शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमाथि उठेको यक्ष प्रश्न : भल छोप्दै दौडेर कहाँ पुगिन्छ ?

चरणबद्ध आन्दोलनको घोषणा गर्न पार्टीभित्र दबाब
बिहीबार, ०४ असार २०७७, १२ : ०४
बिहीबार, ०४ असार २०७७

काठमाडौँ । नेपाली काँग्रेस साढे दुई वर्षदेखि प्रमुख प्रतिपक्षको भूमिकामा छ । तर उसको भूमिकाको प्रभावकारितामाथि सुरुदेखि नै प्रश्न उठिरहेको छ । यो साढे दुई वर्षमा जनताले काँग्रेसमार्फत आफ्नो आवाज सरकारसम्म पुगेर सम्बोधन भएको महसुस गर्न पाएका छैन ।

विश्वभर फैलिएको कोरोना महामारीले नेपाली जनताको दैनिकी दयनीय बनाएको तीन महिना भयो । यो कति जान्छ, अझै टुङ्गो छैन । कोरोना नियन्त्रण गर्न र त्यसले निम्त्याएको महामारीमा जनताको व्यवस्थापन गर्न नसकेर सरकार लाचार सावित भइसकेको छ । तर सरकारलाई प्रभावकारी र जवाफदेही बनाउने जिम्मेवारी पाएको काँग्रेस पनि यस मामलामा ‘रचनात्मक प्रतिपक्षी’का नामा लाचारी प्रदर्शन गरिरहेको छ ।

कोरोना भाइरस सङ्क्रमण महामारीविरुद्धको सङ्घर्षमा सरकारले प्रदर्शन गरेको अर्कमण्यता, भ्रष्टाचार र गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध काँग्रेस योजना र एजेन्डासहित जनताको सारथि बन्न सकिरहेको छैन ।

यो तीन महिनामा केही थान विज्ञप्ति र बैठकमा सीमित देखिएको काँग्रेस रचनात्मक प्रतिपक्षी बन्दै जनताको समस्यासम्म पुग्न नसकेको प्रष्ट देखिन्छ । काँग्रेसका केही थान विज्ञप्ति र बैठकले सरकार पनि टसमस भएन ।

बरु स्वस्फुर्त रूपमा विभिन्न ठाउँमा सडकमा देखिएको युवा आन्दोलनले बालुवाटारमा हलचल मच्चायो ।

जनताले सडक र विपक्षीको जिम्मेवारी सुम्पिएको काँग्रेस सानेपा र बूढानीलकण्ठबाट बाहिर निस्किन नचाहेपछि त्यो स्थानमा युवा उपस्थित भए । त्यसपछि काँग्रेस विज्ञप्तिबाट ज्ञापनपत्रसम्म प्रवेश गरेको छ ।

कोरोना महामारीमा सरकारबाट भएका कमजोरी र बेथितिबारे मङ्गलबार स्वदेश तथा विदेशका १२० स्थानबाट काँग्रेसले विभिन्न निकायबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापनपत्र बुझाएको छ ।

तर त्यसपछिको बाटो के भन्ने उत्तर छैन । राजनीतिक विश्लेषक कृष्ण खानाल काँग्रेसको ठूलो अलमलले यस्तो अवस्था आएको जिकिर गर्छन् ।

उनले भने, ‘काँग्रेस नेतृत्वसँग कुनै अगाडिको सोच पनि छैन, पछाडिको सोच पनि छैन । तत्काल जे गर्दा सजिलो लाग्छ त्यही भइरहेको छ । म यसलाई काँग्रेसको सोच भन्दिनँ । काँग्रेसका नाममा काँग्रेसका केही पदाधिकारीको तत्कालको अनुकुल बुझाइ र सोचअनुसार काम गरेको जस्तो लाग्छ ।’

खनालका अनुसार काँग्रेस नेतृत्वमा आफ्नो सोच नभएर भ्रम मात्र छ ।

‘आफ्नो मौलिक सोच, मौलिक दृष्टिकोण, मौलिक मूल्याङ्कन र त्यसका आधारमा आगामी बाटो प्रस्ट गर्न नसकेका बेला सडकमा केही देखिएपछि यता लाग्दा हुन्छ कि उता लाग्दा हुन्छ कि भन्ने देखिन्छ,’ उनले भने ।

नेपाली काँग्रेसका नाममा गरिने आन्दोलनलाई विश्लेषक खनालले भल छोप्ने दौडका रूपमा अथ्र्याए ।

‘कोरोनाका बेला फेसबुकबाट सडकमा यत्रो आन्दोलन देखियो । त्यसपछि काँग्रेसका नाममा केही युवा (नेवि सङ्घ) सडकमा देखिए । यो कहाँसम्मको बाटो हो ? केही थाहा छैन,’ उनले भने, ‘सडकमा कोही आएर पपुलर भएपछि काँग्रेसका नाममा सडकमा आएको पाइयो ।  फेसबुकका युवाले कसरी पपुलर बाटो समाते भन्ने कुनै चिन्तन, दृष्टिकोण छैन । खालि भल छोप्न दौडेर हुँदैन नि ?’

तर राजनीतिक विश्लेषक पुरञ्जन आचार्य जनतासँगको संवादमा काँग्रेस नजोडिएकाले विषयको उठान र प्रस्तुतिमा समस्या देखिएको बताए । यही ढङ्गले काँग्रेसले आन्दोलन सुरु गरे पनि जनताले विश्वास गर्नेमा आचार्यले आशङ्का व्यक्त गरे ।

तर उनले काँग्रेसले तीनवटा मुद्दामा आफूलाई खरो उतार्नुपर्ने बताए । ‘कोरोना रोकथामा सरकारलाई रचनात्मक सहयो गर्ने, लाखौँ बेरोजगार युवा देशभित्र आउँदै छन्, तिनीहरुको व्यवस्थापन गरी रोजगारीका लागि उत्पादनशील क्षेत्रमा जोड्ने विषयमा सरकारलाई वैकल्पिक बाटो देखाउने र कालापानी, लिपुलेक लिम्पियाधुरको भूमि फिर्ताका लागि सरकारलाई बाटो देखाउने आफू पनि पहल गर्ने कुरालाई काँग्रेसले मूल मुद्दा बनाउनुपर्छ,’ आचार्यले भने ।

तर खानाल भने निर्वाचनमा अस्वीकार गरिएको नेतृत्वले अगाडि बढेर गरिने कुराले गति नलिने तर्क गर्छन् ।

उनले भने, ‘हिजो मानसिकता, हिजोको सोच, हिजोकै व्यक्ति बोकेर काँग्रेस गइरहेकाले के नमिलेको के नमिलेको जस्तो देखिएको छ । काँग्रेसले १२० ठाउँबाट ज्ञापनपत्र बुझाए भनिएको छ । त्यसले प्रभाव पार्दैन र परिणाम आउँदैन भने के काम ?’

खनालका अनुसार परिणाम नआउनुको पछाडि काँग्रेसले जनमत बलियो बनाउन सकेको छैन ।

‘यत्रोे ठूलो इतिहास बोकेको, पटक पटक आन्दोलन गरेको र दोस्रो जनमत पाएको ओज काँग्रेससँग छ । तर त्यसलाई प्रयोग गर्न सक्ने क्षमता नै छैन, उसको नेतृत्व छैन, उसको विश्वसनीयता छैन । समस्या यहाँनिर हो,’ खनालले भने, ‘विश्वसनीयता स्थापित गर्न नसकेको अवस्थामा सङ्ख्या गनेर यति ठाउँमा यति कार्यक्रम गर्यौँ भन्ने कुराले केही अर्थ राख्दैन ।’

पार्टीभित्र कसैले काँग्रेसले केही गर्न सकेन भनेर आवाज उठाउँदा त्यस्तो सङ्ख्या हिसाब किताब गर्न मात्र काम लाग्ने उनको तर्क छ ।

आचार्य पनि प्रभावकारी रूपमा प्रतिपक्षीको काम गर्न सकेन भनेर काँग्रेसमाथि दबाब हुँदा पनि नेतृत्वमा ढङ्ग नपुगेको बताए ।

‘प्रभावकारी रूपमा प्रतिपक्षीको काम गर्न सकेन भनेर काँग्रेसमाथि दबाब छ । अहिले पनि खेल्न सकिरहेको छैन । त्यो पनि जगजाहेर छ ।  तर महाधिवेशन अगाउन लागेकाले केही गतिविधि भइरहेको छ । तर नेतृत्वमा ढङ्ग पुगेको छैन,’ उनले भने ।

आचार्यका अनुसार काँग्रेसले मुलुक, अहिलेको राजनीति र भूराजनीतिलाई सम्झने कुरामा छलफल र चिन्तन गरेको छैन । काँग्रेस उग्र विरोध र उग्र नाराहरुसँग आफ्नो मौलिक सिद्धान्त छोड्दै गएको छ ।

आचार्यले भने, ‘काँग्रेस मध्यमार्गी पार्टी हो । त्यसलाई बिर्सेर उग्रतातर्फ प्रवेश भइरहेको छ ।  सरकारविरुद्धको कुरा होस्, भूराजनीतिको विषमा होस् । काँग्रेस सन्तुलनमा बस्न सकिरहेको छैन । यही व्यवहार वा उग्रता प्रदर्शन गरेर फेरि पनि काँग्रेसको सभापति वा नेता हुन्छु भन्ने लागेको होला । यसले पार्टीलाई घाटा गर्छ ।’

तर काँग्रेस केन्द्रीय सदस्य एनपी साउद भने काँग्रेसको रचनात्मक दबाब र सुझावबाट सरकार नसच्चिनु दुर्भाग्य भएको बताउँछन् ।

कोरोना महामारीमा काँग्रेसले रचनात्मक रूपमा प्रभावकारी प्रतिपक्षी भूमिका निभाउँदै आएको साउदको दाबी छ ।

काँग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीप पौडल भने काँग्रेस चरणबद्ध आन्दोलनमा जानुको विकल्प नरहेको बताउँछन् ।

‘अब हामी चरणबद्ध आन्दोलनमा नजाने हो भने हाम्रो पार्टीको कुनै भूमिका हुँदैन । सडकमा अरू ब्यानर आउन थाल्यो । हामी टुलुटुलु हेरर बस्नुपरेको छ,’ उनले भने, ‘सरकारमाथि खबरदारी गर्ने काम त प्रतिपक्षीको हो । हाम्रो काम नै अरूले गरिदिएपछि अर्थ के रहन्छ ? अहिले हामीले गरिरहेको आन्दोलन प्रभावकारिता छैन ।’

पार्टीले आन्दोलनलाई प्राथमिकतामा राखेर सम्पूर्ण संरचनाको शक्तिलाई केन्द्रित गराउन नसक्दा परिणाम आउन नसकेको देखिन्छ ।

तर नेता साउदले सरकारमा बस्नेहरुको चरित्र पनि समस्याको कारण बनेको बताए ।

उनले भने, ‘प्रतिपक्षीलाई उहाँहरुले कम्युनिस्ट दृष्टिकोटबाट मात्र हेरिरहनुभएको छ । उहाँको चरित्रमा पनि यस्तो अवस्था आएको देखिन्छ । प्रतिपक्षीका सकारात्मक सुझावलाई पनि लिएर अगाडि बढ्नुपर्नेमा एकलौटी अघि बढिरहनु भएको छ ।’

त्यसैले काँग्रेसले प्रखर किसिमले बोल्नुपर्ने अवस्था आएको कुरामा साउद पनि सहमत छन् ।

काँग्रेस कोरोनाको विषयलाई लिएर राजनीति गर्ने पक्षमा नरहेको भन्दै सरकार यही तरिकाले अगाडि बढे कडा रूपमा प्रस्तुत हुन बाध्य हुने उनको भनाइ छ ।

साउदले भने, ‘सकारले प्रतिपक्षीको आवाज सुनिरहेको छैन । काँग्रेस कडा रूपमा जानुपर्ने अवस्था आयो भने सरकारका लागि गम्भीर चुनौती हुनेछ ।’

यता पौडेल भने आफूहरुले उठाउँदै आएका माग पूरा नभएसम्म आन्दोलनको मैदानबाट फर्कंदैनौँ भन्ने सन्देशसहित आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्नेमा जोड दिन्छन् ।

काँग्रेसका लागि आन्दोलन रहर नभएर बाध्यता भइसकेको पौडेलको भनाइ छ ।

उनले भने, ‘कोभिड–१९ का बेला फरक ढङ्गले आन्दोलनको योजना बनाएर हामीले कार्यकर्तालाई सुसूचित गरेर आन्दोलनका लागि तयार बनाउनुपर्छ । केन्द्रीय समिति बैठक बसेर तत्काल यी यी विषय नसच्चिएसम्म हाम्रो आन्दोलन अगाडि बढ्छ भनेर घोषणा गर्दै कार्यक्रमसहित माथिदेखि तलसम्मका नेताकार्यकर्तालाई खटाउन जरुरी छ ।’

अहिलेको परिस्थिति फरक भएकाले जनताको मुद्दा दिएर जाँदा विश्वास नगर्ने ठाउँ न नरहेको पौडलेको भनाइ छ ।

‘क्वारेन्टिनमा स्वयंसेवकबाट बलात्कार भएको कुरा छ, सरकारको त्योभन्दा ठूलो गैरजिम्मेवारी के हुन्छ ? रुकुम पश्चिममा भएको घटना दोषीमाथि कारबाही हुने कुरामा देखिएको अलमल, कोरोना सङ्क्रमतिमा त्यसको लक्षण नदेखि पुनः टेस्ट गर्ने सरकारको नीति छ, समयमा रिपोर्ट नआउँदा क्वारेन्टिनमा आत्महत्या गरिएको कुरा छ । यस्ता कुराले गर्दा विश्वास नगर्ने कुरा छैन,’ उनले भने ।

काँग्रेसको आन्दोलन सत्ता प्राप्तिका लागि नभएर जनताको मुद्दा लिने भएकाले जनताले साथ दिने उनको विश्वास छ । पछिल्लो समय संसदमा प्रावकारी भूमिका देखाउँदा काँग्रेसप्रति जनताको ध्यान केन्द्रित भएको पौडेलको दाबी छ ।

‘यतिबेला काँग्रेसले आन्दोलन नगरी नहुने अवस्था छ । काँग्रेसले आन्दोलन गर्यो भने प्रभावकारी हुन्छ । कतै पनि विकल्प नदेखेर जनताका देखिएको निराशबाट भयानक विद्रोह पैदा हुने खतरा छ । त्यसलाई रोक्नका लागि पनि काँग्रेस आन्दोलनमा जान जरुरी छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप