राष्ट्रियतामाथि गम्भीर खतरा
नेपालको राष्ट्रियता इतिहासकै सर्वाधिक सङ्कटमा रहेको छ । राष्ट्रियता भनेको आम नागरिकको स्वाभिमानी भावना मात्र होइन, तीन करोड नेपालीको अस्तित्व हो । राज्य रहेसम्म जारी रहने सबैको साझा आन्दोलन हो । यसमा आम नागरिक जुनसुकै किसिमको हस्तक्षेपलाई प्रतिकार गर्न तमतयार छन् । राष्ट्र र जनताको सुरक्षा र हितमा महँगो मूल्य चुकाउन प्रतिबद्ध छन् । जीवन बलिदान दिन तयार छन् । तर यहाँका शासकहरूले राष्ट्रियताको मुद्दाको सन्दर्भमा चरम अपव्याख्य र भ्रम सृजना गर्दै आएका छन् । उनीहरूले असली राष्ट्रवादी लाइनलाई एकातिर पन्छाएर आफ्नै शासकीय स्वार्थको चौघेराभित्र यसको परिभाषा लगाउँदै आएका छन् । यसले आम नेपालीमा काफी भ्रम, द्विविधा र अन्यौल सिजना गरेको छ । राष्ट्रियताको वास्तविक चरित्रलाई जनताबाट टाढा राख्दै अमूक र अभेद्य वस्तु बनाइरहेका छन् । यो रवैयाले राष्ट्र झनझन खतरामा पर्दै गएको देखिन्छ ।
मूलतः कसैले राष्ट्रियतालाई भूगोल, भावना, सिमाना र फलामे तारबारसँग मात्र जोड्ने गर्छ । कसैले एउटा मुलुकको चर्को विरोध र अर्को मुलुकसँगको साँठगाँठमा यसलाई सीमित गर्दैछन् । उनीहरूलाई आन्तरिक र बाह्य दुई किसिमको राष्ट्रियता हुन्छ भन्ने मान्यतामा विश्वास गर्दैनन् । प्रगतिशील राष्ट्रियता र सामन्ती वा सङ्कीर्ण राष्ट्रियताबीचको अन्तरलाई स्पष्ट गर्दैनन् । जनतालाई गुमराहमा राखेर राष्ट्रियतालाई आफ्नो स्वार्थको घेराभित्र कैद गर्छ । यस्तो कुटील चालले वास्तविक र कोरा राष्ट्रवादलाई एउटै बाँस्केटमा कोचिदिएको छ । जसले गर्दा साधरण जनतामा राष्ट्रवाद बारे आम गलत धारणा र मनोविज्ञान विकास हुँदैछ ।
नेपालमा सङ्कीर्ण र कोरा राष्ट्रवाद पञ्चायत कालदेखि नै हावी हुँदै आएको छ । यो राष्ट्रवाद भूगोल र भावनाको गुरुत्वकेन्द्रमा घुमिरहन्छ । भूगोल र भावना असाध्यै संवेदेनशील सवाल हो । यही कमलो भावनामा जनतालाई तरङ्गित गराएर आफ्नो राजकीय सत्ता रक्षा गर्ने कुटिल रणनीति नै सामन्ती वा सङ्कीर्ण राष्ट्रवाद हो । उनीहरूले यही कमलो मुद्दा मार्फत आम जनताको राष्ट्रवादी भावना माथि इमोसनल्ली ब्ल्याकमेलिङ गरिरहन्छ । साँचो अर्थमा भन्ने हो भने जुन दल वा शासकले जनताको कमलो भावनामाथि ब्ल्याकमेल गर्यो उही दल हावी हुुँदै आएको छ । जनतालाई गुमराहमा राख्दै चुनावमा बाजी मार्ने खालको राष्ट्रियताको नारा उपयोगी बन्दछ । त्यसै अनुरूप राष्ट्रियताको वकालत नेपाली अति राष्ट्रवादी विशेषता भएको छ । तर यस्तो राष्ट्रवादले चुनावमा बाजी मार्ला अनि जनता भ्रम र अन्यौलमा पर्ला तर त्यो अन्ततः राष्ट्रघात हुनेछ । यसले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ता धरापमा पार्नेछ ।
राष्ट्रवादलाई सामन्ती र प्रगतिशील कोणबाट हेर्नुपर्छ । राजा महेन्द्रको पालामा सामन्ती वा सङ्कीर्ण राष्ट्रवाद हाबी थियो । बहुदलीय प्रजातन्त्र पछि पनि राष्ट्रवादलाई भूगोल र भावनामै मात्र सीमित गरियो । भूगोल र भावनाको कोणबाट राष्ट्रियताको परिभाषा लगाउनु र जनतालाई कन्भिन्स गर्न गाह्रो हुँदैन । सीमा वारिपारिको भूगोल देखाइदिएपछि बस अरू केही चाहिँदैन । एकखालको राष्ट्रवादी संवेदना स्वतः जागृत हुन्छ । तर यसले राष्ट्र र जनताले चाहेको असली राष्ट्रियताको सुनिश्चितता गर्दैन । मुलुकलाई बाहिरी हस्तक्षेपबाट मुक्त गर्न सक्दैन । यस्तो राष्ट्रवादले शासन सत्ता सुनिश्चत गर्ला अनि चुनावमा जनताको मन पनि जित्ला तर मुलुकको अस्मिता जोगाउन सक्दैन । मुलुकको अस्मिता प्रधान पक्ष हो भने अन्य तपशीलका मुद्दाहरू सहायक हुन् । अस्मिता नै नरहनु भनेको मुलुकको भूगोल र भावना पनि नरहनु हो । त्यसैले भूगोल र भावनामा सीमित राष्ट्रवाद भ्रम र दृष्टिदोष मात्र हो ।
अहिले विश्वमा अतिराष्ट्रवादी प्रवृत्ति हावी छ । शासनसत्तामा उक्लिने भर्याङ नै यही अतिराष्ट्रवाद सिद्ध भएको छ । नेपालमा पनि यही अतिराष्ट्रवाद हावी देखिन्छ । यो महेन्द्रको सामन्ती राष्ट्रवादभन्दा पनि खतरा रहेको छ । किनकि महेन्द्रको राष्ट्रवादमा सामन्तवादी चरित्र थियो । आन्तरिक राष्ट्रियता वा जनवाद र जनजीविकाको सुनिश्चितता थिएन । यद्यपि महेन्द्रीय राष्ट्रवाद तेस्रो मुलुकको रणनीतिक स्वार्थमा परिचालित थिएन । तर यतिखेर एमालेले प्रतिनिधित्व गरिरहेको सङ्कीर्ण राष्ट्रवादमा सामन्ती चरित्र हुनुको साथै अर्को मुलुकको नवऔपनिवेशिक स्वार्थले गिजोलेको बताइन्छ । यसमा चीन घेराउ गर्ने अमेरिकी रणनीतिमा एमालेको अतिराष्ट्रवादलाई उपयोग गरिरहेको विश्लेषकहरूको दाबी छ । पश्चिमाले पनि उसैको नजिक भनिएको दल वा नेतालाई अघि बढाउँदा चिनलाई छक्याउन सकिन्छ भन्ने निष्कार्षमा देखिन्छ । तर पश्चिम–दक्षिण एक भएर उत्तरविरुद्धको मोर्चावन्दी कसेपछि एमालेको पश्चिम निर्देशित छद्म राष्ट्रवादको पर्दा खोलिनु धेरै समय नलाग्ने पनि विश्लेषकहरूको आँकलन छ । यो रणनीतिक मोर्चाबन्दीले दक्षिण विरोधी मनोवैज्ञानिक भावना पनि विस्तारै मत्थर हुने बताइन्छ । त्यति बेला एमालेको पश्चिम निर्देशित अवसरवादी सङ्कीर्ण राष्ट्रवादको पर्दा खोलिनेछ । जनताको भ्रम हट्नेछ र सत्य थाहा पाउनेछन् ।
वास्तवमा नेपाललाई साँच्चै स्वाधिन र सार्वभौम बनाउने हो भने न त महेन्द्रीय सामन्ती राष्ट्रवाद सहयोगी हुन्छ न त अर्को देशको रणनीतिक स्वार्थमा परिचालित एमालेको सङ्कीर्ण राष्ट्रवाद नै । महेन्द्रको भन्दा पनि एमालेको राष्ट्रवादले अन्ततः मुलुकलाई गम्भीर गृहयुद्धतर्फ धकेल्दैछ । अन्ततः यो प्रवृत्ति चरम राष्ट्रघातमा अभिव्यक्त हुनेछ । किनकि आफ्नो मुलुकको राष्ट्रियतालाई अन्य शक्तिकेन्द्रको रणनीतिक स्वार्थसँगै मिलाउँदा तत्काल फाइदा भए पनि कालन्तरमा मुलुकको सार्वभौमसत्ता धरापमा पर्ने निश्चित छ । यसमा स्वाभिमानी नागरिकले गम्भीर भएर सोंच्नुपर्ने देखिन्छ । महेन्द्रीय राष्ट्रवादमा पनि आन्तरिक राष्ट्रियताको सुनिश्चितता त थिएन । तर शक्तिकेन्द्रको इसारामा थिएन । यता एमालेको राष्ट्रियता अमेरिकन सीआईएको ग्र्यान्ड डिजाइनमा तय गरिएको बताइन्छ । अमेरिकाले चीनलाई घेराउ गर्नका लागि एमालेलाई अघि बढाएको दाबी गरिन्छ । यो विषय सत्य हो भने राष्ट्रियताको नाममा भोलि नेपाल नवऔपनिवेशिक रणनीतिक स्वार्थको युद्धमैदान बन्ने निश्चित छ । अर्थात अतिराष्ट्रवादकै फेरो समात्ने हो भने नेपाल दोस्रो अफगानिस्तान बन्ने खतरालाई नजरअन्दाज गर्न सकिन्न ।
त्यसकारण साँचो राष्ट्रवादी शक्तिहरूले भूगोल र भावनामा सीमित गरिएको राष्ट्रियताको निहित स्वार्थलाई पर्दाफास गर्नुपर्दछ । राष्ट्रवादलाई भूगोल, भावना र सिमानामा मात्र सीमित गर्ने भ्रम र षड्यन्त्रलाई चिर्नु पर्छ । वास्तवमा भूगोल, भावना र सिमानाको अलवा आन्तरिक राष्ट्रियता वा जनवाद र जनजीविकाको सग्लोरूप नै प्रगतिशील राष्ट्रवाद हो । प्रगतिशील राष्ट्रवादमा समानता र सामाजिक न्यायसमेत अटाएको हुन्छ । यो मौसमी नभएर राष्ट्र रहेसम्म जारी रहने निरन्तर आन्दोलन हो । अर्थात आन्तरिक राष्ट्रियता, जनवाद र जनजीविकाको समग्र तथा व्यावहारिक कार्यान्वयन नै प्रगतिशील राष्ट्रवाद हो । स्वाभिमानी जनताले चाहेको पनि यही प्रगतिशील राष्ट्रवाद हो ।
तर विडम्बना नै भन्नुपर्छ नेपालमा जो राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिन्छ, उसको अन्त्य सुखद् देखिन्न । यो सार्वभौम मुलुकको लागि गम्भीर खतरा र चुनौतीको सङ्केत हो । गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईको अन्त्य सुखद् रहेन । जीवनको उत्तराद्र्धतिर गिरीजाप्रसाद कोइराला अरू नेताहरूको तुलनामा राष्ट्रवादी दरिएका थिए । गिरिजाले अनौपचारिक भेटघाटमा प्रचण्डसँग तपार्इंहरूले मात्र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्नुहुन्छ । अरूको विस्वास छैन भनेको प्रसङ्ग आज पनि चर्चामा रहेको बताइन्छ । यसैको परिणाम पार्टीभित्रै अन्य दलाल पात्र खडा गरेर गिरिजालाई पाखा लगाइएको बताइन्छ । यता सुशील कोइरालाको हकमा त्यही नवऔपनिवेशिक चक्रव्यूह लागू भएको दाबी गरिन्छ । अझ सुशीलको त मृत्युलाई समेत रहस्यापूर्ण भएको बताइन्छ । हार्ने निश्चित हुँदाहुँदै पनि जबरजस्ती प्रधानमन्त्रीमा उठाएर कार्टुन बनाउँदै पतन गराएको इतिहास पनि विचारणीय देखिन्छ । यस घटनाले साम्राज्यवादी उपयोगीतावादी नीतिको पुष्टि गर्छ ।
तसर्थ, पछिल्लो समय नेपाली राष्ट्रियता अमेरिकी रणनीतिक स्वार्थको चौघेरामा बन्दी भएको बताइन्छ । यो महेन्द्रीय सामन्तवादी राष्ट्रवादभन्दा खतरा र पश्चगामी देखिन्छ । महेन्द्रको भूगोल, भावना र सिमानाको राष्ट्रवादमा तेस्रो मुलुकको रणनीतिक स्वार्थ जोडिएको थिएन । तर हाल एमालेको सङ्कीर्ण राष्ट्रवादको जुइनो सीआईएको चीन घेराबन्दीको रणनीतिसँग गाँसिएको बताइन्छ । अर्थात नेपालको राष्ट्रियता पश्चिम–दक्षिणको नवऔपनिवेशिक चङ्गुलमा फसेको देखिन्छ । हाम्रो राष्ट्रियता उनीहरूको रणनीतिक स्वार्थको साधन मात्र बनेको छैन, साम्राज्यवादी सञ्जालमा जेलिँदै गएको छ । नेपाल नवऔपनिवेशिक स्वार्थको रणभूमि बन्ने गम्भीर खतरा देखिन्छ । यसले हाम्रो राष्ट्रियता सङ्कटमा परेको पुष्टि गर्छ ।
त्यसैले नेपालको अस्तित्व र अस्मिता बचाउने हो भने सम्पूर्ण देशभक्त, प्रगतिशील तथा परिवर्तनकामी जनता एकजुट भएर सङ्घर्ष गर्नुको विकल्प छैन । पश्चिम, दक्षिण र उत्तर ढल्केको राष्ट्रियतालाई सन्तुलित, सुझबुझ र परिपक्व कूटनीति मार्फत तेस्रो प्रगतिशील राष्ट्रवादी धाराको विकास गर्नु इतिहासको अपरिहार्य आवश्यकता देखिन्छ । यो धाराले मात्र शान्ति र सहअस्तित्वमा आधारित सन्तुलित कूटनीतिलाई संस्थागत गर्दै स्वाधीन र समृद्ध नेपाल बनाउनेछ ।