शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा लकडाउनका अवधिमा ६० प्रतिशत निर्माणका योजना सम्पन्न

शनिबार, ३१ जेठ २०७७, १८ : २४
शनिबार, ३१ जेठ २०७७

रुपन्देही । रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवामा लकडाउनका बीचमा पनि चालू आर्थिक वर्ष २०७६/०७७ का ६० प्रतिशत निर्माणका योजना पूरा भएका छन् । नगरपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख हरिप्रसाद अधिकारीले भने– ‘हालसम्म सञ्चालित योजना ६० प्रतिशत निर्माणकार्य सम्पन्न भएका र बाँकी योजना सञ्चालनमा रहेका छन् ।’

नगरपालिकाले चालू वर्षका लागि निर्माण योजनामा पाँच किलोमिटर पक्की नाला, चार किलोमिटर ग्राभेल सडक, साढे तीन किलोमिटर आरसिसी, दुई किलोमिटर सडक कालोपत्र बनाउने कार्यक्रम थियो । यसैगरी विभिन्न १२ भवन निर्माण, कल्भर्ट, सिञ्चाइ बोरिङ २६ थान, पार्क एउटा, हाटबजार निर्माणको कार्य पनि अगाडि बढेको प्रमुख अधिकारीले बताए । 

नगरमा शहरी विकास आयोजनाअन्तर्गत २५ किलोमिटर सडक कालोपत्र, ६२ किलोमिटर नाला निर्माण, १० किलोमिटर फुटपाथ र दुई हजार बिरुवा पनि वृक्षरोपण भइसकेको छ । नगरका १३ वडामा रु २३ करोड तीन लाख ६२ हजार ७३ मा सडक निर्माण, कालोपत्र, नाला निर्माण, विभिन्न भवन निर्माणको काम भइरहेकको सो अवसरमा नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए ।

कार्यक्रममा सिद्धार्थ नगरपालिकाले अहिलेसम्म कोरोना भाइरस नियन्त्रणका लागि गरेको विभिन्न प्रयास र कार्यक्रमका बारेमा पनि जानकारी गराइएको थियो । नगरका सूचना अधिकारी देव ज्ञवालीका अनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म रु एक करोड ३४ लाख १९ हजार ९६६ रकम जम्मा भएको छ । 

उक्त रकममध्ये नगरभित्रका मजदूरका लागि राहतका लागि चामल खरिदमा रु ५६ लाख एक हजार २८०, दाल खरिदका लागि १९ लाख ६५ हजार ९३६, तेल खरिदका लागि रु दुई लाख ८० हजार, नून खरिदका लागि रु तीन लाख ४६ हजार ३०२ खर्च भएको बताइएको छ । 

यसैगरी नगरपालिकाले क्वारेन्टाइनमा बसेकाका लागि खाना खर्चमा रु १७ लाख ७४ हजार ७९८ खर्च गरेको बताएको छ । क्वारेन्टिनमा बसेकाका लागि १५ दिन मारबाडी सेवा समाजले निःशुल्क खाना खुवाएको थियो । त्यसयता नगरले प्रतिछाक प्रतिव्यक्ति रु ७३ खर्चेर मायादेवि च्यारिटीटेबल फाउन्डेसनमार्फत क्वारेन्टिनमा बसेकाका लागि खानाको व्यवस्थापन गरिरहेको छ । 

विभिन्न क्वारेन्टिनमा एक हजार ३०० जनालाई राखिसकिएको छ । भारतका विभिन्न क्षेत्रबाट स्वदेश फर्किनेले प्रयोग गर्ने मुख्य नाका बेलहियाका कारण लकडाउनको शुरुका महिना भैरहवाका विभिन्न क्षेत्रमा नेपालीलाई राखेर कोरोना परीक्षणपश्चात् मात्रै घर पठाउने गरिएको थियो । तर पछिल्लो केही हप्तायता सिधै बेलहिया सीमाबाट आफ्नो जिल्ला पठाउने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप