बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन खुकुलो भएसँगै काठमाडौँ छिर्नेको भीड, नागढुङ्गामा सवारी जाम (भिडियो रिपोर्ट)

शनिबार, ०६ असार २०७७, ०९ : २१
शनिबार, ०६ असार २०७७

शुक्रबार काठमाडौँको नागढुङ्गामा हेल्मेट र बर्सादी लगाएका एक युवक प्रहरीलाई अनुरोध गर्दै थिए । मेरो सानो बच्चा पनि छ हजुर । बुटवलबाट आएको, फेरि फर्केर उता जाने अवस्था छैन । यो पासबाट जाने व्यवस्था गरिदिनुप-यो । उनको हातमा नगरपालिकाको वडा कार्यालयले बनाइदिएको पास थियो जसलाई सरकारले मान्यता दिएको छैन । प्रहरीले उनलाई बुटवलबाट नागढुङ्गा आउञ्जेल सडकमा ठाउँ–ठाउँमा प्रहरीले पास जाँच गरेन भनेर सोधे उनले कहिपनि जाँच नगरेको बताए ।

श्रीमती र बच्चा सहित मोटरसाइकलमा बुटवलबाट काठमाडौँ छेउ आइपुगेका प्रशान्त रोका क्षेत्रीलाई प्रहरीले उतै बुटवल फर्किन भन्यो । कि जिल्ला प्रशासन कार्यालयको पास हुनुपर्ने अन्यथा उतै फर्किनुपर्ने बताएपछि उनी अप्ठेरोमा परे । लकडाउन सुरु भएको दोस्रो दिन बुटवल गएका उनी लकडाउन अलि खुकुलो भएपछि सिनामंगलमा रहेको हार्डवेयर पसल सञ्चालन गर्न आएका थिए । उनीजस्तै बिना सवारी पास वा अन्य पास बनाएर आउनेलाई प्रहरीले जहाँबाट आएको हो उतै फर्काइदिने गरेको छ ।

लकडाउन कडा भएका बेला जिल्ला प्रशासन कार्यालयको पास लिएर झन्डै ४० वटा निजी सवारी साधन नाकाबाट भित्रिने गरेकोमा अहिले दैनिक दुई सय पचास भन्दा बढी सवारी साधन भित्रिने गरेको छ । यस्तै अत्यावश्यक ढुवानीका सवारी साधनको संख्या पनि बढेको छ । सवारी साधन भित्रिने र बाहिरिनेको संख्या बढेपछि नागढुङ्गामा एक देखि २ घण्टासम्म सवारी साधान जाममा पर्ने गरेका छन् ।

महेन्द्रनगरबाट आएका भरत विष्ट शनिवार बिहान बैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जानका लागि आएका थिए । शुक्रबार दिउँसो ३ बजेभित्र ग्वार्कोको इपिएस कोरिया शाखामा पुगेर कोरोना संक्रमण नभएको प्रमाणपत्र लिनुपर्ने थियो तर उनी जाममा फसेँ । 

तनहुँको दमौलीबाट आएका सुनील थापा क्षेत्री लकडाउन अघि गाउँको घरमा गएका थिए । सरकारले लकडाउन खुकुलो भएपछि उनी परिवारसहित काठमाडौँ फर्किएका थिए । ३ महिना गाउँमा बसेका उनीहरुको कुनै स्वास्थ्य परीक्षण नभएको उनले बताए । बजार ब्यवसाय र कार्यालय सञ्चालन भएपछि धेरैजसो सर्वसाधारणहरु निजी सवारी सधान रिर्जभ गरेर पनि काठमाडौं आउन थालेका छन् ।

जिल्ला प्रशासनको पास, कोरोना परीक्षण छैन

नागढुङ्गा नाकाबाट निजी सवारी प्रवेशका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालयले दिएको पास हेर्ने गरेको छ । सोही आधारमा सवारी साधानलाई काठमाडौँ प्रवेश दिने गरेको छ । उनीहरु कोरोना संक्रमित क्षेत्रबाट आएका भएपनि कुनैपनि स्वास्थ्य परीक्षण नगरी काठमाडौं प्रवेश गरिरहेका छन् । यस्तो अवस्थामा राजधानीमा कोरोनाको उच्च जोखिम रहने विज्ञहरु बताउँछन् । सरकारले प्रहरीलाई आवतजावत नियन्त्रणको जिम्मेवारी दिएको छ तर संक्रमित क्षेत्रबाट यात्रु आएका छन् भने उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने स्वास्थ्य युनिटसम्म राखेको छैन । 

तर काठमाडौँ भित्रिनेहरुको नाम र सम्पर्क नम्बर भने प्रहरीले राख्ने गरेको महानगरिय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु खुलेपछि राजधानी बाहिरबाट सवारीसधान उल्लेख्य मात्रामा आइरहेको उनले बताए ।

खाद्य सामग्री ढुवानी तथा अत्यावश्यक सामग्री ढुवानीका सवारी साधन बढेको, दैनिक ८० वटा हाराहारी एम्बुलेन्स, मोटरसाइकल, कार, जीप, भ्यान लगायतका सवारी साधन दैनिक २ सय ५० को हाराहारीमा काठमाडौँ भित्रिरहेको उनले बताए ।

सवारी पास नमिलेका कारण दैनिक १ सय हाराहारी सवारी साधन जहाँबाट आएको उतै फर्काउनुपर्ने अवस्था रहेको डिएसपी श्रेष्ठले बताए । स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पास दिने व्यवस्थाका कारण सर्वधारण अलमलमा परेर स्थानीय तहले गरेको सिफारिस पत्र बोकेर हिड्ने गरेको उनले बताए ।

जोखिम बढ्छ सुरक्षा सर्तकता अपनाऔँ : जनस्वास्थ्य विज्ञ

यातायातका साधान सञ्चालन र मानिसहरुको आवत जावतमा बृद्धि भएपछि संक्रमणको जोखिम पनि बढ्ने भएका कारण एकमात्र उपाय सुरक्षा सावधानी अपनाउन जनस्वास्थ्य विद्ले सुझाव दिएका छन् ।

जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षित सवारी सधानमा कति मान्छे राजधानी भित्रिए भन्दा पनि कति जनाले मास्क लगाएका छन्, कति दुरी कति राखेका छन् त्यसका आधारमा जोखिम बढ्ने बताउँछन् । संक्रमित जिल्लाबाट पनि यात्रीहरु काठमाडौं आउन सक्ने भएकोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गर्नुपर्ने, दुई भन्दा बढी मान्छेसँगै छन् भने दुई मिटर दुरी कायम गर्नुपर्ने अनिवार्य स्यानिटाइजरको प्रयोग गर्नुपर्नेमा उनको जोड छ । सक्रंमित क्षेत्रबाट कोही राजधानी प्रवेश गर्दैछ भने उसको स्वाव संकलन गर्ने र उसको सम्पर्क नम्बर लिएर राख्नुपर्ने डा. दीक्षितको सुझाव छ ।

हेर्नुहोस् भिडियो ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप