बन्दाबन्दी खुकुलोसँगै आँखाको उपचार गर्ने बढे
–सञ्चिता घिमिरे
काठमाडौं । सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै तिलगङ्गा आँखा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढ्न थालेको छ । गत सातासम्म दैनिक १५० जनाको हाराहारीमा अस्पताल आउने गरेकामा यो सङ्ख्या अहिले २५० पुगेको छ । बन्दाबन्दीले यातायात साधनको अभावमा धेरै जना अस्पताल आउन नसकेपनि अहिले निजी सवारीसाधन खुुलेकाले अस्पतालमा आउनेको सङ्ख्या बढेको अस्पताल निर्देशक डा रोहित सैँजुले बताए । अस्पतालले अपेक्षा गरेअनुसार भने सङ्ख्या बढिसकेको छैन । उपत्यकामा पनि आफ्नो साधन नभएकाहरु आउन सकेका छैनन् । उनले भने–‘अहिलेसम्म जटिल अवस्थाका बिरामी मात्रै आइरहेका छन् ।’
सामान्य अवस्थामा काठमाडौँ उपत्यका भन्दा बाहिरबाट बढी बिरामी आउने गरेका थिए । अहिले बाहिरबाट आउन नसकेकाले बिरामी कम भएको हुनसक्ने निर्देशक सैँजुले बताए । उपत्यका बाहिरबाट जटिल अवस्थाका बिरामी एम्बुसलेन्सबाट आइरहेका छन् । सामान्य अवस्थामा सबैभन्दा बढी तराईबाट बिरामी आउँथे । उनले भने– ‘तराईमा जनसङ्ख्या बढी भएकाले होला बिरामी पनि त्यहीबाट आउने गरेका छन् ।’ अस्पतालले बन्दाबन्दीमा यहाँ कार्यरत २० विशेषज्ञको टेलिफोन नम्बर उपलब्ध गराएको छ । कुनै बिरामीले पहिले समस्या हुँदा सोही नम्बरमा सम्पर्क गरेर सम्पर्क गरिरहेको निर्देशक डा.सैजुले बताए । कतिपय बिरामीले पहिले औषधि खाइरहेकामा त्यसलाई थप गर्ने कि नगर्ने भनी टेलिफोनबाट सल्लाह दिइने उनले बताए । उनले भने– ‘अहिले पनि आठदेखि १० जनाले टेलिफोनबाटै परामर्श लिइरहेका छन् ।’
अस्पतालमा बन्दाबन्दीको समयमा शल्यक्रिया गरेर ‘फलो अप’ का बिरामी वा अकस्मात कुनै समस्या आइपरेका बिरामी आउने गरेका थिए । बन्दाबन्दी शुरु हुनासाथ परिवार नै आँखा जचाँउन आउँदा अस्पतालमा भीडभाड भएको निर्देशक डा.सैँजुले बताए । सबैको बिदाको समय भएकाले त्यसको सदुपयोग गरेर आँखा जचाँउन आउने धेरै थिए । कोभिड–१९ सङ्क्रमण फैलिने हुनाले अस्पतालले यसलाई कम गरेको उनले बताए । उनले भने– ‘लकडाउन थपिरहँदा बिरामीको सङ्ख्या घटेको थियो ।’
सामान्य अवस्थामा अस्पतालमा दैनिक ६० देखि एक सय जनासम्मको शल्यक्रिया हुन्छ । अहिले त्यो सङ्ख्या पाँच छ जना मात्रै रहेको छ । टेलिफोनबाट समस्या सुनेर सल्लाह दिँदा चिकित्सकले अति आवश्यक हुँदा अस्पतालमा बोलाउने तर कुनै समस्या सुन्दा त्यो सामान्य समस्या भएमा नजिकैका औषधि पसलमा गएर औषधि किनेर प्रयोग गर्न भन्ने गरेको छ । अस्पतालले नयाँ बिरामीको समस्या सुनेर अस्पताल आउनपर्ने वा नपर्ने सल्लाह दिने गरेको छ भने पुराना बिरामीको अस्पतालमा रहेको विवरणबाट उसको पहिलेको समस्याका बारेमा बुझ्ने गरेको छ ।
बिरामी गेटबाट प्रवेश गर्नासाथ सामान्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । बिरामीको विवरण सोध्दा शङ्का लागेका व्यक्तिलाई उसको तापक्रम हेर्ने र मास्क नलगाएको व्यक्तिलाई मास्क लगाएर र सेनिटाइजरले हात सफा गरेर मात्रै प्रवेश गराइन्छ । यदि कुनै व्यक्तिमा कोभिड–१९ को शङ्का लागेमा उसलाई नजिकैको कोभिड क्लिनिक पठाइन्छ । अस्पतालले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल वा सिनामङ्लस्थित काठमाडौँ मोडल अस्पतालमा पठाउने व्यवस्था मिलाएको छ । आवश्यक दूरी कायम गरेर उपचार सेवा प्रदान गरिएको छ । कोरोना भाइरस आँखाबाट पनि सर्ने भएकाले विशेषज्ञलगायतका स्वास्थ्यकर्मीले आवश्यक सावधानी अपनाउन आवश्यक रहेको छ । अस्पतालको क्षेत्रफल ठूलो भएकाले भित्र सामाजिक दूरी कायम गराउन कठीन छैन ।
उनले भने– ‘अबको केही समय यसबाट स्वास्थ्यकर्मीलगायत कर्मचारी सुरक्षित भएर काम गर्नुपर्ने अवस्था छ ।’ बिरामीको चाप कम भएकाले आवश्यक सङ्ख्यामा मात्रै कर्मचारी आउँछन् । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ गर्ने व्यक्तिसमेत आवश्यकताअनसार आइरहेका छन् । बन्दाबन्दीको केही सातासम्म पनि पिपिई नपाएको अस्पतालले अहिले भने पाइसकेको छ । राष्ट्रिय आविष्कार केन्द्रले अस्पताललाई पिपिई उपलब्ध गराएको थियो । बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकाका अस्पतालमा बिरामीको चाप बढिरहेको छ । निजी सवारी चल्दा उपत्यकावासीलाई उपचारमा सजिलो भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन