले मात्रै पूरा सावधानी पुग्दैन । यो भाइरसबारे पत्ता लाग्ने नयाँ कुराबारे रेडियो, टेलिभिजन र समाचारपत्रहरूले जानकारी दिन्छन् । बेलाबेला रेडियो सुन्नुपर्छ, टेलिभिजन हेर्नुपर्छ, पत्रपत्रिका र अनलाइन समाचार पढ्ने गर्नुपर्छ । सरकारले तोकेका सबै सावधानी अपनाउनु पर्छ है !’

‘हस् डाक्टर साहेव । अब हाम्रो होस् खुल्यो । हामीबाट कुनै गल्ती हुन्न । तपाईंले भनेका कुरा एक एक सम्झन्छौं ।’ उनीहरूले एकै स्वरमा डाक्टरलाई विश्वास दिलाए ।

घरमा आएपछि डमरूले भन्यो, ‘बाबाआमा अब म घरमै बसेर अनलाइनबाटै पढ्छु । लकडाउन सकिएर स्कुल खुलेपछि मात्र मास्क लगाएर सामाजिक दूरी कायम राख्दै स्कुल जान्छु है । हजुरहरू र डाक्टर साहेवले भनेको कुरा मान्छु । कोरोनाबाट बच्ने उपाय र सावधानीबारे मैले जानेका सबै कुरा साथीहरूलाई पनि सिकाउँछु ।’

डमरूको ज्यान बच्यो । सुध्रेर ज्ञानी पनि बन्यो । बाघ र बघिनी औधी खुसी भए र एकैसाथ भने, ‘आहा हाम्रो छोरो, कति राम्रो !’

thapa123@gmail.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.