शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहलाई समेत मार्न सक्ने अफ्रिकी जंगली कुकुर

कुकुर र मानिसको सम्बन्ध ४५०० वर्ष पुरानो
शुक्रबार, ०५ असार २०७७, ०२ : ३२
शुक्रबार, ०५ असार २०७७

कुकुरको कुरा गर्ने बित्तिकै हामीले सोच्छौं– यो त घरमा पालिने प्राणी हो । यो कुरा केही साँचो हो तर पूरै साँचो भने होइन । घरमा पालिने कुकुरबाहेक जंगलमा पनि कुकुरहरु हुन्छन् । उनीहरु अरु जंगली जनावरहरु जस्तै जंगलमा बस्ने गर्छन् ।

वास्तवमा, पहिले पहिले कुकुर जंगली नै थियो । त्यसबेला मानिस पनि आजभोलि जस्तो घर बनाएर हैन, जंगली जनावरहरु जस्तै जंगलमा बस्ने गर्थे । जंगलमा बसेर उनीहरुको शिकार गर्ने गर्थे । रहँदा बस्दा जंगलमा मानिसको सबैभन्दा नजीकको जीव कुकुर बन्न पुग्यो । त्यसबेला मानिसले गरेको शिकारको हाँडखोर र आन्द्राभुँडी सजिलै खानपाउने लोभले कुकुर मानिससँग नजिकिँदै गयो र पछि कुकुर मानिसको पालुवा प्राणी नै बन्न पुग्यो । त्यसबेला कुकुरले मानिसलाई शिकार गर्नको लागि सघाउने गथ्र्यो । साथै, पहरा बसेर यसले मानिसलाई जंगली जनावरको खतराको पनि संकेत दिने गथ्र्यो । यसको अर्थ के हो भने, मानिसले धेरै पहिलेदेखि नै कुुकुरलाई पाल्दै आएको हो । अहिलेसम्म पत्ता लागेको इतिहासअनुसार मानिसले आजभन्दा ४५०० वर्ष अगाडिदेखि नै कुकुर पाल्दै आएको छ ।

https://i.ytimg.com

जंगली कुकुर धेरै थरिका हुन्छन् । व्वाँसो, फ्याउरो, स्याल जस्ता जीवहरु पनि कुकुर समूहकै जीव हुन् । तीमध्ये पनि सबैभन्दा खतरनाक र शक्तिशाली कुकुर चाहिँ अफ्रिकामा पाइने जंगली कुकुर नै मानिन्छ ।

यो कुकर मांसहारी हुन्छ । अफ्रिकाको सहाराको दक्षिण र पश्चिमी क्षेत्रमा विशेष गरेर पाइने यस कुकुरलाई केप हन्टिङ डग पनि भन्ने गरिन्छ । यस कुकुरको छाला र भुत्ला कालो रंगको हुन्छ भने खुट्टा केही लामा हुन्छन् । यस कुकुरको छाला छोटा काला, पहेंला र सेता रंगका भुत्लाहरुले ढाकिएका हुन्छन् । राम्ररी हुर्केको जंगली कुकुरको तौल २३ किलोसम्म हुन्छ ।

यस कुकुरको विशेषता भनेको यसको खुट्टामा ४ वटा मात्र पञ्जा (Toes) हुन्छन् । व्वाँसो लगायत अन्य कुकुरहरुको खुट्टामा चाहिँ पाँच वटा पञ्जा हुन्छन् । गोलाकार र ठूलो कान हुने यस कुकुरको सुन्ने र हेर्ने शक्ति पनि निक्कै तीखो हुन्छ । रोचक त के छ भने, यसले शिकार खोज्नका लागि सुँघ्ने हैन हेर्ने र सुन्ने शक्तिको बढी प्रयोग गर्छ ।

https://images.earthtouchnews.com

जंगली अफ्रिकी कुकुर समूहमा बस्ने गर्छ । यसको एउटा समूहमा केही कुकुरदेखि लिएर ५० वटासम्म कुकुरहरु पनि हुन सक्छन् । एकता नै बल हो भन्ने भनाइ यस कुकुरमाथि पूरै लागू हुन्छ साना प्राणी भएपनि समूहमा बस्ने भएकोले यो कुकुर निक्कै खतरनाक मानिन्छ । समूहमा मिलेर यसले ठूला ठूला जीवहरुको पनि शिकार गर्ने गर्छ । अफ्रिकाका सबैभन्दा खतरनाक र क्रूर शिकारी प्राणीको रुपमा पनि मानिने यस कुकुरले कहिलेकाहीँ बलियो समूहमा हुँदा जंगलको सबैभन्दा बलियो मानिने प्राणी सिंहलाई पनि मार्न सक्छ । एकताको बलले नै यस कुकुरले सिंहले मारेको शिकार समेत खोसेर खान सकेको देखिन्छ ।

अरु मांसहारी जीवले जस्तै यस कुकुरले पनि प्रायः कमजोर र भाग्न नसक्ने रोगी जीवहरुलाई आफ्नो शिकार बनाउने गरेको पाइन्छ । यसरी यसले प्रकृतिमा सन्तुलन राख्ने काम पनि गरिरहेको हुन्छ ।

अफ्रिकी कुकुर निक्कै मिहिनेती पनि हुन्छ । शिकारको खोजीमा यसले ३९०० किलोमिटरसम्मको क्षेत्रफल डुल्ने गर्छ । यसले आफ्नो शिकारलाई कयौं किलोमिटर लखेटेर पनि मार्ने गरेको पाइन्छ । यो कुकुर प्रतिघण्टा ५५ किलोमिटरको गतिले दौडन सक्छ ।

https://www.denverpost.com

समूहमा बस्ने अरु जंगली प्राणीहरुमा जस्तै अफ्रिकी जंगली कुकुरमा पनि एउटा बलियो भाले र पोथीले पूरै समूहमाथि नियन्त्रण गर्ने गर्छ । विशेष गरेर त्यही भालेपोथीले मात्रै प्रजनन कार्य गर्ने र करीब ८० दिनमा बच्चाहरु जन्माउने काम गर्छ । यस कुकरले एक पटकमा ६ देखि १६ वटासम्म बच्चा पाउने गर्छ । त्यसरी जन्मेको बच्चा २ महिनासम्म जमीनमुनिको गुफामा नै बस्ने गर्छ । त्यस्ता बच्चालाई समूहका अरु कुकुरहरुले पनि राम्ररी स्याहार्ने र हुर्काउने काम गर्छ । बच्चा कुकुरले ठूला कुकुरहरुबाट शिकार गर्ने तरिका सिक्ने गर्छन् । अरु कुकुरहरु शिकार गर्न जाँदा पनि बच्चाको रखवाली गर्न केही बलिया कुकुरहरु गुफामा नै बस्ने गर्छन् ।

यो जीव अहिले अफ्रिकामा मात्रै पाइन्छ । त्यसमाथि यसको संख्या घट्दो छ । वास्तवमा धेरै लामो क्षेत्रमा घुम्ने गरेकोले घरपालुवा जनावरहरुमा हुने रोग पनि यसलाई सर्ने गरेको पाइन्छ । यस्ता रोगहरु अनि घट्दो बासस्थान र आहारा अनि अवैध शिकारको कारण पनि यसको संख्या वर्सेनी डरलाग्दो रुपमा घटिरहेको छ । हाल संरक्षित क्षेत्रहरुमा मात्र पाइने यस प्राणीको जम्माजम्मी संख्या २ हजारदेखि ५ हजार वटा मात्र रहेको छ । त्यसैले यस प्राणीलाई लोप हुने खतरामा पुगेको जीवको श्रेणीमा राखिएको छ । लोप हुने खतरामा रहेका प्राणी र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धी लगायत विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुले यस प्राणीलाई संरक्षित प्राणीको कोटीमा राखेको छ ।

Title Photo : https://c402277.ssl.cf1.rackcdn.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप