मधेशी नेताहरू ! जयचन्द होइन पुरु बन्न खोज
अन्ततः मधेशवादी भनिएका तराई प्रदेशमा क्रियाशील साना क्षेत्रीय दलहरूको मोर्चा (?) राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचनमा सहभागी हुने भएको छ । सर्वप्रथम तराईका मुद्दालाई उठाउने उपेन्द्र यादवको समाजवादी फोरम र विजय गच्छदारको फोरम लोकतान्त्रिकले भने यस अघि भएका दुवै निर्वाचनमा दह्रो सहभागिता जनाइसकेका छन् । दुई फोरमले आफ्ना दललाई राष्ट्रिय स्तरको आकारमा विकसित गर्न कोशिस गरिरहेका छन् । ती दलले मूलतः तराई प्रदेशमा प्रभाव पार्ने भए पनि विस्तारै राष्ट्रव्यापी पहुँच विस्तार गर्दै छन् ।
पटक–पटक चुनाव भाँड्न खोज्ने र बहिष्कारको नारा लगाउने राजपाले पनि निर्वाचनमा सहभागिता जनाउनुलाई राष्ट्रिय राजनीतिमा एउटा उपलब्धिमूलक घटनाको रूपमा हेरिएको छ । यद्यपि राजपाभित्र पनि अझै निर्वाचन बहिष्कारको पक्षमा उभिनेको उपस्थिति नभएको होइन । उपेन्द्र यादवको पार्टी मधेशी मोर्चाबाट अलग भएपछि अस्तित्वको सङ्कट बेहोर्न पुगेका साना पार्टीहरूको एकीकरणपछि बनेको राजपाभित्र हृदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला समेतका नेता पार्टी बचाउन, सङ्गठन विस्तार गर्न र कार्यकर्तालाई परिचालन गर्न चुनावमा भाग लिनुपर्छ भन्ने पक्षमा थिए भने महन्थ ठाकुर, अनिल झाहरू त्यसको विपक्षमा । चुनावकै घटनाले एउटा प्लेटफर्मका रूपमा रहेको राजपा चुनावकै विषयलाई लिएर झण्डै झण्डै विघटनको स्थितिमा पुगेको थियो ।
हुन त मुलुकका प्रायजसो पार्टी कुनै न कुनै हिसाबले बाह्य प्रभावको शिकार भएका छन् । ठूला भनिएका दलहरू समेत त्यसको आरोपबाट मुक्त छैनन् । तर तराई आन्दोलन र तराई केन्द्रित दलको सन्दर्भ चाहिँ ठूला र राष्ट्रिय दलको भन्दा भिन्न छ । तिनका क्रियाकलाप ती दलको भन्दा भिन्न छ । तिनका क्रियाकलाप, ती दलका नेताका अभिव्यक्ति र कथित मधेश आन्दोलनको प्रवृत्तिले पनि अलि भिन्नै रूपमा हेर्न बाध्य पारिएको छ । कुनै कुराको टुङ्गो गर्नुपर्यो भने मधेशी दलका नेता हुल बाँधेर भारतीय दूतावासमा पुग्ने, अझ ठूलो निर्णय गर्नुपर्दा दिल्ली हानिने, नेपाल र नेपालीलाई अपमानित गरेर अभिव्यक्ति दिने, सङ्घर्षका कार्यक्रम बनाउँदा सकेसम्म दूतावासकै निर्देशन लिने गरेका घटनाले पनि राजपाका सबै घटकको स्वतन्त्र अस्तित्वमाथि प्रश्नचिन्ह लागेको छ । ‘एक मधेश एक प्रदेश हुँदैन भने एक नेपाल पनि हुँदैन ।’ मधेशका सम्पूर्ण नाका ब्लक गरिदिन्छौँ, त्यसपछि पहाडियाहरू के खान्छन्, तेल कहाँबाट ल्याउँछन् ? भन्ने जस्ता अभिव्यक्ति मधेशी नेताबाटै आउँदा नेपाली जनतामा रहेको तिनीहरूप्रतिको आस्थाको धरहरा ढल्नु स्वभाविकै हो । आन्दोलनकै बेला टीकापुर काण्ड, जलेश्वरबाट जनकपुर लाँदै गरिएको घाइते प्रहरीलाई एम्बुलेन्सबाट थुतेर गरिएको निर्मम हत्या र राष्ट्रिय झण्डा जलाउने, नेपाल सरकार लेखिएका साइनबोर्ड हटाएर मधेश सरकार भनेर राख्ने जस्ता घटनाले मधेशी नेताप्रति नेपाली जनताको धारणा सकारात्मक बन्न सकेको छैन ।
जे भए पनि ढिलो चाँडो मधेशी दल निर्वाचन प्रक्रियामा सामेल भएको छ । हुन त उसले यो निर्वाचनलाई पनि आन्दोलनकै रूपमा उपभोग गर्ने भनेको छ । प्रत्येक निर्वाचनले राजनीतिक आन्दोलनकै हैसियत राख्छन् । चुनावमा सहभागी दलले निश्चित अवधिका लागि शक्ति हत्याउन खोज्नु वा सत्ता (स्थानीय÷केन्द्रीय) प्राप्त गर्न खोज्नु भनेको आन्दोलनकै मोर्चा कस्नु हो । त्यस अर्थमा पनि मधेशी दलको निर्वाचनलाई आन्दोलनको रूपमा लैजाने निर्णयलाई अन्यथा ठान्न मिल्दैन ।
देशभक्त मधेशी जनतालाई बाह्य इसारामा नाच्ने तत्वले गुमराहमा पारेर फाइदा लिन खोजिरहेको यथार्थ समय छँदै सार्वजनिक गरिनुपथ्र्यो । सीमान्त प्रदेशका जनता विभिन्न कारणले बढी नै राष्ट्रवादी हुन्छन् भन्ने तथ्यलाई घटनाक्रमले पुष्टी गरिसकेका छन् । तर, ती जनताको संवेदनशील भावनामाथि खेल्ने, युवाशक्तिलाई भड्काउने, उत्तेजना पैदा गरिदिने काम यता केही दशकदेखि सिलसिलेवार रूपमा भैरहेको छ । यसले हाम्रो अखण्डतामा आँच पुर्याउने निश्चित छ । निहित स्वार्थ भएका सीमित व्यक्तिको स्वार्थपूर्तिको औजारको रूपमा सिङ्गो मधेशलाई प्रयोग गर्न खोज्ने दुष्प्रयास विरुद्ध देशभक्त एवं स्वाभिमानी मधेशी जनता नै खडा नभई यो समस्या समाधान हुनसक्दैन ।
संविधान संशोधन नगरी चुनावमा नजाने मधेश केन्द्रित दलको अडान विचित्रको थियो । संशोधनका लागि आवश्यक गणितको ज्ञान भएर पनि त्यस्तो ढिपी नछाड्नुले उसको नियतमाथि शङ्का उठ्नु स्वभाविक हुन्छ । वैशाखमा एकै चरणमा निर्वाचन गर्दा साधन स्रोतको जुन सदुपयोग हुन्थ्यो, स्थायित्व विकास र शान्तिको आधार निर्माणमा जुन सहजता हुन्थ्यो, मधेशी दललाई ल्याउने नाममा पटक–पटक निर्वाचन सार्दा, विभिन्न चरणमा चुनाव गर्दा त्यस्तो हुन पाएन । महन्थ ठाकुर वा राजेन्द्र महतोले जय चन्दको भूमिका खेल्दा कुनै न कुनै रूपमा राजा पुरु पनि जन्मन्छन् भन्ने तथ्यलाई सीमा सङ्कटमा खडा हुने जनताले प्रमाणित गरिदिए ।
अबको दुनियाँमा कसैको संवेदनलाई भड्काएर बाह्य इसारामा चलेर वा यथार्थबाट जनतालाई विमुख गएर राजनीति गर्न सम्भव छैन । यो तथ्यप्रति मधेशी नेता पनि जानकार छन् । तर बुझ पचाएर र ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने लिँडेढिपी गरेर अघि बढ्न खोज्नु राम्रो होइन । त्यसले न राष्ट्रलाई फाइदा पुग्छ न त ती दल वा तिनका नेतालाई नै । हामीले हरेक कदममा राष्ट्रको हित हेर्नुपर्छ । साँच्चै राष्ट्रहित भनेको सम्पूर्ण राष्ट्र तसर्थ मधेश –पहाड, धनी–गरिब, वर्ग, लिङ्ग, जातजाति सबैको हित हो । यस वास्तविकतालाई अस्वीकार गर्न खोज्ने तत्व आफैं पतन भएर जाने निश्चित छ ।
निर्वाचनको मैदानमा उभिएको राजपाले अब आफ्नो विगतलाई इमानदारीपूर्वक समीक्षा गर्नुपर्छ । गल्ती कमजोरी सच्याउने आँट गर्नुपर्छ । जघन्य अपराधका घटनाका लागि जनतासँग माफी माग्नुपर्छ । आफ्नै खुट्टामा उभिएर अघि बढ्ने सङ्कल्प गर्नुपर्छ । लाजमर्दो रूपमा भारतीय शासक वर्गको कठपुतलीका रूपमा काम गरेर न त उसले निर्वाचन जित्छ, न उसको राजनीतिक भविष्य नै सुरक्षित हुन्छ । एउटा स्वार्थपूर्तिका लागि बोक्नेले त्यो प्रयोजन सकिएपछि दूधमा परेको झिँगा फालेझैँ मिल्काइ दिन्छ ।
अर्को महत्वपूर्ण पक्ष भनेको समस्या उठाएर निहुँ खोज्ने प्रवृत्ति त्याग्नु हो । हामी समस्या नै समस्याले जेलिएका छौँ । सारा संसार समस्याग्रस्त छ । हामीले समस्यालाई जीविकाको आधार बनाउनु हुँदैन । सबै मिलेर समाधान खोज्नतिर लाग्नुपर्छ । मधेश, पहाड, हिमाल, उपत्यका वा खोंच सबै समस्या हाम्रै समस्या हुन् । तिनको समाधान हामीले नै गर्नुपर्छ । कुनै विदेशीले आएर गरिदिँदैन । चुनाव लडेपछि हार्न पनि सकिन्छ, जित्न पनि सकिन्छ । एमाले अध्यक्ष खड्ग ओलीले भनेजस्तो सबैतिर चुनाव जितेर दिग्विजयी सम्राट बन्न चुनावी माध्यमबाट सम्भव छैन । त्यो अधिनायकवादी व्यवस्थामा मात्र सम्भव छ ।
चुनावलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने, कार्यक्रमको अधारमा मोर्चा निर्माण गरेर विजयको आधार खडा गर्ने कुरा अरू दललाई जस्तै राजपालाई पनि आवश्यक छ । तर, सच्चा लोकतन्त्रवादी पार्टीले हारजितलाई होइन मूल्य मान्यतालाई महत्व दिन्छ । अब आफूलाई मधेशीहरूको मसिहा ठान्ने राजपाको अग्निपरीक्षाको घडी आएको छ । उसले चुनाव जित्छ कि हार्छ भन्ने परीक्षा होइन, उसले आफूलाई सच्चा लोकतन्त्रवादी, इमानदार, राष्ट्रवादी र स्वविवेकले निर्णय गर्ने स्वतन्त्र पार्टीको हैसियतमा आफूलाई स्थापित गराउन सक्छ कि सक्दैन । उसको भविष्य त्यसैमा निर्भर रहन्छ । यो चुनाव राजपाका लागि अन्तिम अवसर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा