शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ काँग्रेस संसदीय दलको प्रधानमन्त्रीसँग १० बुँदे माग

मङ्गलबार, ०२ असार २०७७, १९ : २०
मङ्गलबार, ०२ असार २०७७

बुटवल । नेपाली काँग्रेसले कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न क्वारेन्टिनमा बसेका सबै नागरिकको पीसीआर परीक्षण गर्नुपर्ने लगायत १० बुँदे मागसहितको ध्यानाकर्षणपत्र सरकारलाई बुझाएको छ । नेपाली कांग्रेस, प्रदेशसभा संसदीय दलका कार्यवाहक नेता बीरेन्द्रकुमार कनौडियाले मंगलबार प्रदेश ५ का मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

प्रदेश ५ कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै काँग्रेसले आरडीडीको साटो क्वारेन्टाइनमा राखिएका सबैको पीसीआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ । काँग्रेसले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र सञ्चालन गर्न, महिला र पुरुषलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गर्न, नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी र एम्बुलेन्सको अनिवार्य व्यवस्था गर्न माग गरेको छ । 

पत्रमा कोरोना संक्रमितको उपचारका लागि कोरोना विशेष अस्पताललाई आवश्यक उपकरण, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड, जनशक्तिको व्यवस्था अविलम्व गर्न र अन्य रोगका बिरामीले पनि  विना अवरोध उपचार पाउने सुनिश्चिता गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 

त्यस्तै विदेशमा विचल्लीमा परी घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गर्न र विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन पनि कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

कोरोना महामारीको विपद्ले खाद्य अभाव भई भोकमरीको संकट आउन सक्ने खतरा औंल्याउँदै काँग्रेसले किसानलाई समयमै बीउ, विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्याउन समेत सरकारसँग माग गरेको छ ।

प्रदेश सरकार गठन भएको साढे २ वर्ष बितिसक्दा पनि सरकारले नामाकरण र स्थायी राजधानी तोक्ने कार्यको प्रक्रिया अघि नबढाएको भन्दै काँग्रेस संसदीय दलले तत्काल प्रक्रिया अघि बढाउन पनि माग गरेको छ ।  कोभिड–१९ विरुद्धको लडाईमा नेपाली काँग्रेस सरकारको साथमा रहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र हमालले मुख्यमन्त्री शंकर पोखरेलमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका कार्यवाहक नेता कनौडियाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप