केन्द्रीय संस्करण

युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन सक्षम छौंः भारतीय प्रधानमन्त्री मोदी

person explore access_timeअसार ३, २०७७ chat_bubble_outline0
file photo

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छिमेकी मुलुक चीनसँग शान्ति चाहन्छ भन्दै सीमामा युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन भारत सक्षम रहेको प्रतिक्रिया दिएका छन् । लद्दाखस्थित भारत–चीन सीमावर्ती गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको गोलाबारीमा २० जना भारतीय सैनिकको मृत्यु भएको सम्बन्धमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले उक्त कुरा बताएका हुन् ।

कोरोनाभाइरसका कारण भारतमा जारी लकडाउनमा सहजीकरण गर्ने बारेमा राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गर्नुअघि प्रधानमन्त्री मोदीले सीमाक्षेत्रमा भएको घटनाका बारेमा राज्यका मुख्यमन्त्रीहरुलाई जानकारी गराएका हुन् ।

उनले भने– ‘हामीले मानव कल्याणका लागि प्रार्थना गरेका छौं । हामीले छिमेकी मुलुकहरुसँग सदैब मित्रवत र सहयोगात्मक ढंगबाट कार्य गरिरहेका छौं । हामीबीच कुनै मतभेद भए त्यसले विवादको रुप नलिओस् भन्ने हामीले प्रयास गरेका छौं । हामी कहिल्यै कसैलाई उक्साउने कार्य गर्दैनौं । तर हामी मुलुकको अखण्डता र सम्प्रभुतामाथि कुनै किसिमको सम्झौता गर्दैनौं । हामीले आफ्नो मुलुकको अखण्डता र सम्प्रभुताको संरक्षणमा आवश्यक परेको अवस्थामा सम्पूर्ण शक्ति लगाएका छौं ।’

प्रधानमन्त्री मोदीले भारतीय सेनाले गरेको बलिदान खेर जान नदिने बताए । उनले भने– ‘हाम्रा लागि मुलुकको एकता र अखण्डता सबैभन्दा महत्वपूर्ण छ । कसैले पनि हाम्रो मुलुकको सुरक्षा गर्नबाट रोक्न सक्दैन । भारत शान्ति चाहन्छ तर उक्साउने कार्य भएमा जस्तोसुकै जवाफ दिन सक्षम रहेको छ ।’

प्रधानमन्त्रीको सम्बोधनका क्रममा गृहमन्त्री अमित शाह र १५ वटा राज्यका मुख्यमन्त्रीहरुको उपस्थिति थियो । उक्त कार्यक्रम हुनुअघि सीमामा मारिएका सैनिकको सम्मानमा दुई मिनेट मौनधारण गरिएको थियो । लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कर्णेलसहित कम्तीमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । उक्त भिडन्तमा चिनियाँ सेनातर्फ भएको क्षतिका बारेमा केही बताइएको छैन ।  यसैबीच, गलवान उपत्यकामा भएको तनाबलाई लिएर चिनियाँ र भारतीय विदेशमन्त्रीबीच टेलिफोनमा सम्बाद भएको छ ।–एएनआई

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.