बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुकिछिपी आउनेले बढाए उपत्यकामा जोखिम

शुक्रबार, ०५ असार २०७७, ०६ : ३१
शुक्रबार, ०५ असार २०७७

काठमाडौं –  प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । 

उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँका दुई, ललितपुरका एक र भक्तपुरका तीन जनामा सङ्क्रमण देखिएको छ । 

काठमाडौँमा फेलापरेका सङ्क्रमितमा कपन बालुवाखानीका ४५ वर्षका पुरुष र तीनकुनेकी ३४ वर्षकी महिला हुन् । उनीहरू केही दिनअघि काठमाडौँ भित्रिएका हुन् । आफन्तको सल्लाहमा कोरोना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो ।

त्यस्तै, भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका–१६ का २२ वर्षका पुरुषमध्ये कोही बाहिरबाटै आएको जनाइएको छ । ललितपुरमा फेलापरेका सङ्क्रमितका बारेमा भने जानकारी लिने कार्य भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । उपत्यकामा देखिएका छ सङ्क्रमितमध्ये चार जनालाई उपचार गर्न पाटन अस्पताल र दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको छ । उपत्यकामा बाहिरबाट आएका व्यक्तिमा धमाधम कोरोना देखिन थालेपछि थप सतर्क हुन दबाब परेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप