केन्द्रीय संस्करण
पत्र

स्वामीजीलाई नायिकाको पत्र

person explore access_timeअसार २, २०७७ chat_bubble_outline0

आदरणीय बोधिसत्व स्वामी आनन्द अरुणज्यू  प्रणाम !

थाहा छैन हजुरसँग पहिलो भेट कहाँ र कहिले भयो त्यो पहिलो भेटको स्मरण मसँग छैन तर यति भने पक्कै थाहा छ हजुरलाई भेट्दा म बालकै थिए । ओशो संन्यासीको घरमा जन्मदिन पाउनु नै मेरो अहोभाग्य होकि मैले मेरो चेतनाको विकासक्रममै सद्गरु ओशोको बारेमा बझ्ने, जान्ने र सुन्ने दुर्लभ अवसर पाएँ । अहिले पनि बालापनतर्फ फर्केर हेर्दा  आफूलाई बडो भाग्यशाली महसुस हुन्छ ।

समयको रफ्तारमा अनवरत यात्रा गर्दागर्दै अहिले मेरो जीवनको मोड बदलिएको छ । बाहिरी सुखसयल, धनसम्पत्ती, नाम र भौतिक प्रगतिले मात्रै हाम्रो मानव चोलाले सार्थकता पाउँदैन आफूभित्रैको सुख, सुन्दरता र आनन्दलाई हेर्ने दृष्टि नखुलेसम्म बाहिरी सुख, सुन्दरता र आनन्दको स्वादको कुनै अर्थ रहेनछ । ती त सब क्षणभङ्गुर मात्रै हुन पानीको थोपा जस्तै आउँछन् र बिलाएर जान्छन् भन्ने बोध ममा पनि हुन थालेको छ ।

स्वामीजी, हजुरको आध्यात्मिक यात्रा, सद्गुरु ओशोसँगको अगाध प्रेम र समर्पण तथा विश्वमा सुख, शान्ति र भाइचाराका लागि हजुरले गरिरहनुभएको निरन्तरको सक्रियताको प्रशंसा गर्ने शब्द मसँग छैन र सायद त्यसको लागि म योग्य पनि छैन होला । थाहा छैन कुन जन्मको कुन पुण्यको कारणले होे । अहिले हजुरको समीपमा रहेर काम गर्ने र आफूलाई रूपान्तरण गर्ने स्वार्णिम अवसर पाइरहेको छ ।

ओशोको काम गर्न कति गाह्रो र चनौतीपूर्ण छ भन्ने कुरा मैले बच्चैदेखि देख्दै आइरहेको छु, धादिङको एक सामान्य गाउँमा ओशोको ध्यान र देशना फैलाउँदा मेरो बुबालाई समाजले लगाउने गरेको विभिन्न खाले आरोप, लाञ्छना र अपशब्द त मैले बालापनमै सुने, त्यस्ता आरोप तथा चुनातीलाई सहजै चिर्दै  बुबाले चाल्नुभएको अविचलित पाइला अहिलेसम्म पनि जारी नै छ । एउटा सामान्य गाउँमा त यो प्रकारको समस्या आउँछ भने हजुर त संसारलाई आध्यात्मिक रूपान्तरण गराउने  महाअभियानमा लाग्नुभएको छ । यो बाटो कति कठिन र  चुनौतीपूर्ण छ भन्ने कुरा म सहजै महसुस गर्न सक्छु ।

 अहिले संसारभरका ओशो अनुयायीहरुको प्रमुख आकर्षणको केन्द्र भनेकै नेपालको ओशो तपोवन हो, औपचारिक घोषाण नभए पनि तपोवन अहिले ओशो मुमेन्टको हेडक्वाटर बनिसकेको छ । ओशोका पुराना संन्यासीहरुले समेत यसलाई मानिसकेको अवस्था छ । मलाई लाग्छ समकालीन समयमा विश्वमा रहेका जती पनि ओशोका आश्रमहरु छन् ती सबैमाझ ओशो तपोवनको पृथक् भूमिका र महत्त्व छ । हरेक वर्ष विश्वका सम्पन्न मलुकका आध्यात्मिक मनको तपोवन आगमन र उनीहरुबाट आउने प्रतक्रियाले यो कुरालाई सधैँ उजागर गरि नै रहेको छ ।

नेपालकमा ओशाकोे ध्यान र देशना सुरु गर्नको लागि हजुरले गर्नुभएको काम र कामका दौरान भोग्नुभएका आरोह अवरोहका कुरा सुन्दा अहिले हामीलाई चलचत्रिको कथा जस्तो लाग्छ । न्युरोडको पिपलबोटको प्रसङ्ग होस् वा पुल्चोकको  सेन्टर अथवा आफ्नै घरमा रहेको आशीष ध्यान सेन्टरको प्रशंगहरु नै किन नहोस् ती सबैबाट हामी स्पष्ट रूपमा बुझ्न सक्छौँ कि हजुरको गुरुभक्ति कति प्रगाढ छ भनेर ।

स्वामीजी अहिले म तपोवनमा बसिरहँदा यहाँको सुन्दरताले मदमस्त भइरहेको छु । हरेक दिन मेरो हृदयको स्पन्दनमा आनन्दको अनुभूतिले स्पर्श गरिरहन्छ । यस्तो प्राकृतिक छटाले सुशोभित स्वार्णिम आनन्द संसारका अरू ठाउँमा सायदै पाइन्छ होला । बिहान आँखा खोल्दादेखि राति नसुन्दासम्म हामी जहाँ बस्छौँ त्यही नै आनन्दित हुन्छौँ । साच्चै बद्ध फिल्ड बनेको छ यो, यहाँको प्राकृतिक छटा अनि हजुरको  सामीप्यले जुनुसकै  बेला आनन्दको वर्षात भइरहेको आभाष हुन्छ । ओशोले भन्नुभए जस्तै जङ्गलभित्र दरबार हो ओशो तपोवन । भौतिक सुखका बीच अध्यात्मको रोमाञ्चक यात्रामा हामीलाई यात्रा गराइदिनको लागि हजुरले जुन दुःख कष्ट र हजारौँ हन्डरका बीच तपोवनको निर्माण गर्नुभएको छ । त्यसका लागि जुन शब्दको प्रयोग गरेर  हजुरलाई  धन्यवाद् दिए पनि त्यो फिक्का र अधुरो नै रहने छ ।

संसारमा अनेक धर्म छन्, अहिलेत झन हजारौँ गुरुहरु अनेक प्रकारका प्रचारबाजी गर्दै आफ्नो सञ्जाल बलियो बनाउने अभियानमै लागेका छन्, यो बीचमा म ओशोसँग नै किन जोडिए भन्ने प्रश्न पनि कहिलेकाहीँ मलाई नआउने होइन, हरेक घटना त्यसै घट्दैन त्यस्को लागि  पूर्वजन्मको केही न केही सिलसिला हुन्छ भन्ने सामान्य बुझाइ ममा थियो र छ पनि तर केही दिन पहिले स्वामीजीले एउटा प्रवचनको क्रममा आफूसँग र तपोवनसँग जोडिएका अधिकांश साधकसाधिकाहरु पूर्व जन्ममा बुद्ध, रामकृण्ण वा कविरसँग जोडिएका थिए र अहिले त्यसकै निरन्तरतामा रहेको कुरा सुनाउनु भएपछि म स्पष्ट भएकी किन म र मेरो परिवार ओशो, स्वामीजी र तपोवनसँग जोडिएका छौँ भनेर । झण्डै डेढ वर्ष पहिले स्वामीजीले म र मेरो श्रीमानलाई अब घर छोडेर आश्रम अर्थात तपोवन नै बस्नको लागि आग्रह गनुहुँदा एक पटकत हामी झस्किएका थियौँ, ग्ल्यामर दुनियामा बेग्लै पहिचान बन्दै गरेकी मलाई घर छोड्न त्यति सहज पनि थिएन तर सबैभन्दा बलियो समय हुँदोरहेछ । सायद त्यो समयलाई चाहि परमात्माले नै चलाउनु हुन्छ, होला त्यसैले स्वामीजीको आग्रहअनुसारै हामी आश्रममा बस्न थाल्यौँ । यो अवसरको लागि स्वामीजीप्रति हामी कृतज्ञ छौँ, मलाई लाग्छ यो स्वामीजीले हाम्रो लागि दिनुभएको अवसर मात्रै होइन हामीमाथि अस्तित्वको परीक्षा पनि हो ।

यो पत्र हजुरको जन्मदिनको अवसर पारेर लेखिरहेको छु, शुभकामना सम्प्रेषणका अनेक प्रकारमध्य मैले यो वर्ष पत्रलाई रोजेँ, पत्रका शब्दहरु कहिल्यै पुराना हँुदैनन् जस्तो लाग्छ । आज हजुरको ७७औं जन्मदिन । म पनि अरूले जस्तै हजुरलाई जन्मदिनको लाखौँ लाख शुभकामना टक्य्राउँछु । हजुरलाई मन पर्ने र हजुरको  आध्यात्मिक यात्राका एक सहयोगी बुद्ध पुरुष शिवपुरी बाबाजस्तै हजुर पनि १३५ वर्षभन्दा बढी बाच्नुपर्दछ, स्वामीजीको दीर्घायुको लागि हामी सबै प्राथना गर्छौं । तर यसरी शुभकामना दिइरहँदा म विगत केही समय यताका स्वामीजीका भनाइलाई सम्झिएर एकाएक भावुक हुन्छु । आजकाल धेरैजसो हजुरले भन्ने गर्नु हुन्छ  अब मेरो धेरै समय छैन, तिमीहरु थप सक्रिय हुनुपर्यो । स्वामीजीले यो भन्नुको पूर्ण अर्थ त म बझ्न सक्दिनँ तर हजुरबाट यो कुरा व्यक्त भइरहँदा मनमा कताकता गाँठो  परेर आउँछ, स्वास रोकिएझैँ हुन्छ र आँखाहरु अनायसै रसाइसक्छन्, हृदयको भित्री कुनामा गहिरो चोट पर्दछ ।

स्वामीजी मलाई थाहा छ सम्पूर्ण  विश्व जगतको कल्याणका लागि  बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रूपमा मनाउने, ओशो मुमेन्टलाई थप उचाइमा पुर्याउनका लागि एउटा अन्तर्राष्ट्रिय स्तरको सञ्जाल बनाउने, नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउने आदि कार्य हजुरको योजनामा छन् । यी काम हजुरले आफ्नो व्यक्तिगत फाइदा र स्वार्थभन्दा माथि रहेर गरिरहनुभएको छ । मलाई लाग्छ एक दिन हजुरका यी कुरा पनि पूरा हुनेछन् ।

हजुरको उच्च व्यक्तित्व, सरलता र बौद्धिकताको बयान म गर्न सक्दिनँ । कहिले म हजुरलाई अबोध बालक जस्तो देख्छु, कहिले एक ऊर्जाशील नवयुवा त कहिले गर्जिएको सिंह फेरि यति हुँदाहँुदै जब ध्यानमा लीन भएको बेला हजुरलाई हेर्छु, त्यतिबेला हजुरभित्र हजुर नदेखेर स्वयम् परमात्मा  भगवान ओशो देख्छु ।

आजको यो विशेष दिनमा हजुरलाई भन्ने अरू कुरा मसँग केही छैन, हामी हजुरसँग जोडिएका छौँ । हजुर हाँस्दा हाम्रो मुहारमा पनि मुस्कानका तरग उर्लन्छन् भने हजुर दुःखी हुँदा पीडाका छाल उर्लन थाल्छन् । हामी सधैँ हजुरको खुसी देख्न चाहन्छौँ । हजुरको जन्म यो अस्तित्वमा सार्थक छ, बारम्बार हजुरको जन्मदिनसँगै रहेर मनाउन पाइयोस् ।

 हजुरको स्वास्थ्य र दीर्घ जीवनका लागि भगवान ओशोसँग बारम्बार प्राथना गर्छु । फेरि पनि हजुरलाई ७७औँ वर्षको अशिम शुभकामना ।

सोविता सिम्खडा

ओशो सन्यासी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.