शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हवाई टिकट लिइसकेका नेपाली भन्छन् : घर जाने आशै मर्‍यो

बुधबार, ०३ असार २०७७, १२ : ५८
बुधबार, ०३ असार २०७७

 युएई । विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन ‘उद्धार' उडानका नाममा तय भएका चार्टर फ्लाइटहरु एकाएक रद्ध हुन थालेपछि यूएईमा टिकट लिएर बसेका नेपालीहरु तनावमा परेका छन्।

प्राथमिकताको आधारमा दूतावासको सूचीमा नाम परेकाहरुले पैसाको जोहो गरेरै भएपनि नियमित तिर्दै आएको भाडादर भन्दा दोब्बर तिरेर हवाई टिकट लिएर बसेका हुन्।  उडान हुने आशामा बसेका उनीहरु तोकिएको समयमा उडान नभएपछि निराश बनेका हुन्।

अन्य कुरा यथावत रहेको थियो भने हिजो बिहान ११ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको उद्धार विमानले युएईको दुबईबाट नेपालको लागि उडान भर्थ्यो । किनकी यूएईबाट नेपालीको उद्धारका लागि हिजो उडान तालिका तय भएको थियो।तर नेपाली दूतावास आबुधाबीले सोमबार सूचना निकालेर असार २ र ४ मा हुने भनिएको उडान स्थगन गर्यो‍।

कोरोना भाइरस कोभिड-१९ का युएईमा लामो समयदेखि बेरोजगार बनेका सिराहाका निरन कुमार यादव नेपाल फर्कन पाउने खुशीले गदगद् भए।किनकी उनको नाम दूतावासको नेपाल फर्कने प्राथमिकताको आधारमा पहिलो सूचीमा थियो। 

दूतावासले हवाई टिकट लिन भनेपछि उनले सधै तिर्दै आएकोभन्दा दोब्बर १३ सय २० दिर्हाम अर्थात करिब(४२ हजार रुपैयाँ)शुल्क तिरेर हवाई टिकट लिए।कोरोनाको कहरमाझ घर फिर्ने ध्याउन्नमा लागिपरे।युएई बसाई उनको हिजो अन्तिम दिन थियो। तर एकाएक उद्वार फ्लाइट रद्व भयो। उनको नेपाल जाने चाहना पूरा हुन सकेन ।

कोरोना कहरकै माझ नेपाल जान ट्याक्सी चढेर एयरपोर्ट गएका बहरदशी-५ झापाका नेत्र बहादुर कार्की बीच बाटो बाटै फर्किए।आमाको मृत्य भएको महिनौं दिन बितिसक्दा पनि उनि नेपाल फर्कन पाएनन्। उनी आफैमा पेटको अल्सर बिरामी हुन्।उनलाई प्राथमिकताको आधारमा दूतावासले तयार गरेको सूचीमा नाम परेको भन्दै टिकट लिन दूतावासले बतायो।आफ्ना चिनजानको साथी मार्फत नेपाल एयरलाइन्सको दुबईस्थित एजेन्सीमा १६ सय ५० दिर्हाम करिब (५२ हजार रुपियाँ)मा हवाई टिकट लिए।तर उनको नेपाल जाने साइत बीच बाटोमै तुहियो।

लामो समयको पछि नेपाल जान पाएकोमा निकै फुरुङ्ग भइन्,सिन्धुपाल्चोककी उर्मिला तामाङ। २ हप्ता क्वारेन्टिनमा बसेर भएपनि आफ्नो नाै वर्षीय बिरामी छोरो भेट्न हतारमा थिइन्, उनी।आफू पनि पाठेघरको समस्याले गत ४ महिनादेखि बिना जागिर कम्पनीकै रूममा बस्दै आएकी थिइन्।उनले नेपाली दूतावास यूएईले तोकेको मापदण्ड अनुसार घर फर्कने फारममा नाम टिपाइन्।दूतावासको सूचीमा उनको नाम परेको थियो। दूतावासले भनेअनुसार साथीभाइसँग सापटी लिएर जेनतेन टिकट लिइन्। एयरलाइन्सबाट फोन आयो।तालिका अनुसारको फ्लाइट क्यान्सिल भो, उनि तनावमा परिन्।महिनौं देखि उनको घर जाने र छोरालाइ भेट्ने विश्वास तत्काललाई छिनभरमै टुट्यो।

अलपत्र नेपाली कामदारको उद्धारमा असारको २ गते नेपाल वायुसेवा यूएईको दुबईमा उत्रने सूचना आउनासाथै यूएईमा रोजगारी र भिसा अवधि सकिएर बिचल्ली परेका नुवाकोटका रामजी सिग्देलसहित उनीसँगै एउटै कम्पनीमा रहेका झण्डै ७० जना नेपाली कामदारहरु खुसीले नाचे।
प्राथमिकतामा आफ्नो नाम नपरेपनि सरकारले गरेको निर्णयले ढिलो चाँडो नेपाल फर्किने आशामा उनीहरु थिए। तर, दिनहरु बित्दै गए, घर फिर्ने टुंगो लागेन। बरु दूतावासबाट अर्को सूचना आयो, प्राविधिक कारणले असार २ गते हुने भनिएको हवाई उडान अर्को सूचना जारी नहुँदासम्मको लागि रद्व भयो। ‘घर न घाटको जीवन बेहोरिरहेका उनिीरुको खुशी केही दिनमै टुट्यो।उनीहरु भन्छन्,अब त घर जाने आशै मर्यो।

पाँच महिना अघि बैवाहिक बन्दनमा बाँधिएर रोजगारीका लागि फर्किएकी झापाकी सरु राई(नाम परिवर्तन) ले  गर्भवती भएको यूएई आएपछि थाहा पाइन्।नेपाल फर्कने तयारी गर्दै गर्दा उडान बन्द भयो।

उनी यूएईमा नै अड्किन्।नेपाल सरकारको मापदण्ड अनुसार उनको नाम दूतावासको पहिलो सूचीमा आयो ।नेपालमा फिर्ता गर्ने शर्तमा साथीभाईसँग टिकट काट्ने पैसा जोहो गरिन्। दूतावासले हवाई टिकट लिन भनेपछि उनले सधै तिर्दै आएकोभन्दा दोब्बर १३ सय २० दिर्हाम अर्थात करिब(४२ हजार रुपियाँ)शुल्क तिरेर हवाई टिकट लिईन्।तर उडान रद्व भयो।उनी यता न उता भएकी छिन्। उनि २८ हप्ते गर्भवती छिन्।

यी माथिका केही प्रतिनिधि पात्र मात्रै हुन्।अहिले वैदेशिक रोजगारीमा रहेका हजारौं नेपाली स्वदेश फर्कने दिन कुरिरहेका छन्। हवाई टिकट लिएर नेपाल फर्कन लागेका कयौं नेपालीहरु अहिले एता न उता भएका छन्।
सरकारले तोकेको समयमा उडान नहुँदा उनीहरुको स्वदेश फर्कने टुंगो नभएको हो। उद्वारको नाममा सरकारले किस्ता किस्तामा घटाएको भाडादरले आजित भएका उनीहरु आफ्नै पैसाले टिकट लिँदापनि स्वदेश फर्कन नपाएकोमा दुखी छन्।

सरकारको उद्वारको नाममा आफैले पैसा तिरेरपनि स्वदेश फर्कन नपाएको भन्दै यूएईका पीडितले आक्रोश व्यक्त गरेका छन्।आफ्ना नागरिक विदेशमा अलपत्र पर्दा उद्वार गर्नु सरकारको जिम्मेवारी हो। यस्तो विपतको घडीमा सरकारले उद्वार गर्नु पर्ने साटो आफैले खर्च गरेर पनि आफ्नो देश फर्कन नपाउनु दुर्भाग्य भएको पीडितहरु बताउँन्।

यता सर्वोच्च अदालतले विदेशमा समस्यामा परेर आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी उद्धार गर्न  सरकारलाई आदेश दिएको छ।
विदेशमा समस्यामा परेका नेपालीमध्येमा पनि श्रम स्वीकृति लिई रोजगारीमा गएका,करारको अवधि नपुगी फर्कनुपर्ने अवस्थामा रहेर अलपत्र परेका,रोजगारदाताले टिकट नदिने र आफैंले टिकट काट्न नसक्ने अवस्थाका श्रमिकलाई कल्याणकारी कोषको रकम खर्च गरी स्वदेश फर्काउनु पर्ने सर्वोच्चले आदेश दिएको हो। 

पछिल्लो समय कोरोना भाइरसका कारण यूएईमा हजारौं नेपाली कामदारहरुको जागिर गुमेको छ। दूतावासको तथ्याङ्क हेर्दा कुल कामदार मध्य १० प्रतिशत नेपाली नेपाल फर्कन चाहन्छन्।हाल सम्म दूतावासमा नेपाल फर्कन चाहने नेपालीको संख्या ३० हजारको हाराहारीमा छ।यो संख्या अझै बढ्ने देखिन्छ। 

यूएईबाट जुन १६ र १८ नेपाल एयरलाइन्स दुबई र जुन २० र २३ मा आबुधावीबाट हिमालयन एयरलाइन्स उड्ने तालिका सार्वजनिक भएको थियो। तर प्राविधिक कारणले भन्दै  जुन १६ र १८ मा हुने भनिएको उडान रद्व भएकाे हाे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप