शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको लकडाउन सुविधा असार ७ सम्म, ८ गतेबाट बिलम्ब शुल्क लाग्ने

मङ्गलबार, ०२ असार २०७७, १७ : ४८
मङ्गलबार, ०२ असार २०७७

काठमाडौं– कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी गरेको व्यवस्था असार ७ गतेसम्म लागु हुने भएको छ । असार ८ गतेबाट टेलिकमले पुरानै महशुलअनुसारको व्यवस्था लागु गर्ने जनाएको छ ।

कम्पनीले आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि भने यस्ता महशुलमा नियमानुसार बिलम्ब शुल्क लागु हुनेछ ।

यसैगरी, जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर (पे एज यू गो)मा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागु हुनेछ । 

नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहने छ । 

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच मिति २०७४ बैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौता अनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो । ती स्थानहरुलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरुमा २०७६ चैत्र २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुनेगरी पुनः २ महिना निस्शुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।  

यसैगरी, कम्पनीले एफटीटीएच सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट शुरु गरेको छ । एउटै लाइनबाट फोन, डाटा र टिभी सेवा समेत उपलब्ध गराउन सकिने एफटीटीएच सेवाको मर्मत सम्बन्धी सिकायतका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये ४ नम्बर थिची बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिधै अप्रेटरलाई गुनासो टिपाउन सकिने छ । 

लकडाउनको अवधिमा कम्पनीका भ्वाइस र डाटा सेवाप्रति ग्राहकहरुको आकर्षण र सोही अनुसार उपयोगमा वृद्धि भएको तथा हाल एफटिटीएच सेवामार्फत उपलब्ध हुने डाटा सेवाको मागमा समेत वृद्धि भइरहेको अवस्थामा सो सेवाको गुनासो व्यवस्थापनबाट ग्राहकहरु थप लाभान्वित हुने विश्वास टेलिकमको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप