बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वभर १३ हजार ४ सय आणविक हतियारको भण्डार, सबैभन्दा बढी कुन देशसँग छ ?

मङ्गलबार, ०२ असार २०७७, ०० : १२
मङ्गलबार, ०२ असार २०७७

एजेन्सी । पछिल्लो समयमा विश्वमा आणविक हतियार निर्माण र त्यसको भण्डारणमा तिव्रता आएको छ । रुस, अमेरिका, चीन, पाकिस्तान, भारत, बेलायत, फ्रान्स लगायतका मुलुकहरु आणविक हतियारको धेरै भण्डारण गर्नेमा पर्दछन् । भारतमा गत वर्षयता १० वटा आणविक हतियार थप भएको रिपोर्ट बाहिर आएको छ । स्वीडेनको स्टकहोम इन्टरनेश्नल पिस रिसर्च इन्स्च्यिुट (सिपरी) को पछिल्लो रिपोर्टअनुसार भारतसँगभन्दा पाकिस्तानसँग बढी आणविक हतियार रहेका छन् । भारतसँग अहिले १५० वटा आणविक हतियार रहेका छन् । जबकि सन् २०१९ मा भारतले १४० वटा आणविक हतियार भण्डारण गरेको थियो । पाकिस्तानमा भने सन् २०१९ मा १५० वटा हतियार भण्डारण थियो । तर सन् २०२० मा आइपुग्दा उक्त संख्या बढाएर  १६० पुर्याइएको छ ।

अहिलेसम्म विश्वमा रुस, अमेरिका,चीन, फ्रान्स, ब्रिटेन, भारत, पाकिस्तान, इजरायल र उत्तरकोरिया परमाणु हतियार शक्ति सम्पन्न मुलुक मानिन्छन् । यी देशमा कूल परमाणु हतियारको संख्या १३ हजार ४ सय रहेको छ । सिपरीको रिपोर्टअनुसार चीन र भारतले आणविक हतियार निर्माण र भण्डारणको कामलाई तिव्रता दिएका छन् । पछिल्लो रिपोर्टअनुसार २०२० जनवरीसम्म चीनसँग ३२० वटा शक्तिशाली आणविक हतियारहरु तयार छन् । सन् २०१९ मा भने चीनसँग २९० वटा आणविक हतियार थियो । एक वर्षमै चीनले ३० वटा हतियार थप्न सफल भएको छ ।

रिपोर्टकाअनुसार चीनले आफ्ना हतियारलाई उन्नत बनाउने कामलाई तिब्रता दिइरहेको छ । चीन आणविक शक्ति निर्माणको दौडमा छ । चीनले जल, स्थल र हवाई सेनाको निर्माणसँगै आणविक हतियारहरुको पनि त्यसैगरी विकास गरिरहेको छ । रिपोर्टका अनुसार चीनको दाँजोमा भारत र पाकिस्तानले भने निकै सुस्त (ढिलो) गतिमा आणविक हतियारको विकास र भण्डारण गरिरहेका छन् । त्यसैगरी यहि समयमा उत्तरकोरियाले पनि आफ्नो राष्ट्रिय सुरक्षा रणनीतिको एक महत्वपूर्ण अंशको रुपमा आणविक कार्यक्रमलाई अघि बढाइरहेको छ । उत्तरकोरियाले पछिल्ला वर्ष गरिरहेका आणविक हतियार परीक्षणका कारण अमेरिका लगायतका मुलुकहरुले प्रश्न समेत उठाइरहेका छन् । 

पहिलो रुस, दोश्रो अमेरिका 
रिपोर्टअनुसार विश्वमा अहिले सबैभन्दा बढी आणविक हतियार रुससँग रहेको छ । रुससँग अहिले ६ हजार ३ सय ७५ आणविक हतियार रहेका छन् । दोश्रोमा अमेरिका पर्छ । अमेरिकासँग ५ हजार ८ सय वटा आणविक हतियार रहेका छन् । त्यस्तै फ्रान्ससँग २ सय ९०, बेलायतसँग २ सय १५ वटा आणविक हतियार रहेका छन् ।

सिपरीको रिपोर्टअनुसार विश्वभरको आँकडाअनुसार पछिल्लो साल आणविक हतियार कूल संख्या भने घटेको छ । सन् २०१९ मा विश्वभरका मुलुकहरुमा कूल १३ हजार ८ सय ६५ आणविक हतियार थिए तर सन् २०२० मा त्यो संख्या १३ हजार ४ सयमा झरेको छ । हतियारको संख्यामा कमी आउनुको मुख्य कारण अमेरिका, रुस लगायतका देशले पुराना र काम नलाग्ने हतियारलाई नष्ट गरिदिएका छन् । तैपनि यी दुई देशसँग विश्वको कूल संख्याको ९० प्रतिशत हतियार भण्डारण रहेको छ ।

आणविक हतियार सम्पन्न मुलुकहरुले आफ्ना हतियारलाई थप उन्नत बनाउँदै लगिरहेका छन् । रिपोर्टकाअनुसार अमेरिकाले ५ हजार ८ सय हतियारमध्ये १ हजार ७ सय ५० वटा आणविक हतियारलाई विभिन्न मिसाइलसहित तयारी अवस्थामा राखेको छ । त्यसमध्ये ४ हजार ५० हतियार भण्डारण गरिएको छ, जसमा पुराना हतियार पनि रहेका छन् ।

त्यस्तै रुसले १ हजार ५ सय ७०, फ्रान्सले २ सय ८०, बेलायतले १ सय २० वटा आणविक हतियार मिसाइलसहित तयारी अवस्थामा राखेका छन् । उत्तरकोरियाको विषय भने आधिकारिक रुपमा बाहिर आउन सकिरहेको छैन । त्यहाँको आणविक कार्यक्रमका बारेमा विभिन्न अड्कलबाजी गरिँदै आइएको छ । चीन, भारत, पाकिस्तान लगायतका मुलुकहरुको पनि आणविक कार्यक्रमको दौड अघि बढ्ने क्रम जारी रहेको छ । श्रोतः हिन्दी जागरण 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप