सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सुनकोशी करिडोर सडक स्थानीय तहले निर्माण गर्ने

शुक्रबार, ०५ असार २०७७, १८ : ३८
शुक्रबार, ०५ असार २०७७

झण्डै दश वर्षअघि काम शुरु गरेर अलपत्र अवस्थामा रहेको सुनसरीको चतरादेखि सुनकोशी किनार हुँदै उदयपुरको पहाडी क्षेत्रलगायत सातवटा स्थानीय तह हुँदै कटारीको घुर्मी जोड्ने सुनकोशी करिडोर सडक उदयपुरको स्थानीय तहहरुले नै निर्माण गर्ने भएका छन् ।

उदयपुरको कटारी नगरपालिकाको कार्यालयमा बसेको स्थानीय तहहरुका जनप्रतिनिधि र पार्टी प्रतिनिधिको संयुक्त बैठकले अब अलपत्र परेको सुनकोशी करिडोर सडक उदयपुरका स्थानीय तहहरुको आफ्नै लगानीमा निर्माण कार्य शुरु गर्ने निर्णय भएको कटारीका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।
    
उनका अनुसार कटारी– १४ घुर्मी सुनकोशी क्षेत्रदेखि एक सय ६७ किलोमिटर सुनसरीको चतरा जोड्ने सुनकोशी करिडोर सडकको पहिलो खण्डको घुर्मी हुँदै लिम्चुङबुङ गाउँपालिकाको कुनाहीघाटसम्मको ५७ किलोमिटर सडक पहिलो चरणमा निर्माण कार्य शुरु गरिने निर्णय भएको हो ।

यसका लागि तत्काल उदयपुरको कटारी नपा, ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाले संयुक्त रुपमा रु चार करोड आर्थिक विनियोजन गर्ने तयारी गरेको लिम्चुङबुङका अध्यक्ष मेजरकुमार राईले बताए ।

यस्तै बाँकी सडक करिडोर पूरा गर्नका लागि त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका, बेलका नगरपालिकासहित उदयपुर गढी गाउँपालिकाले संयुक्त बजेट विनियोजन  गरेर आर्थिक लगानी गर्ने तयारी भएको पनि रौतामाईका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए ।

सुनकोशी करिडोर सडकबाट प्रदेश नं १ का धनकुटा, भोजपुर, सुनसरीसहित राजधानी विराटनगरसम्म आवतजावत गर्ने र व्यापारिक प्रयोजनाका लागि उपयोगी हुने जनप्रतिनिधिहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप