शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पिसीआर नगरी छ सङ्क्रमितलाई घर पठाइँदै

शनिबार, ३१ जेठ २०७७, १२ : ०५
शनिबार, ३१ जेठ २०७७

कोरोनाको  सङ्क्रमण देखिएपछि भरतपुर अस्पताल र भरतपुर कोरोना विशेष अस्पतालमा राखिएका पाँच जनालाई अस्पतालले डिस्चार्ज गरेको छ । 

उनीहरुको डिस्चार्ज शुक्रबार भएको भए पनि आज घर जाँदैछन् । डिस्चार्ज हुनेमा नवलपुर देवचुली वडा नं १ र १२ का दुई, विनयत्रिवेणी–६ नवलपुरका एक र भरतपुर महानगरपालिका–६ का तीन छन् । 

भारतमा क्यान्सरको उपचार गराएर फर्किएका भरतपुर–६ केशरवागका एक वृद्ध, उनकी श्रीमती र छोरासमेतलाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
 
उनी भरतपुर अस्पतालमा २१ दिनदेखि बसिरहेका छन् । यस्तै देवचुली–१२ का ४९ वर्षीय सङ्क्रमित ३१ दिन र देवचुली नगरपालिका–१ का सङ्क्रमित १५ दिन र विनयत्रिवेणी नगरपालिका– ६ का सङ्क्रमित २० दिनदेखि अस्पतालमा बसिरहेका छन् । 

सरकारले गत जेठ २० गते जारी गरेको राष्ट्रिय जाँच परीक्षण निर्देशिकाअनुसार कोरोना सङ्क्रमित व्यक्तिमा सङ्क्रमण लक्षणमुक्त भएको तीन दिन र जम्मा भर्ना भएको १४ दिनपछि परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएसँगै उनीहरुलाई डिस्चार्ज गरिएको तिवारीले जानकारी दिए ।
 
यस्ता बिरामीबाट कोरोना सङ्क्रमण अरुमा सर्ने सम्भावना न्यून भएको हुँदा परीक्षण नगरी घर पठाइने उनले बताए ।  

तिवारीले कुनै पनि सङ्क्रमण पुष्टि भएका बिरामीलाई दोहो¥याएर परीक्षण नगरिने बताए । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले डिस्चार्ज भएका सबै जनालाई घरमा गएर थप १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, सबै नियमको पालना गर्न सुझाव दिइएको बताए । 

सङ्क्रमितलाई एक मिटरको दूरी कायम गरेर बस्न, साबुनपानीले पटकपटक हात धुन, पौष्टिक र सन्तुलित खानपान गर्न भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप