बजार खुलेपछि व्यवसायीहरुको चहलपहल : पसल खुल्यो तर ग्राहक आएनन्
टिकाथलीकी सीता थापा चाँडै उठेर घरको काम सकेर पसल आउन थालेको तीन दिन भयो । झण्डै ७८ दिनसम्म उनी बन्द कोठामा बसिन् । लामो लकडाउनपछि पसल खोलेर व्यवसाय सञ्चालन गर्न थालेको उत्साह एकापट्टि छ भने दिनभरी पसल रुँगेर बस्दा पनि ग्राहक नआउँदा उनलाई पिरोल्न थालेको छ । उनको घर नुवाकोट हो तर जडिबुटिमा उनको कपडा पसल छ । लामो समय बन्द रहेको पसल खोल्न पाउँदा उत्साहित थापा व्यापार नहुँदा तनावमा छिन् ।
‘अब त अति भयो भनेर एक दिन त सरकारको लकडाउन अवज्ञा गर्दै पसल खोलियो अब त सरकारले पनि खोल्न छुट दिएको छ,’ भन्दै रातोपाटीकर्मी उनको पसलमा पुग्दा उत्साह र दुखेसो दुबै एकै पटक पोख्न थालिन् । उनी भन्छिन्, ‘नुवाकोटबाट आएर टिकाथलीमा कोठा लिएर बसेको छु । यता जडिबुटीमा पनि पसल छ । यसको महिनाको १७ हजार भाडा तिर्नुपर्छ । उता आफू बस्ने कोठाको भाडा १० हजार मासिक तिर्नुपर्छ । ४ जनाको परिवार छौं । यही कपडा पसलको आम्दानीले सबै घरखर्चहरु गर्नुपर्छ । तर यत्रो दिन पसल बन्द भयो । पैसा आउने ठाउँ पनि बन्द भएपछि कोठा भाडाको मिटर बढेको बढ्यै छ । यता पसल खोलेपनि ग्राहकहरु एक दुई जना मात्र आउँछन् । यस्तो भयो भने कसरी गुजारा चलाउँनु ?’ थापाको चिन्ता थपिँदो छ, ‘अझै कोरोना बढेको बढ्यै छ फेरि लकडाउन भयो भने म त उठ्नै नसक्ने गरी डुब्छु !’
आफू बस्ने कोठाको भाडा १० हजार मासिक तिर्नुपर्छ । ४ जनाको परिवार छौं । यही कपडा पसलको आम्दानीले सबै घरखर्चहरु गर्नुपर्छ । तर यत्रो दिन पसल बन्द भयो । पैसा आउने ठाउँ पनि बन्द भएपछि कोठा भाडाको मिटर बढेको बढ्यै छ । यता पसल खोलेपनि ग्राहकहरु एक दुई जना मात्र आउँछन् । यस्तो भयो भने कसरी गुजारा चलाउँनु ?’ थापाको चिन्ता थपिँदो छ, ‘अझै कोरोना बढेको बढ्यै छ फेरि लकडाउन भयो भने म त उठ्नै नसक्ने गरी डुब्छु !’
उनको मात्र होइन ललितपुर गोटीखेल बस्ने हरि घिमिरेको व्यथा पनि उस्तै छ । उनको कोटेश्वरमा फोटो स्टुडियो छ । उनले आजदेखि मात्रै स्टुडियो खोल्न थालेका हुन् । अहिले त पहिलाको जस्तो व्यापार पनि हुँदैन । लकडाउन खुकुलो भएपछि खोलेको स्टुडियोमा मान्छे आएका छैनन् । उनी त्यही पसल कुरेर बसेका छन् । धन्न उनका घरबेटीले भाडाको लागि किचकिच गरेका चाहिँ छैनन रे !
अर्की व्यवसायी झापा घर भएकी जयन्ता संग्रौला भक्तपुर बस्छिन् । उनको कस्मेटिक व्यवसाय छ । उनलाई पनि उस्तै पिरलो छ । बल्लतल्ल पसल खोलियो तर व्यापार छैन । उनले हामीलाई उल्टै प्रश्न गरिन्, ‘तपाईं त पत्रकार कहिलेसम्म यस्तो होला बताइदिनुस् न !’ उनी भन्छिन्, ‘यी हेर्नुस धेरै दिन पछि पसल खोलेर फोहोर सफा गर्दैछु । अहिलेसम्म एकजना पनि ग्राहक आएका छैनन् । म त ग्राहक आए भनेर खुसी भएको थिएँ तर पत्रकार पर्नुभएछ । अब भाडा कसरी तिर्ने, केले किनेर खाने, व्यवसाय अझै कति दिन यस्तै हुने हो, अन्योल छ । ’
यी त प्रतिनिधि व्यवसायी हुन् । करिब करिब यिनको जस्तै कथा अरु व्यवसायीको पनि छ । कोरोनाले निम्त्याएको यो सबैको साझा समस्या हो । पसल खोल्न त केही सजिलो भयो तर व्यवसाय सुचारु नहुँदा अन्यौल थपियो ।
यद्यपि, पसल खोलेका उनीहरुले स्वास्थ्य सुरक्षाको सामान्य उपाय भने अपनाएको देखिन्छ ।
सरकारले कोभिड १९ नियन्त्रणका लागि भन्दै चैत ११ गतेदेखि लकडाउँनको घोषणा गर्यो । पटक पटक थपिएको लकडाउन अति भएपछि व्यवसायीहरु ‘रोगले भन्दा भोकले मर्ने दिन आउन लागेको’ भन्दै जर्बजस्ती पसल खोल्न थाले । सरकारले पनि उनीहरुले जर्बजस्ती गरेपछि लकडाउन केही खुकुलो बनाउँदै ८० औ दिनमा पसलहरु खोल्न दिने व्यवस्था गर्यो । बजार धमाधम खुल्न थालेको छन् तर उपभोक्ताको आवतजावत निकै पातलो छ ।
श्रमिकलाई काममा फर्काउने तयारी गर्दै व्यवसायी
यता व्यवसायीहरुको छाता संगठनका प्रतिनीधिहरुले बजार खुल्न दिनु सरकारको सकारात्मक कदम भएको उल्लेख गर्दै आएका छन् । अहिले व्यवसाय खोल्न सरकारले नदिएको भए व्यवसायीहरु राजस्व तिर्नै नसक्ने अवस्थामा पुग्नसक्ने उनीहरुले बताए ।
लकडाउनले व्यापार व्यवसाय बन्द हुँदा मजदुरहरु घर फर्केका थिए । ती मजदुरलाई काममा फर्काउँन अब सरकारले सहजीकरण गरिदिनुपर्ने उनीहरुको माग छ । उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा ‘अहिले १५ प्रतिशत कामदार उपलब्ध रहेको तर व्यवसायलाई सहज ढंगले सुचारु गर्न अब शतप्रतिशत कामदार आफूहरुलाई चाहिएको’ बताउँछन् । उनले ‘ती कामदार फर्काउन प्रयास गरिने’ पनि बताए । यस्तै उद्योग परिसंघका अध्यक्ष सतिस मोरले पनि ‘व्यवसायलाई पूर्ण क्षमतामा ल्याउन पहल गरिने’ उल्लेख गरे ।
पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर व्यापार व्यवसाय खोल्न उनीहरुले आग्रह समेत गरेका छन् । स्यानिटाइजर, मास्क, पन्जा लगायतका समान्य सुरक्षा उपाय अपनाएर व्यवसाय खोल्न उनीहरुले भनेका छन् ।
पसल खुल्यो, ग्राहक छैनन् : केही तस्विरहरु –