विकासमा युवा उद्यमशीलताको भूमिका
-गोपाल खनाल
देश नागरिकको साझा घर हो । भौगोलिक रूपमा सीमाबद्ध परिधि हो देश । विकास उन्नति, प्रगतिको पर्याय हो । युवा देशका संवाहक हुन् भने उद्यमशीलताले कुनै पेसा व्यवसायलाई सङ्केत गर्दछ । १८–४० वर्ष उमेर समूहका व्यक्ति युवा अन्तर्गत पर्दछन् । राष्ट्रका अमूल्य सम्पत्ति, वर्तमानका साझेदार युवा भविष्यका भरोसा समेत हुन् । मनभरी साहस, आँट, धैर्यता, चेतना, पुरुषार्थ रहेका युवाशक्ति नै देश निर्माणका बलिया आधार स्तम्भ हुन् । सचेत युवा शक्ति जोस, जाँगरले जुर्मुराएर उद्यममा लागे नै समृद्ध राष्ट्र निर्माण हुन सक्छ ।
देशमा कूल जनसङ्ख्याको करिब ४० प्रतिशत युवा छन् । बाँकी ६० प्रतिशत बालबालिका र वृद्धवृद्धाको आड भरोसा मात्र होइनन् युवा देशलाई अग्रगतिमा विकास पथमा लम्काउने जिम्मेवारी समेत यिनमा छ । नेपालका सन्दर्भमा युवाहरुलाई विद्रोहको साधन मात्र बनाएर भ्रष्ट मानसिकताले शासन ग¥यो । हरेक आन्दोलनको रणभूमिमा युवालाई नै प्रयोग गरियो अनि गरिँदै छ । अव्यावहारिक र अवैज्ञानिक शिक्षा पद्धतिका कारण शिक्षाका नाममा बेरोजगारीको प्रमाणपत्र मात्र भिराइँदा आजका युवामा निरासा बढ्दै छ ।
युवाहरु कामको खोजीमा विदेश पलायन हुने क्रम बढ्दो छ । वैदेशिक रोजगारीलाई विकल्प बनाएर स्वदेशका सुन फल्ने फाँटहरु बाँझै छाड्नु कत्तिको बुद्धिमता होला, एक पटक सोचौँ ? बेरोजगारी समस्याको विकल्प विदेश पलायन होइन स्वदेशमै रोजगारीको सिर्जना हो, उद्यमशीलता हो भन्ने कुरा बुझ्न अब ढिला गर्नु हुँदैन । सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रूपमा विकसित हुने अवसर सिर्जना गरिदिने दायित्व राज्यको हो । राज्यले युवाहरुलाई बेवास्ता गरी बनाएका नीति नियमले देश विकासको रेखा कोर्दैन । युवाशक्तिमा देश र नेतृत्व वर्गप्रति वितृष्णा पैदा भए फेरि हतियार उठ्न सक्छ, देश युद्धमा फस्न सक्छ त्यसको परिणाम हामीले भोगिसकेका छौँ नै । त्यसैले नेतृत्व वर्गले समयमै यसबारे विचार गर्न ढिलो गर्नु हुँदैन ।
आँधीहुरी, सुनामी, बाढी पहिरो लगायत जस्तोसुकै खतराको वास्ता नगरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हिजोका युवाले ज्यानको बाजी राखेर कर्म नगरेको भए हामी र हाम्रो समाज यो अवस्थामा आइपुग्ने थिएन । युवाहरुकै पहलकदमी मानसिकताले कल्पनाले सार्थकता पाएको हो । हिजोका युवाहरुले हामी र हाम्रो देशका निम्ति हाँसीहाँसी फाँसीमा चढ्न तयार नभएको भए आज हामी स्वाधीन र स्वतन्त्र भएर बाँच्न पाउने थिएनौँ । आज हामी पुर्खाको त्याग, तपस्या र बलिदान भुलेर केबल स्वार्थमा तल्लीन भयौँ भने सहिदका आँसुले पोल्ने छ हामीलाई । धिक्कार्ने छ इतिहासले, सराप्ने छन् भावी पुस्ताले पनि । स्वाबलम्बी बनेर पराश्रित हुन छोड्नु छ हामीले । आफ्नै पाखुराको आधार र आफ्नै पैतालाको संसार निर्माण गर्नु छ । अरूमै दोषारोपण गरेर आफू पानीमाथिको ओभानो बन्न खोन्नु हुँदैन अब । नेतृत्व वर्गका कमी कमजोरीमा खबरीदारी गर्दै सुधार्न दबाब दिनु छ युवा जमातले । अन्धभक्त बनेर कसैका पछि नलागी असल र खराब, सत् अनि असल पहिचान तरेर विवेक पु¥याउनु छ, बेलैमा पछि पछुताउनुभन्दा ।
विविधतायुक्त हाम्रो मुलुक अनेक सम्भावनाको अपार खानी हो । स्रोतको उचित परिचालन गरेर कर्म गरे फलाउन सकिन्छ आफ्नै आँगनमा सुन । देशले के दियो ? भनेर प्रश्न मात्र नगरी मैले देशका लागि के गरँे ? भनेर आफैँलाई सोध्ने हो भने पनि कयौँ प्रश्न अनुत्तरित बन्दैनन् । सजाउन लाग्नु छ अब आफ्ना सिर्जनाले मुलुकको मुहार र गतिलो झापड हान्नु छ नेपाली युवाको अपमान गर्नेहरुलाई । अगाडि आइपरेका समस्याहरुसँग डराएर केबल धर्तीको बोझ बनेर बाँच्नु र मर्नुको कुनै अर्थ रहँदैन ।
हामी झरेर पनि फुल्ने र मरेर पनि बाँच्ने गरी मर्नु छ । दुःखमा धैर्य गरेर समस्याको समाधान गर्न सके मात्र मानव भएर बाँच्नुको सार्थकता भेट्न सकिन्छ । युवाहरु क्षणिक सुख सयल र मनोरञ्जनमा भुलेर मोजमस्तीमा समय बिताउने हो भने समाजमा सुशासन कसरी स्थापित होला र ? पुराना मूल्य मान्यतालाई तोड्दै नवमूल्य मान्यता स्थापित गरी विकृति रहित संस्कार जोगाउनु छ । युवाहरु अब अरुले गरिदेला र म खाउँला भनेर बस्ने बेला छैन । यदि यस्तै सोचले चुप बसे विकास आकासको फल आँखा तरी मर भन्ने उखान जस्तै हुने कुरालाई नकार्न सकिँदैन । युवाहरुमा शरीरमा तागत र स्फूर्ति मात्र हुँदैन उनीहरुमा कुन काम कसरी गर्ने भन्ने नवीन सोच समेत हुन्छ । युवाहरुको सकारात्मक सोचले नै विकास सम्भव छ, अग्रजबाट सल्लाह लिएर आधुनिक प्रविधिको प्रयोगले काम गरे हरेक काममा सफल हुन सकिन्छ ।
हामीसँग केही कुराको कमी छैन । उद्यमशीलताका लागि खाँचो छ भने केवल उद्यमशील सोचको । सरकारले पनि उद्यम गर्न चाहनेका लागि सस्तो र सरल कर्जा प्रवाह गर्ने नीति लिएको छ । खाली दिमागमा सैतानको बास हुने भएकाले युवाहरु उद्यमशील भए उनीहरुमा नकारात्मक सोच आउन पाउँदैन । खाएर काम नगरे पापी बनिने साथै उद्यम बिना जसले समय बिताउँछ ऊ ज्यूँदै मरे समान हुन्छ भनेर शास्त्रहरुमा समेत भनिएको छ । ‘जित्नेहरु कुनै फरक काम गर्दैनन् उनीहरु हरेक काम फरक किसिमले गर्छन्’ भनेर शिव खेडाले भनेका छन् । त्यसैले फरक ढङ्गले काम गर्नुपर्छ ।
विश्वमा विकासको अग्रगतिमा रहेका चीन, जापान, अमेरिका जस्ता मुलुकहरु पनि युवा उद्यमशीलताकै कारण यो स्थितिमा पुग्न सफल भएका हुन् । युवामा काम गर्ने जोससँगै नवीन सोच र स्मृति क्षमता समेत हुन्छ । युवाहरुले चाहे पहाडलाई मैदान र मैदानलाई पहाड बनाउन सक्छन् । मरुभूमिलाई हराभरा पार्न अनि समुद्रमा बस्ती बसाल्न सक्छन् । युवाहरु अशक्तहरुका आशा भरोसाका मूल हुन्, सृष्टि सौन्दर्यका खानी र फर्केका फूल हुन् । देशको धुकधुकी धान्ने पसिना रक्त हुन् । युवाले नआँटे देश बन्दैन त्यसैले आँटका भक्त हुन् । यस किसिमले हरेक दृष्टिकोणले हेर्दा देश विकासमा युवा उद्यमशीलताको अतुलनीय भूमिका रहने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
हामीले पनि एमालेले जस्तै सडकमा मञ्च बनाएर सभा गर्न पाउनुपर्छ : प्रभु साह
-
५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा पक्राउ