बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

११ महिने बालक कोरोना जितेर डिस्चार्ज

मङ्गलबार, ०२ असार २०७७, ०९ : ०७
मङ्गलबार, ०२ असार २०७७

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएपछि बालक सुनारलाई डिस्चार्ज गरिएको बताए ।

स्वास्थ्य आपतकालीन केन्द्र रामशाहपथको पत्रानुसार थप एक हप्ता होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज गरिएको उनले बताए । होम आइसोलेसनमा बस्दा चिकित्सकको नियमित सम्पर्कमा रहने गरी र स्वास्थ्य मन्त्रालयको जारी निर्देशिकामा उल्लेख गरिएका कुराको पालना गर्नेलगायतका कुरा सम्झाएर पठाइएको उनको भनाइ छ । 

कोरोना जितेका बालक र उनकी आमालाई टीका र खादा ओढाएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बिदाइ गरेका हुन् । 

अस्पतालको आइसोलेसनमा भर्ना भएका भीमदत्त नगरपालिका–२ का ५० वर्षीय, महाकाली नगरपालिका–३ का ३८ वर्षीय र कागेश्वरी मनहरा नगरपालिका काठमाडौँका १८ र ३८ वर्षीय पुरुषलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो । अस्पतालमा ३० कोरोना सङ्क्रमित उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप