शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन धमाधम रद्द हुँदैछन् उद्धार उडान ?

आफ्नै देशको विमानलाई निषेध गरेपछि ‘बदला’ लिँदै खाडी मुलुक
मङ्गलबार, ०२ असार २०७७, १४ : ४८
मङ्गलबार, ०२ असार २०७७

अन्य कुरा यथावत रहेको थियो भने आज बिहान ६ बजेर १५ मिनेटमा नेपाल एयरलाइन्सको विमान उद्धार गरेर ल्याउने यात्रु लिन युएईको दुबईलाई उडान भर्दै हुन्थ्यो । किनभने दुबईबाट उद्धार गरेर ल्याउने नेपाली लिन सबै प्रक्रिया पूरा गरेर उडान हुने तयारीमा थियो ।

तर युएई दूतावासले सोमबार साँझ मात्रै नेपाल एयरलाइन्सलाई एउटा इमेल पठाएर तत्कालका लागि उडान स्थगित गरिएको र पुनः आवेदन दिन भनियो । यद्यपि पहिले नै उडान अनुमति लिइसकेको अवस्थामा त्यो अनुमतिलाई खारेज गर्दै पुनः आवेदन दिन किन भनिएको हो, त्यो उल्लेख गरिएको छैन ।

मंगलबार बिहान दुबईका लागि तयारी गरिएको उडान मात्रै स्थगित भएको छैन, मंगलबार राति ९ बजे कतारको दोहाका लागि तयारी भएको उद्धार उडान पनि एकाएक रद्द गर्नुपर्यो ।

नेपालस्थित कतारी दूतावासबाट ‘टेक्निकल रिजन’ भन्दै नेपाल एयरलाइन्सलाई उडानको अनुमति नै दिइएन । त्यसपछि नेपाल वायुसेवा निगमले पनि दोहाका लागि तयार भएको उडान एकाएक स्थगित गर्नुपरेको सूचना जारी गर्यो ।

नेपाल वायुसेवा निगमले जुन १४ तारिखदेखि उडान भर्ने गरी राखेको उडान तालिका एकाएक स्थगित तथा रद्द गर्नु परिरहेको छ । निगमले जुन १४ मा काठमाडौं ढाका उडान राखेको थियो । त्यो उडान भएपनि जुन १५ को उडान भने हुन सकेन । निगमले जुन १५ मा काठमाडौंबाट मालदिभ्सको मालेमा उद्धार उडानको मिति र समय तोकेको थियो । जुन १५ मा बिहान ७ बजे उड्नुपर्ने विमान पनि निगमले रद्द गर्नुपर्यो ।

त्यसैगरी जुन १५ मै मलेसियाको क्वालालुम्पुरका लागि तोकिएको उडान पनि रद्द गर्नुपर्यो । उक्त उडान किन रद्द गरिएको हो स्पष्ट पारिएको छैन । तैपनि मलेसियाको उडान स्थगनको कारण पनि टेक्निकल भनिएको छ ।

यात्रु नपुगेपछि उडान स्थगित !

सोमबार राति उडान भरेर मंगलबार बिहान काठमाडौँ ओर्लनुपर्ने उडान स्थगित हुनुको कारण न नेपाल वायुसेवा निगमले बताएको छ न त क्वालालुम्पुरस्थित नेपाली दूतावासले । तर पनि एकाएक उडान स्थगित भएको छ ।

नेपाल एयरलाइन्सले मलेलियाको उडान स्थगित हुनुको कारण मलेसिया सरकारकै आग्रह भएको जनाएको छ । यद्यपि यसको भित्री कारण भने यात्रुको सङ्ख्या नपुगेको कारण नै उडान स्थगित भएको बुझिएको छ ।

यसअघिको उडान तालिकाअनुसार मलेसियाको भाडा पनि अत्यन्तै महङ्गो राखिएको थियो । नेपाल सरकारले तोकेको भाडा अनुसार सुरुवाती समयमा मलेसियाको भाडा प्रतियात्रु ५ सय २० अमेरिकी डलर अर्थात् ६३ हजार ४ सय ४० रुपैयाँ रहेको थियो । यो भाडालाई यात्रुहरुले अस्वीकार गरेपछि सरकारले जेठ ३० गते पहिलोपटक भाडा संशोधन गर्दै ५ सय २० डलरबाट ४ सय ६५ डलरमा झारेको थियो ।

तर उक्त भाडा पनि महङ्गो भएको भन्दै बिरोध भएपछि सरकारले जेठ ३२ गते दोस्रोपटक विभिन्न देशको भाडा घटाएर सस्तो बनाएको थियो । मलेसियाको लागि तोकिएको नयाँ भाडादर प्रतियात्रु ३ सय ७२ अमेरिकी डलर बनाइएको थियो । ३ सय ७२ अमेरिकी डलर भनेको नेपाली रुपैयाँ ४५ हजार ३ सय ८२ रुपैयाँ हुन आउँछ ।

तर शनिवार मात्रै घटाइएको भाडा सोमबार रातिकै उडानका लागि अप्रयाप्त भयो । जसका कारण यात्रुहरुले टिकट काट्नै पाएनन् र अकुपेन्सी नपुगेको कारण घाटा लाग्ने भएपनि नेपाल वायुसेवा निगमले उडान स्थगित गर्नुपर्यो ।

मलेसियन दूतावास भन्छ, ‘हामीले उडान रोक्न भनेका छैनौँ’

नेपाल वायुसेवा निगमले भने उडान स्थगित हुनुको कारण मलेसियन दूतावासले नै प्रक्रिया नपुगेको कारण स्थगित गर्न भने अनुसार स्थगित भएको जनाएको छ । तर ललितपुरस्थित मलेसियन दूतावासले भने आफूहरुले उडान स्थगित गर्न नेपाल सरकारलाइ कुनै आग्रह नगरिएको र त्यो आफूहरुको सरोकारको विषय पनि नभएको स्पष्ट पारेको छ । मङ्गलबार बिहान रातोपाटीसँग कुराकानी गर्दै मलेसियन दूतावासका कर्मचारीले उडान गर्ने कि नगर्ने भन्ने विषय नेपाल सरकारको रहेको र त्यसमा आफूहरुले कुनै हस्तक्षेप नगरेको बताए । ती कर्मचारीले भने, ‘यो चार्टर उडान हो । आफ्ना नागरिक ल्याउने कि नल्याउने भन्ने विषय नेपाल सरकारको हो । पीसीआर गरेर ल्याउने कि ल्याएर गर्ने भन्ने कुरा पनि नेपालकै हो । हामीले गर्ने भनेको हाम्रो अध्यागमनमा स्क्रिनिङ मात्रै हो । त्यहाा पास भए हामी उहाँहरुलाई नेपाल आउन दिन्छौँ ।

पीसीआर रिपोर्ट नहुँदा टिकट जारी भएन

खासमा सोमबार राति नेपालबाट उडान भरी मंगलबार बिहान फर्कने उडान स्थगित हुनुको मुख्य कारणचाहिँ मलेसियामै गराउनुपर्ने महङ्गो पीसीआर टेष्ट नै हो ।

मलेसियामा पीसीआर टेष्ट सुरुदेखि नै निजी क्लिनिकहरुले गराउँदै आएका छन् । एकजनाको पीसीआर टेष्ट गरेको ३ सय ५० देखि ४ सय मलेसियन रिंगिट लिने गरिएको छ । त्यो भनेको १० हजार देखि १२ हजार नेपाली रुपैयाँ पर्न जान्छ ।

तर महिनौंदेखि जागिर गुमाएर बसेका नेपालीसँग त्यति धेरै रकम नभएको र उनीहरुले पीसीआर टेष्ट गराउन नपाएको कारण उडान नै स्थगित गर्नुपरेको बुझिएको छ ।

नेपाल एयरलाइन्स स्रोतका अनुसार सोमबार बिहानसम्म पीसीआर रिपोर्ट ल्याउनेको सङ्ख्या १० जना पनि थिएन । जसका कारण टिकट जारी भएन र उडान नै स्थगित गर्नुपर्यो ।

मलेसियाबाट फर्कन चाहनेको सङ्ख्या ६ हजार २ सय

क्वालालुम्पुरस्थित नेपाली दूतावासका प्रवक्ता महेश्वर त्रिपाठीका अनुसार मलेसियाबाट तत्कालै नेपाल फर्कन चाहनेको सङ्ख्या ६ हजार २ सय जना रहेको छ । दूतावासले गरेको सूचनामा यी सङ्ख्याका नेपालीले आवेदन दिएका थिए । तर नेपाल सरकारले प्राथमिकता निर्धारण गर्न निर्देशन दिएपछि, महिला, गर्भवती, बिरामी र जागिर गुमाएर आफ्नै खर्चमा बस्नु परेकाहरुको सङ्ख्या हेर्दा १ हजार ५ जनालाई तत्कालै उद्धार गर्नुपर्ने अवस्थामा थियो । त्यही सङ्ख्या क्वालालुम्पुरस्थित दूतावासले नेपाल सरकारलाई पठाएको थियो ।

कतारको स्थगनको कारण पनि पीसीआर टेष्ट नै

त्यसो त कतारबाट गर्ने भनिएको उडान स्थगित हुनुको कारण पनि यात्रुहरुको पीसीआर टेष्ट नहुनु नै रहेको छ । यात्रुहरुको पीसीआर टेष्ट पूरा नभएको र समयमै नेपाल फर्कने यात्रुको नामावली प्राप्त नभएपछि नेपालस्थित कतार दूतावासले नेपाल सरकार र नेपाल एयरलाइन्सलाई इमेल लेख्दै उडान स्थगन गर्न भनेको थियो । यसको कारण पनि प्राविधिक कारण भनिएको छ । तर खास कारण भनेको समयमै यात्रुहरुको नामावली दिन नसक्नु नै रहेको बुझिएको छ ।

नेपाल सरकारको एकाधिकारका कारण उडान स्थगितको आशंका

त्यसो त युएई र कतार सरकारले उडान अनुमति नदिनुको कारण नेपाल सरकारको मोनोपोली रहेकोसमेत बुझिएको छ । यसअघि नेपालले विदेशबाट यात्रु लिएर आउँदा नेपाली एयरलाइन्सहरुले ५० प्रतिशत उडान गर्ने र विदेशी एयरलाइन्स कम्पनीहरुले ५० प्रतिशत यात्रु ल्याउने कुरा उल्लेख थियो । त्यही अनुसार पहिलो चरणमा भएको छलफलपछि सरकारले भाडा निर्धारण गरेको थियो ।

तर सरकारले भाडा संशोधन गर्दा न ती एयरलाइन्स कम्पनीसँग छलफल गर्यो, न त त्यसभन्दा अगाडि भएको सम्झौता नै मान्यो । बरु आफूखुशी भाडा मात्रै घटाएन, घटाएको भाडामा नउडाए उडान अनुमति नै नदिने भन्दै विदेशी एयरलाइन्स कम्पनीहरुलाई उडान अनुमति नै दिएन ।

नेपाल सरकारले कतार एयरवेज, एयर अरेबिया लगायतका विमान कम्पनीलाई उडान अनुमति नै नदिएपछि ती देशले पनि नेपाली वायुसेवा कम्पनीहरुलाई उडान अनुमति नदिने वा दिएको अनुमति पनि फिर्ता लिएको बुझिएको छ । दुबईमा मंगलबार हुने उडान स्थगित हुनुको कारण पनि एयर अरेबियालाई उडानको अनुमति नदिनु नै रहेको पाइएको छ ।

नेपालबाट यात्रु लैजान नदिने सरकारी नीतिका कारण पनि उडान अन्योलमा

नेपाली तथा विदेशी एयरलाइन्स कम्पनीहरुले नेपालबाट पनि यात्रु लैजान उडान अनुमति दिनुपर्ने माग गरेका छन् । युएई, कतार, साउदी अरेबिया, ओमन लगायतका देशले नेपालबाट कामदार लैजान पनि खोजिरहेका छन् । ती देशमा गई १४ दिन क्वारेन्टाइनमा बस्ने र पछि काममा लगाउने उनीहरुको उद्धेश्य थियो । नेपालबाट केही यात्रु लैजान पाए आफ्नो आम्दानीमा पनि केही वृद्धि हुने र खर्च धान्ने विमान कम्पनीहरुको सोच थियो ।

तर नेपाल सरकारले नेपालबाट ती देशमा जानका लागि पनि श्रम स्वीकृति लगायतका काम नगरिदिँदा नेपालबाट यात्रुहरु ती देशमा जान नपाउने भए । नेपाल सरकारले कागजात तयार र्पो काममा अनुमति नदिँदा ती देशमा यात्रु जान नपाएपछि विमान कम्पनीहरुको खर्च बढ्ने कारण पनि सस्तो दरमा उडान भर्न नसक्ने जानकारी दिए ।

आफ्नै देशको विमान कम्पनीलाई उडान अनुमति नै नदिने र सस्तो मूल्यमै उडान भर भनेपछि ती एयरलायन्स कम्पनीहरुले नेपाली विमान कम्पनीहरुलाई पनि उडान अनुमति नदिन र दिएको भएपनि रद्द गराउन माग गरेका थिए । त्यही अनुरोधअनुसार यसअघि उडान अनुमति पाइसकेका नेपाली विमान कम्पनीहरुको उडान पनि रद्द गरिएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप