शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गंगा श्रेष्ठको ‘मध्यपहाडको यात्रा’ वैकल्पिक यात्रा

बिहीबार, ०४ असार २०७७, ०८ : ४७
बिहीबार, ०४ असार २०७७

पार्वती चौधरी ज्योति

म सात वर्षकी हुँदा बुवा सहिद हुनु भयो । बुबाको कमरेडहरुले मलाई काँधमा बोकेर परिवारका सबै सदस्यहरुलाई भूमिगत गरायो । कमरेडहरुले हामीलाई काँधमा बोकेर युद्ध लड्नु हुन्थ्यो । उनीहरु हाँस्दा, हामी रुँन्थ्यौ । उनीहरु रुँदा, हामी हाँस्थ्यौ । किनभने हामी अबुझ केटाकेटी थियौं । युद्धमोर्चा केटाकेटीको खेलजस्तो लाग्थ्यो ।  तर, हामी जब बुझ्ने भयौं त्यसपछि थाहा भयो कि जनयुद्ध हामीलाई खेलाउन र भुलाउने स्थल होइन रहेछ । यो त परिवर्तनको महान अभियान रहेछ । हामी दिदीबहिनी दाजुभाइ युद्ध मैदानमै हुर्कियौँ । युद्धकै आधार इलाकाहरुमा रहेका स्कूलहरु चहार्दै शिक्षादीक्षा हासिल भयो । पारिवारिक जेलनेल र यातनालयको कुरा त छँदैछ ।

पंक्तिकारले सुरुमै यतिकुरा किन भनेकी हुन् भने यो पुस्तक लकडाउनमा मेरो बौद्धिक खुराक बन्यो । विगतको जनयुद्धलाई फेरि पनि ताजा स्मरणको रुपमा ब्यूँताईदियो । यो पुस्तक पढ्दै जाँदा मुलुकमा अहिले पनि जनयुद्ध जारी छ भन्ने कुराको बोध गरायो । फरक यतिमात्र रहेछ कि हिजो हिंसात्मक युद्ध थियो, अहिले अहिंसात्मक छ । तर, हिजोको युद्धभन्दा कठिन छ, जटिल छ । सरल त पक्कै छैन । त्यसैले भन्ने गरिन्छ, इतिहास निकै निर्मम र कठोर हुन्छ । इतिहासका यस्ता थुप्रै उदाहरण ‘मध्यपहाडको यात्रा’मा समेटिएका छन् । जसले दशवर्षे जनयुद्धलाई पुनर्दृश्यको रुपमा प्रदर्शन गरिदिएको छ ।

सिन्धुलीमा जन्मेर जनयुद्धको कर्मभूमिमा हुर्केका गंगा श्रेष्ठ यतिबेला मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको महान यात्रामा छन् । त्यही यात्रा निर्माणको क्रममा जन्मेका कृति हुन् ‘मध्यपहाड यात्रा’ संस्मरण । पुस्तकमा विगत र वर्तमानको आँधिबेहरी लुकेको छ । लेखकले राष्ट्रिय एकताको योजना तर्जुमा गरेका छन् र, भनेका छन्, आन्तरिक राष्ट्रियता सुदृढ नभएसम्म मुलुक संकटमा परिरहने छ ।

यसर्थ, यो पुस्तकमा लेखकले महान जनयुद्ध लडेका छन् । राजतन्त्र फालेर गणतन्त्र ल्याएका छन् । विभेद र उत्पीडनमा परेका वर्गलाई सचेत पारेका छन् । सामाजिक असमानताका विरुद्ध उभिएका छन् । अर्थात् वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न शान्तिपूर्ण युद्ध लड्ने उ्दघोष गरेका छन् ।

किताब पढ्दापढ्दै विगत सम्झिन पुगेँ । रोचक लाग्यो । घोचक लाग्यो । बीचमै बिसाउन मन लागेन । छट्पटी त लाग्यो नै । पढ्दै जाँदा कहिले उत्साह त कहिले निराश पनि नभएको होइन । अहिलेको जीवनलाई धेरै तरिकाबाट नापेँ । विगतको जीवनलाई धेरै तरिकाबाट जोडेँ । अन्त्यमा लाग्यो जीवन त केही रहेछ ।

गंगा श्रेष्ठ नेपालको राजनीति र साहित्य क्षेत्रमा स्थापित नाम हो । धेरै चर्चा गरेर उदासिन हुन चाहदिनँ म । उहाँले पटकपटक मृत्युलाई जित्नुभएको रहेछ । थुप्रै अभाव र कष्टहरुसँग जुध्नुभएको रहेछ । सामाजिक सांस्कृतिक क्रान्ति गर्नुभएको रहेछ । उहाँ कहिल्यै हारेको मान्छे होइन, सधै जितेको कुशल मान्छे हो । हारेको त्यो हो जो गंगाहरुको पछाडि रहेर परिवर्तनका विरुद्ध जीवन बर्बाद पारे । र, समयको दुरुपयोग गरे ।

पुस्तकको जीवनको सुरुवात पूर्वको चिवा भञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्म हुन्छ । त्यसपछि मध्य लोकमार्गसँग जोडिएका विभिन्न जिल्ला तथा महत्त्वपूर्ण ठाउँहरु पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, डोटी आदिसँग साक्षात हुन्छ । त्यहाँका बाटोघाटो, प्राकृतिक सौन्दर्य, नागरिकको जीवन लगायतकाहरुसँग मितेरी लाग्छ । यात्राको क्रममा देखे–भोगेका हरेक कुरालाई शब्द, शब्दमा सुक्ष्म र सरल तरिकाले लेखकले वर्णन गरेका छन् । पुस्तकमा लेखकले जनयुद्धको विभिन्न घटना, परिघटना, विद्यार्थी जीवनदेखिको राजनीतिक यात्रा, जेलनेलका पीडाहरुलाई पनि समेट्न छाडेको छैन । वर्तमानमा मुलुकको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक संकट र ऐतिहासिक पक्षहरुलाई पनि शब्दमा उनेका छन् । यसले पुस्तकको ऐतिहासिकता बढेर गएको छ ।

विगत सशस्त्र आन्दोलनको क्रममा जनताको घरदैलोमा पुगेर लेखकले जसरी समय काटेका थिए, त्यसलाई पुनः सम्झेका छन् । जनताको घरदैलोमा खाएको सिस्नु, गुन्द्रुक र ढिँडो आदिलाई मजाले सम्झेका छन् । नयाँ वैकल्पिक राजनीतिक शक्ति प्राप्तिको अभियानमा डटेर लागेका डाक्टर बाबुराम भट्टराईलाई पटकपटक सम्झेका छन् । आफ्नो टिममा रहेका र अभियानमा रहेका अभियन्ताहरुसँगको सम्वादहरुलाई पनि रोचक ढंगले व्यक्त गरेका छन् । यात्राको क्रममा प्राकृतिक सुन्दरतासँग रमाएका क्षणलाई मिठो तरिकाले पस्केका छन् । दिनभरको यात्रा र कार्यक्रमहरु तथा रातको थकित निन्द्रासँग खेलेको पौठेजोरीलाई त झन् मजाले सम्झेका छन् ।

दश वर्ष जनयुद्धले प्राप्त गरेको गणतन्त्र र वर्तमानमा मुलुकको सामाजिक, आर्थिक र राजनीतिक आश्यकतामाथि यो पुस्तक गहिरो चिन्तनको दस्तावेज हो । मुलुकको विविधतायुक्त सामाजिक संरचनाको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षको औचित्य, आवश्यकता र परिवर्तनलाई दह्रो ढंगले लेखेकले उठाएका छन् । लेखकले आफूलाई भ्याएसम्म सम्झेर लेख्न कुनै कसर राखेको छैन । त्यसैले यो पुस्तक साँचो अर्थमा वैकल्पिक राजनीतिक यात्रा निर्माणमा कोसेढुंगा सावित भएको छ ।

गंगा श्रेष्ठको यो एघारौं कृति सांग्रिला बुक्सले प्रकाशन गरेका हो । २१९ पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ छ । समग्रमा यो पुस्तक यात्रा संस्मरणको रुपमा रहे पनि मुलुकको विगत र वर्तमानको परिवर्तनको औचित्य र आवश्यकता बुझ्नेहरुका लागि समुन्द्र हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप