केन्द्रीय संस्करण

कोरोना महामारी र हाम्रो आगामी जीवनशैली

person explore access_timeअसार ४, २०७७ chat_bubble_outline0

सन् २०१९ को अन्त्यतिरबाट चीनको उहान सहरबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीले सबै राष्ट्रका सबै समुदायका मानिस आक्रान्त छन् । विशेषगरी वृद्ध, गर्भवती, बालबालिका, दीर्घ रोगी तथा स्वासप्रस्वाससम्बन्धी बिरामी र गरिबहरु ज्यादा प्रभावित छन् ।

कोरोनाका कारण विश्वका कैयौँ देशले लकडाउनलाई अपनाएका छन् । जसका कारण मानिसका दैनिक क्रियाकलापमा कमी आएको र दैनिकी परिवर्तन भएको छ । यसले गर्दा आर्थिक, सामाजिक, शैक्षिक र पर्यटकीय गतिविधि ठप्प प्रायः छन् । विसं २०७६ चैत ११ देखि सुरु भएको लकडाउनले नेपालभरिका सबै शैक्षिक संस्था बन्द छन् । यसले करिब ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । मुखैमा आएको एसईई परीक्षा र कक्षा ११ र १२ को वार्षिक परीक्षाहरु समेत स्थगित भएका छन् । तथापि सरकारले  एसईई परीक्षा आन्तरिक मूल्याङ्कनमार्फत गर्ने निर्णय गरेको छ जुन स्वागतयोग्य छ । तराईका कतिपय स्कुलले त कक्षा १० सम्मको अन्तिम परीक्षासमेत सञ्चालन गर्न सकेका छैनन् । यसले गर्दा लाखौँ विद्यार्थी आफ्नो शैक्षिक गतिविधि र आफ्नो भविष्यप्रति चिन्तित छन् । यदि सामान्य अवस्था रहिरहेको भए म लगायत सबै विद्यार्थीहरु अहिले कक्षा १० को प्रथम त्रैमासिक परीक्षाको तयारीमा जुटिरहेकी हुने थियौँ ।

अहिलेको यस विषम परिस्थितिमा पनि धेरै निजी विद्यालयले अनलाइन शिक्षा सुरु गरेका छन् । तर पनि विद्यालयमा गई दैनिक ६ घण्टा पढ्ने विद्यार्थी र पढाउने शिक्षक तथा शिक्षिकालाई अनलाइन कक्षाले भने जम्माजम्मी डेढदेखि दुई घण्टा मात्रै प्रत्यक्ष जोडेको छ । तथापि सबै अभिभावकहरु र विद्यार्थीहरुलाई यसले समेट्न सकेको छैन । कतिपय साथी आफ्नो दुर्गम गाउँमा हुनुहुन्छ जहाँ इन्टरनेटको सुविधा छैन । यस्ता ठाउँमा प्रविधिको प्रयोग पनि चुनौतीपूर्ण बनेको छ । दुर्गम क्षेत्रका निजी तथा सरकारी स्कुलका धेरै शिक्षक तथा विद्यार्थी नयाँ प्रविधिको पहुँचबाट  टाढा रहेका छन् । यही समस्याका कारण धेरै गाउँका विद्यार्थी सहरमा बस्ने विद्यार्थीहरुभन्दा सिकाइको अवसरमा पछि पर्न सक्ने र सहर तथा ग्रामीण भेगका विद्यार्थीहरु बीचको सिकाइ र बुझाइको क्षेत्रमा भविष्यमा ठूलो खाडल सिर्जना हुन सक्ने देखिएको छ । तसर्थ सरकारले प्रविधिमैत्री सिकाइलाई सबैको पहुँचमा पुर्याउने र अनलाइन कक्षा सञ्चालन गर्न ढिला गर्नु हुँदैन ।

लकडाउनका बीच हाम्रो छिमेकी राष्ट्र चीनको शैक्षिक गतिविधि नियाल्दा दुई महिनाभन्दा बढी समयपछि करिब २७ करोड चिनियाँ विद्यार्थीहरुले अहिले अनलाइन कक्षामार्फत पढिरहेका छन् । सञ्चार र इन्टरनेट सुविधा नपुगेका ग्रामीण भेगमा चीन सरकारले आफूसँग भएका प्रविधि र अनुसन्धानबाट निकालिएका तथ्य तथा निचोडहरुको आधारमा मोबाइल ट्याब्लेट, डेटा प्याकेज, टिभी जस्ता सामग्रीको वितरण र भर्चुअल कक्षाका माध्ययमबाट करिब ३ लाख गरिब विद्यार्थीलाई समेत प्रविधिमार्फत जोडेर शैक्षिक गतिविधि अगाडि बढाएको छ र यसका लागि करिब ८ सय शिक्षकलाई खटाइएको छ । यसैगरी अर्काे छिमेकी राष्ट्र भारतमा पनि दिन प्रतिदिन कोभिड–१९ को महामारी फैलँदै गएको भए पनि लकडाउन क्रमशः खुकुलो बनाउँदै गएको छ । कक्षा ४ सम्म चित्रकला र घरमै बसेर सिक्न सकिने विषयमा घरमै बसेर पढ्न प्रेरित गरेको छ भने कक्षा ५ देखि माथि इ–पाठशाला जस्ता इन्टरनेटमा आधारित प्लेटफर्मबाट शिक्षण सिकाइको कुरालाई अगाडि बढाएको छ ।

लकडाउन लम्बिदै जाँदा नेपालमा पनि अनलाइन शिक्षालाई प्रभावकारी रूपमा सबै क्षेत्रमा सञ्चालन गर्दै शैक्षिक गतिविधिलाई बढाउनुपर्ने देखिन्छ । किनकि नेपालका कतिपय विद्यालय क्वारेन्टिनको रूपमा प्रयोग भएका छन् भने भारतबाट आउने नेपालीहरुको लर्काे बढ्दै गएको र उनीहरुलाई व्यवस्थित तरिकाले क्वारेन्टिनमा राखेर आआफ्नो गाउँसम्म पुर्याउन नसकिँदा तराईका धेरै जिल्लाहरु लगायत देशैभर कोरोनाका बिरामी बढ्दै गएको समाचार आइरहेका छन् । २०७६ सालको माघ ९ गते पहिलो कोरोनाको बिरामी भेटिएपछि करिब १ महिनासम्म थप बिरामी भेटिएका थिएनन् । तर करिब ४ महिनापछि अहिले नेपालका ७३ जिल्लामा कोरोनाका करिब ६ हजार बिरामी भेटिइ सकेका छन् भने यसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । यस्तो विषम परिस्थितिमा हामीले हाम्रा शैक्षिक र दैनिक क्रियाकलाप सञ्चालन गर्दा थप सचेतना एवं विशेष ध्यान पुयाउनुपर्ने देखिएको छ । यसका साथै शैक्षिक क्षेत्रमा वैकल्पिक विधि अपनाई प्रविधिको प्रयोग बढाउँदै शैक्षिक कार्यक्रम अगाडि बढाउनुको विकल्प देखिँदैन । हतारमा विद्यालय खोले पनि धेरै अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाइहाल्ने अवस्था देखिदैन । किनकि स्पेन तथा दक्षिण कोरियामा विद्यालय खोलिएको दुई हप्ता नहुँदै सयौँ विद्यार्थीहरुमा कोरोना सङ्क्रमण देखिए पछि पुनः विद्यालय बन्द भएका समाचार आएका छन् ।

नेपाल सरकारले आगामी दिनमा लकडाउनलाई विभिन्न चरणमा खुकुलो बनाउँदै लैजाने भएकाले हामीले पनि अन्य क्षेत्रमा कोभिड–१९ सँग डराएर नभई सावधानीका साथ सामाजिक दूरी कायम गर्दै जनजीविकालाई सामान्य बनाउदै लैजानु पर्छ । पसल जाँदा परिवारबाट १ जना मात्र मास्क र पन्जा लगाएर जाने, भीडभाड भएको ठाउँमा नजाने, दैनिकीलाई सक्रिय बनाउने, योगाशन तथा शारीरिक व्यायाम घरमै बसेर गर्ने, खानपानमा ध्यान दिने, घरमै बसेर पढ्न सकिने विषय अध्ययन गर्ने, टिभी च्यानलमार्फत भएका दूरशिक्षाका कक्षामा सहभागी हुने, नयाँ सीप सिक्न खोज्ने, कोर्सबाहेकका सहयोगी पुस्तक पढ्ने  र प्रविधिको माध्यमबाट आफन्तसँग आत्मीयता बढाउँदै जानुपर्छ । नेपाल सरकारले पनि पीसीआर परीक्षणको दायरा र क्षमता बढाउँदै क्वारेन्टिनहरुको व्यवस्थामा थप सुधार गर्नु पर्छ र सङ्क्रमितहरु भाग्न दिनुहुँदैन । यस्ता कार्यमा गैरसरकारी संस्थालाई पनि खटाउनु पर्छ । च्याउ जस्तै उम्रिएका यस्ता संस्था अहिले गुपचुप देखिन्छन् । 

अन्त्यमा हामी सबैले आआफ्नो क्षेत्रबाट सहकार्य र सहयोग गर्याैं भने अवश्य पनि  यो महामारीबाट जित हाँसिल गर्न सक्छौ । कोरोना महामारीको युद्ध मैदानमा पहिलो मोर्चामा खटिने स्वास्थ्यकर्मी र सीमामा खटिने तथा अन्य सुरक्षाकर्मीको उच्च मनोबल बढाउन समयमै पीपीई लगायत आवश्यक सामग्रीहरुको व्यवस्था गरिनुपर्छ र अस्पताल तथा स्वास्थ्य संस्थामा कोरोनाको सङ्क्रमण फैलिन नदिन हरसम्भव प्रयास गर्न ढिला गर्नु हुँदैन । अस्पतालहरु सिल हुन थाले भने अति आवश्यक इमर्जेन्सी स्वास्थ्य सेवाका लागि बिरामी कहाँ जाने ? अहिले धेरै गर्भवतीहरू डेलिभरी गराउन अस्पताल नगएर घरमै गराउन खोज्दा मातृमृत्युदर बढेको र यो लकडाउनको समयमा करिब ४० गर्भवतीको ज्यान गएको समाचार सुन्नुपर्दा ज्यादै दुःख लागेको छ । अतः यस कठिन परिस्थितिलाई व्यवस्थापन गर्न र सङ्क्रमण थप विस्तार हुन नदिन कुनै कुराको पनि कमी हुन दिनु हुँदैन । सङ्क्रमणको दरभन्दा परीक्षणको दरलाई उच्च गतिमा बढाउन सकेमा मात्र कोरोनाको फैलावटलाई नियन्त्रण गर्न सकिने कुरा जापान, भियतनाम, न्युजिल्यान्ड लगायतका विश्वका अन्य देशहरुको सङ्क्रमणको घट्दो दरबाट देखिएको छ । तसर्थ औषधि तथा खोप नबनेसम्म परीक्षण, पहिचान, आइसोलेसन, क्वारेन्टिन र उपचार पद्धतिलाई व्यवस्थित बनाउनु नै कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्ने एक मात्र उपाय दखिएको छ । त्यसैले हामी जहाँ जहाँ छौँ त्यही सुरक्षित रहौँ साथै अनुशासित र संयमित रहौँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.