बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

घरभाडा छुट गर्ने घरधनी सम्मानित

आइतबार, ३२ जेठ २०७७, १२ : ५८
आइतबार, ३२ जेठ २०७७

महोत्तरी । महोत्तरीको बर्दिवास नगरमा बन्दाबन्दीको अवधिभरिको घरभाडा नलिने घोषणा गरेका घरधनी सम्मानित भएका छन् । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी गरिएको लकडाउन अवधिको घरभाडा नलिने घोषणा गरेका घरधनीलाई बर्दिवास उद्योग वाणिज्य सङ्घले शनिबार सम्मान गरेको हो । बर्दिवास–१ का हर्कबहादुर तामाङ, वडा नं ३ का माधव लामिछाने र रामकुमार कार्कीले गत चैतमै लकडाउन अवधिभरिको घरभाडा नलिने स्वेच्छिक घोषणा गरेका थिए।

वाणिज्य सङ्घको भवनमै सम्पन्न सम्मान कार्यक्रममा सम्मानित तामाङले बन्दाबन्दीका बेला व्यापार व्यवसाय सबै ठप्प भएका हुँदा व्यापारीको मनोबल घट्न नदिन भाडा नलिने स्वेच्छिक घोषणा गरेको बताए  । तामाङले सम्मान कार्यक्रममै गत चैतदेखि जेठ मसान्तसम्मको घरभाडा नलिन सबै घरधनीलाई अपिल पनि गरे । 

‘व्यापार व्यवसाय बन्दाबन्दीले ठप्प भएका बेला साना व्यापारीले कसरी भाडा दिन सक्लान् ?’, तामाङ्ले भने– ‘व्यवसाय जिउँदो राख्न पनि सबै घरधनीले मन फराकिलो बनाउनैपर्छ ।’ यस कार्यमा जिल्लाका सबै उद्योग वाणिज्य सङ्घ र स्थानीय प्रशासनले आवश्यक समन्वय गरिदिनपर्ने तामाङको सुझाव थियो । तामाङको बर्दिवास–१ औैरहीरोडस्थित दुईतले भवनमा १७ सटरमा व्यापार व्यवसाय हुँदै आएको छ । 

त्यसैगरी लामिछानेको बर्दिवास–१ गालटारचोक नजिकै सञ्चालित नमूना तरकारी बजारमा २० व्यापारिक सटर सञ्चालन हुँदै आएका थिए । बर्दिवास–३ गौरीडाँडामा कार्कीको पक्की भवनमा होटल सञ्चालन हुँदै आएको थियो । कार्की सिन्धुलीको घ्याङलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । सम्मानित घरधनीले बन्दाबन्दीपूर्वझैँ व्यवसाय सञ्चालन गर्न सबै व्यापारीलाई अपिल गरेका छन् ।

सम्मान कार्यक्रममा बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रह्लाद क्षेत्रीले सम्मानित घरधनीको अनुशरण गर्दै सबै घरधनीलाई बन्दाबन्दी अवधिको घरभाडा छुट गर्न अपिल गर्नुभयो । घरधनीका कर छुटलगायतका कुरामा सङ्घले आवश्यक समन्वय गरिरहेको क्षेत्रीको भनाइ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप