बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो ल्यायो प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठसहित)

सोमबार, ०१ असार २०७७, १९ : ४८
सोमबार, ०१ असार २०७७

जनकपुर । प्रदेश नम्बर २ सरकारले अगामी आर्थिक वर्ष २०७७–०७८ को बजेट सोमबार प्रदेशसभामा प्रस्तुत गरेको छ । 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले कुल ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट लागू आर्थिक वर्षको भन्दा करिब ५ अर्ब रुपैयाँले कम हो । चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले  ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेटमध्ये चालूतर्फ ४५.९५ प्रतिशत अर्थात १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पुँजीगततर्फ ५३.६७ अर्थात १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वित्तीयतर्फ ०.४८ प्रतिशत अर्थात १६ करोड बजेट छुट्याइएको छ ।

बजेटमा एक निर्वाचन क्षेत्र एक उद्योगको व्यवस्था गरिने जनाइएको छ भने प्रदेश निजामति गठन, प्रदेश प्रहरी गठन, भौतिक पूर्वाधार विकासको लागि रकम छुट्याइएको बजेटमा उल्लेख छ ।  त्यस्तै दलित विकास समिति गठन गरी ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।  यस्तै जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन ४५ करोड रुपैयाँको विनियोजन गरिएको छ भने क्यान्सर, ट्रमा सेन्टर र सरुवा रोग अस्पताल निर्माणका लागि क्रमशः २÷२ र १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गत वर्षको उपभोक्ता समितिको बाँकी भुक्तानीका लागि ८६ करोड रुपैयाँ समेत छुट्याइएको छ ।

८ जिल्लामा ६४ सडक निर्माणका लागि ६७ करोड रुपैयाँ, मधेशी शहिद राजमार्गको डिपिआरका लागि ३ करोड रुपैयाँ, गढीमाई र सिमरौनगढ पर्यटकीय विकास कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ, बेटी बचाउ बेटी पढाउ कार्यक्रमको विभिन्न शीर्षकमा ५४ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

 कोभिड–१९ महामारीको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचारको लागि ७० करोड २७ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै प्रदेशमा पारिवारिक विवरण राख्ने कार्य निर्माणको लागि १ करोड २० लाख रुपैयाँ, सप्तरीको भारदह अस्पताललाई स्तरोन्नति गरी सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्नलाई ६ करोड ७९ लाख र पर्साको पोखरिया अस्पताललाई ४ करोड ४ लाख रुपैयाँ, प्रदेशमा स्थानीय निकायको सहकार्यमा सर्पदंश उपचारका लागि एन्टी भेनम उत्पादन गर्न तथा अध्ययन अनुसन्धान केन्द्रको स्थापना र संचालन गर्न ५ करोड ५४ लाख रुपैयाँ विनियोजन पनि गरिएको छ । 

यसैगरी कृषकहरुलाई कृषि ऋणको व्याजमा सहुलियत उपलब्ध गराउन २ करोड रुपैयाँ, प्रदेश प्रमुख रोजगार कार्यक्रम अन्तर्गत विभिन्न व्यवसायिक सिपयुक्त तालिम संचालन गर्न ८ करोड रुपैयाँ, नवप्रवर्तन कृषि रोजगार तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी कार्यक्रम संचालनका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

कृषि, सिंचाई, नदी नियन्त्रण र भूमि व्यवस्थाका लागि २ करोड २५ लाख रुपैयाँ, अनुदानका लागि २ करोड २५ लाख, डिप वोरिङ जडान तथा डिप टयुवेल सहयोग कार्यक्रमका लागि ३ करोड २० लाख, निजी सार्वजनिक दुग्ध सहकारीको साझेदारीमा दुध संकलन तथा चिस्यान केन्द्र स्थापनाको लागि १ करोड, हुलानकी मार्ग लक्षित दुग्ध मिसन कार्यक्रमको लागि ५ करोड रुपैयाँ र जनकपुर दुग्ध वितरण आयोजनाको सहकार्यमा दुग्ध संकलन, प्रशोधन, विविधीकरण, स्तरोन्नति कार्यका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

बजेटको पूर्णपाठ हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप