मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रमा अझै पनि भी सेप रिकभरी हुने स्थिति छ: अर्थमन्त्री खतिवडा

शुक्रबार, ०५ असार २०७७, १३ : ४३
शुक्रबार, ०५ असार २०७७

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतविडाले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा भी (V) सेप रिकभरी हुने स्थिति अझैपनि रहेको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा आर्थिक विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थतन्त्रको रिकभरी भीसेपमा हुन सक्ने बताएका हुन् । उनले भूकम्पपछि आर्थिक संरचनाहरुमा क्षति हुँदा समेत अर्थतन्त्रलाई भीसेपको रिकभरी गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि भीसेपको रिकभरी सम्भव भएको बताए । उनले भने– ‘भूकम्प पछिको पूनःनिर्माणमा पनि यो धेरै विषय चलेको थियो कि अब अर्थतन्त्र थलापर्यो भने उठ्नै सक्दैन भन्ने विषय उठेको थियो । त्योबेला हाम्रा आर्थिक संरचनाहरु पनि भत्किएका थिए । तर हामीले भीसेपको रिकभरी गर्यौ । भूकम्प पछिको पुननिर्माणको चरणमा । त्यसैले हाम्रो इतिहास, हाम्रो अनुभव र हाम्रा प्रयासहरुलाई हेर्ने हो भने हामी फेरिपनि भीसेपको रिकभरीमा जान सक्छौं ।’

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका केही सवल पक्षहरु कायम नै रहेकोले त्यसलाई परिचालन गर्दा श्रम बजारको समस्या र आपूर्ति श्रृङ्खलालाई सहज बनाउन सजिलो हुने बताए । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उपकरणहरुमा सरकारले सहजीकरण गरिरहेको समेत बताए । बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युतमा छुट दिने लगायतका विषयमा सरकारले जोड दिएको स्पस्ट पारे । उनले मुलुकमा झण्डै तीन चौथाई लगानी निजी क्षेत्रको रहेकाले निजी क्षेत्रलाई सरकारले बिर्सन नसक्ने बताए । उनले मुलुकको खाद्य सुरक्षा, उर्जा सुरक्षा, रोजगारीको सुरक्षा र स्वास्थ्य सुरक्षा सम्बन्धी विषयमा आत्मनिर्भर हुने गरी आर्थिक गतिविधिलाई अगाडि बढाउनुपर्ने बताए ।

यस्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको समेत अर्थमन्त्री खतिवडाले जवाफ दिएका छन् । कोभिडको जोखिमले अर्थतन्त्रमा ल्याएको शिथिलताको अवस्थामा सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए । उनले सरकारले आन्तरिक ऋण उठाउँदैमा निजी क्षेत्रको लगानी नघट्ने समेत स्पस्ट पारे । निजी क्षेत्रको लगानी बढाउनको लागि विभिन्न क्षेत्रहरुलाई खुल्ला गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

उनले भने– ‘मुलुकभरीमा आम्दानीको उपभोगलाई कटाएर रहेको रकमको एक तिहाई जति सरकारले लिन खोजेको हो । त्यो लगानीको अनुपातमा हो । निजी क्षेत्रलाई बाहिरबाट लगानी ल्याउन प्रोत्साहित गर्नको लागि बाहिरबाट जुन ऋण ल्याउनुहुन्छ हाम्रो बैंकिङ प्रणालीको मित्रहरुले त्यो ल्याउने ऋणमा त्यसलाई निक्षेपको रुपमा लिने हो भने टिडिएसको रुपमा घटाइदिएको छ । ताकि बैंकहरुले पनि विदेशबाट ऋण परिचालन गरेर पनि लगानी बढाउन सकुन भनेर अरु श्रोतहरु प्नि निजी क्षेत्रको लागि खुला गरिदिएको छ । त्यसैले सरकारले बजारबाट पैसा आफ्नो विकास खर्च पुरा गर्न उठाइँरहदा निजी क्षेत्रलाई पुग्ने गरी र नपुग भएमा विदेशबाट समेत परिचालन गर्ने व्यवस्था गरेको छ । त्यसले गर्दाखेरी सरकारले आन्तरिक ऋण उठाउने कारणले निजी क्षेत्रलाई उपलब्ध हुने श्रोत संकुचित हुँदैन् ।’

ऋण तथा जमानत (चौबिसौं संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकारले जमानत बस्दा व्यवसायिक सम्भावना भएका क्षेत्रहरु हेरेर मात्रै जमानत बस्ने बताए । उनले वित्तीय रुपमा सबल भएका सार्वजनिक संस्थाले आफैँ ऋण परिचालन गर्न सक्ने र वित्तीय अवस्था सुदृढ नभएको संस्थालाई उकास्न पर्ने भएमा सोचेर मात्रै सरकारले काम गर्ने स्पस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप