मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

वडा अध्यक्षको न्यायः चोरीको आरोपमा मुसहर युवाहरुमाथि लठ्ठी बर्साइयो !

वडा अध्यक्ष भन्छन्, ‘यो त खुशीको कुरा हो’
शुक्रबार, ३० जेठ २०७७, २३ : ३०
शुक्रबार, ३० जेठ २०७७

काठमाडौँ । सरकार देशमा कानुनी राज्य छ भन्ने दाबी गर्छ । तर, सप्तरी जिल्लामा शुक्रबार घटेको एक घटनाले सरकारको दाबीमाथि ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ । जनताबाट चुनिएका जनप्रतिनिधि कै अगुवाइमा कानुनी राज्यको धज्जी उडाइएको छ । चोरीको आरोपमा पक्राउ परेका युवाहरुलाई कानुनी कारवाहीको साटो भीडले सजाय दिइएको छ ।

सप्तरी जिल्लाको बेल्ही चेपना वडा नम्बर–४ का पाँचजना मुसहर समुदायका युवाहरु चोरीको आरोपमा पक्राउ परेका थिए । उनीहरुमाथि गाउँको स्कूल तथा अन्य किसानको खेतबाट पान्ने तान्ने मोटर तथा अन्य समान चोरी गरेको आरोप लागेको थियो ।

उनीहरुलाई पक्राउ गरी प्रहरीमा बुझाउनुको साटो वडा कार्यालयमा थुनेर राखियो । त्यसपछि वडा अध्यक्ष हेमनारायण साहको उपस्थितिमा चोरीको आरोपका फैसला गर्नका लागि बिहीबार दिउँसो पञ्चायती बसेको थियो । पञ्चायतीमा ती पाँचजना युवा दोषी देखिए । त्यसपछि वडा अध्यक्ष हेमनारायण साहले पक्राउ परेका प्रत्येक युवालाई बाँसको कर्ची (लठ्ठी) ले ११–११ पटक कुट्ने र दुईहजार ५०० नगद जरिवाना गर्ने निर्णय गरेका थिए ।

ती पाँचैजना युवालाई सम्पूर्ण गाउँका भद्रभलादमी, वडा अध्यक्ष साह तथा गाउँपालिका उपाध्यक्ष पुष्पमाला मण्डलका श्रीमान् विश्वेश्वर मण्डल लगायतको उपस्थितिमा एक–एक गरी लठ्ठीले कुट्न लगाइयो ।

युवामाथि लठ्ठी बर्सिरहँदा गाउँका भद्रभलादमी तथा जनप्रतिनिधि सबैले आनन्द लिइरहेका थिए । कसैले भिडियो बनाइरहेका थिए भने कसैले ताली बजाइरहे ।

घटनाबारे अध्यक्ष साह भन्छन्, ‘यो खुशीको कुरा हो, कुटपीट मात्र गरेर छाडिएको हो । यदि कानुनीरुपमा अगाडि बढेको भए त गरिब मुसहर समुदायलाई झन् अप्ठ्यारो हुन्थ्यो ।’

‘हामीले कुटेका पनि होइनौँ, उनकै आफन्तले सम्झाउन बुझाउन कुटेको हो । यसलाई अन्यथा लिनु हुँदैन, गाउँ समाजमा यस्तो हुन्छ,’ रातोपाटीसँग कुरा गर्दै वडा अध्यक्ष साहले भने ।

वडा अध्यक्ष साह पञ्चायतीले गरेको निर्णयमा गर्व गर्छन् । उनी भन्छन्, ‘कानुनी कारवाही गरेको भए अझै समस्या हुन्थ्यो । हामीले त झन् उनीहरुलाई बचाई दिएका हौँ ।’

उनले आफू त्यो पञ्चायतमा नरहेको पनि दावी गरे । बरु अरुले नै आफूलाई त्यहाँको घटनाबारे जानकारी गराएको दावी गरे ।

तर सो गाउँपालिका अध्यक्ष परमानन्द यादवले भने वडा अध्यक्षको उपस्थितिमा सो पञ्चायती भएको बताए । ‘त्यहाँ दोषीलाई पिटेको कुरा आफ्नो जानकारीमा छैन । तर वडाअध्यक्षमार्फत केही दण्डजरिवाना गरी छाडिएको जानकारी छ ।’

उनले भने, ‘यो कानुनी राज्य हो । यहाँ मानव अधिकारको उल्लङ्घन हुनुहुँदैन । यदि कसैले गल्ती गरेको छ भने प्रहरी प्रशासन छ, अदालत छ । त्यहाँबाट फैसला गर्नुपथ्र्यो । तर यहाँ समाजमा मिलाउने प्रयास गरेको देखिन्छ । गाउँ समाजमा यस्तो पहिलादेखि हुँदै आएको हो । तर यसरी कुटपीट नै गर्नु राम्रो काम होइन ।’ यदि कसैले आफूलाई आधिकारीकरुपमा जानकारी गराए, दोषीलाई कानुनी कारवाही गर्ने उनले दावी गरे ।

सो गाउँपालिका उपाध्यक्ष पुष्पपमाला मण्डलका श्रीमान् विश्वेश्वर मण्डलले पनि वडा अध्यक्ष साहको उपस्थितिमा सो पञ्चायती भएको र उनले नै त्यो निर्णय गरेको बताए । उनी भन्छन्, ‘म पनि त्यहाँ थिए । मुसहर समुदायका ती युवाहरुले गल्ती गरेकै हुन् । उनीहरुले गल्ती स्वीकार पनि गरे । त्यही भएर वडाअध्यक्ष साहले प्रत्येकलाई ११–११ लठ्ठी पिट्ने र २५ सय जरिवाना लिने निर्णय गर्नुभएको थियो । यो फैसला सुनाउँदासम्म म त्यहीँ थिएँ । तर पछि एउटा काम परेकाले त्यहाँबाट निस्केको थिएँ ।’

यो घटनाको बारेमा थाहा पाएपछि त्यहाँको पथरगाढा चौकीका प्रहरी पनि घटनास्थलमा पुगेको थियो । तर, वडा अध्यक्ष साहले ‘यो गाउँघरको कुरा हो । समाजमा यस्तो हुन्छ । पहिलादेखि चल्दै आएका चलन हो । यसलाई गाउँ समाजमै मिलाउँछौँ तपाईंहरु यसमा नपर्नु’ भन्दै फर्काएका थिए ।

यसरी चोरीको आरोपमा कुटाइ खानेमा अर्जुन सदा (१८ वर्ष), जैनु सदा (१४ वर्ष), जीवछ सदा (१६ वर्ष), कन्तालाल सदा (१८ वर्ष) र दुर्गे साह (अन्दाजी १८ वर्ष) का हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप