शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुसका नाममा विष उत्पादन गर्ने दुगडलाई के हुन्छ कारवाही ?

बिहीबार, २२ भदौ २०७४, १४ : ४८
बिहीबार, २२ भदौ २०७४

काठमाडौं–मुलुककै प्रतिष्ठित औद्योगिक घरनाको कम्पनीले बदमासी गरेको समाचार अहिले सर्वत्र छाएको छ । खाद्य तथा पेय पदार्थ उत्पादक त्यो कम्पनीले मानव स्वास्थ्यलाई गम्भिर असर पार्ने अखाद्य वस्तुको सञ्चय गरेर त्यहिँवाट उत्पादन गर्ने गरेको प्रमाण भेटिएपछि चर्चा हुनु स्वाभाविकै हो । 

प्रसंग हो, भर्खरै मात्र दुगड फ्रुट एण्ड वेभरेज प्रालिले आफ्नो उत्पादन फ्रुटी बनाउन प्रयोग हुने सयौं किलो कच्चा पदार्थ म्याद गुज्रिएको अवस्थामा फेला पर्यो । कम्पनीको संतुगलस्थित गोदाममा महानगरीय अपराध महाशाखाले छापा मार्दा यो तथ्य भेटिएको थियो । कम्पनीले उत्पादन गर्ने फ्रुटी नामक जुस बनाउन प्रयोग गरिने पदार्थ ‘टाटापुरी म्याङ्गो पल्प’ मिति गुज्रेको अवस्थामा भेटिएको थियो । 

महाशाखाले छापा मार्दा कम्पनीको गोदाममा झण्डै ४ सय ड्रम मिति गुज्रेको म्याङ्गो पल्प भेटिएको थियो । प्रतिड्रम २ सय २३ केजी तौलको हुने उक्त ड्रममा रहेको पहेलो लेदोबाट नै फ्रुटी बनाइने गरिएको थियो । त्यो ड्रममा रहेको पदार्थ सवै मिति गुज्रेको अवस्थामा थियो भने त्यसैलाई फ्रुटी बनाउन कम्पनीले प्रयोग गरिरहेको थियो । 

गत असारमा पनि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयुक्त अनुगमन टोलीले दुगडको गोदाममा यस्तै लापरवाही भेटिएपछि सिलबन्दी गरेको थियो । सर्वसाधरणको गुनासोका आधारमा टोलीले उद्योगमा अनुगमन गर्दा फ्रुटीमा अखाद्य केमिकल पदार्थ भेटेको थियो । 

यसवाट नै प्रस्ट भसकेको छ की दुगडले आफ्नो कम्पनीको नाम र पहुँचका आधारमा पटक पटक मानव स्वास्थ्यमाथि खेलवाड गरिरहेको भएपनि उम्कदै आइरहेको छ । दुगडको यो लापरवाही र उपभोक्ता माथिको खेलवाड पटक पटक सतहमा आइहन्छ । तर, यो कम्पनीलाई अहिलेसम्म कस्तो कारवाही भयो वा कारवाही गर्न सम्वन्धित निकाय असमर्थ भयो ? त्यसको जवाफ अहिलेसम्म उपभोक्ताले सुन्न पाएका छैनन् । 

मानव स्वास्थ्यमा गम्भिर असर मात्र नभएर खाद्य पदार्थको नाममा ‘बिष’ उत्पादन र विक्रि गरिरहेको दुगडलाई यो पटक कस्तो कारवाही हुन्छ ? मुलुकको प्रचलित कानुनले उसलाई छुन्छ की छुदैन ? यो पनि अहिले चर्चाकै बिषय बनेको छ । पैसा  र पहुँचका आधारमा आफ्नो धन्दा चलाइरहेको दुगडलाई सरकारी निकायले किन सधै कारवाही नगरि उम्काइ रहन्छ भन्ने पनि खोजीको बिषय बनेको छ । प्रचलित कानुनले ‘जुस’ का नाममा ‘बिष’ उत्पादन गर्नेलाई किन छुदैन भन्ने अर्को सोचनिय बिषय हुन सक्छ । 


मुलुकमा सञ्चालनमा रहेका ठूला तथा बहुराष्ट्रिय कम्पनीहरुले गरेको लापरवाहीका घटना पटक पटक वाहिर आइरहनु नौलो बिषय भने होइन । तर, त्यस्ता काम गर्नेलाई कारवाही नहुनु भएपनि प्रभावकारी नहुनुले आम उपभोक्तमा निराशा बढ्दै गएको छ । यसले सिंगो राज्य र राज्यका तालुकदार अधिकार सम्पन्न निकायप्रति जनताको आशा र भरोसा समेत टुट्दै गइरहेको छ । 

‘ठूलालाई चैन, सानालाई ऐन’ भनेजस्तै बदमासी गर्ने ‘ठूला माछा’ सधै उम्किने गर्नुले यो निराशा देखिएको हो । दुगड मात्र होइन यस्ता काममा संलग्नलाई कानुन वामोजिको कारवाही हुने हो भने यो निराशा पक्कै हट्थ्यो । राज्यका नियामक निकायप्रतिको विश्वास बढेर जान्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप