सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा समेटिएको संविधान संशोधन विधेयक यसरी हुँदैछ पारित

शनिबार, ३१ जेठ २०७७, ११ : ५०
शनिबार, ३१ जेठ २०७७

काठमाडौं । आज शनिबार बस्ने प्रतिनिधिसभा बैठकले नेपालको अद्यावधिक नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्दैछ ।

 नेपालको इतिहासमा आजको दिनलाई नेपाली जनताले अर्को इतिहास रच्ने दिनका रुपमा लिएका छन् । 

दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने संसद सचिवालयको कार्यसूची छ । 

संसद सचिवालयको कार्यसूचीमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको दफावार छलफल सदनमा विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भन्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक अघि बढाएको हो । 

नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।

नेपालका सवै राजनीतिक दलहरुले नेपाली भुभाग समेटिएको नक्सा कार्यान्वयनमा ल्याउन गरिएको संशोधनप्रस्तावलाई समर्थन जनाएका छन् । तर जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले भने उक्त विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।

गिरीको संशोधन प्रस्तावमा विधेयक नै खारेजी गर्नुपर्ने उल्लखे छ ।  गिरीले नेपालको भौगोलिक अखण्डताको विपक्षमा राष्ट्रहित विपरितको संशोधन दर्ता गरेको भन्दै सर्वत्र विरोध भइरहेको छ । 

गिरीले संशोधन प्रस्ताव दर्ता गरेपछि उनको दल जनता समाजवादीले फिर्ता लिन निर्देशन दिएको छ । तर उनले अटेर गरेकी छन् ।

 उता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना सांसदलाई संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ। जनता समाजवादी पार्टीले पनि संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप