शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी र राजपा एकीकरणले जनता उत्साहित, नेता दुःखी !

शुक्रबार, ३० जेठ २०७७, १९ : ५६
शुक्रबार, ३० जेठ २०७७

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि जनता खुशी भएका छन् भने नेता दुःखी देखिएका छन् । दुई पार्टीबीच एकीकरण भएपछि आम जनताले खुशी व्यक्त गरिरहेका छन् भने ती पार्टीका नेता तथा कार्यकर्ताहरु दुःख व्यक्त गरिरहेका छन् । समाजवादी पार्टी र राजपा नेपाल मिलेर बनेको जनता समाजवादी पार्टीमा कार्यसमितिको विषयलाई लिएर केन्द्रदेखि स्थानीय तहसम्म असन्तुष्टि छ । राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन्, ‘यो असन्तुष्टि स्वभाविक हो, जसले पद पाएको छैन त्यसले असन्तुष्टि जनाइरहेका छन्, अरु दलमा पनि त्यस्तो भएको छ, भइरहेको छ । नेकपा एकीकरण भएको यत्रो दिन भयो अझै तलसम्म असन्तुष्टि देखिएको छ, राजनीतिमा यस्तो असन्तुष्टिलाई अन्यथा लिन मिल्दैन ।’ 

उनले नेपालको राजनीतिमा पद निकै महत्वपूर्ण कुरा हुने गरेको बताउँदै भने, ‘महन्थलाई पनि एक नम्बरै चाहिन्छ, डा.बाबुराम भट्टराई पनि एक नम्बरै पोजिसन किन चाहिएको होला ? जसरी माथि पदका लागि खिचातानी हुन्छ, त्यसरी तल पनि हुने गरेको छ, त्यही भएर जसले पद पाए खुशी छन् जसले पाएका छैनन् ती दुःखी छन् तर समग्रमा जनता खुशी नै देखिएका छन् ।’ ‘खाइपाइ आएको सुविधा वा पद खोसिएमा जो कोही पनि दुःखी हुन्छन्, त्यसमा पनि राजनीतिमा अलि बढी नै हुने गरेको छ’ साहको विश्लेषण छ ।

दुई पार्टी बीचको एकीकरणले जनता खुशी रहेको साहको भनाई छ । उनले तराई मधेशको एउटा छुट्टै शक्ति निर्माण भएको समेत बताए । ‘तराई काँग्रेसबाट मधेशमा शुरु भएको पार्टी निर्माणको प्रकृया गजेन्द्रनारायण सिंह हुँदै, उपेन्द्र यादवसम्मको यात्रामा अहिले आएर यो विशाल पार्टी निर्माण हुन लागेको हो, यसमा मधेशी जनता खुशी छन्’ उनले भने ।  गैरमधेशी दलले जहिले पनि मधेशीलाई एउटा कार्यकर्ताको रुपमा स्वीकार गरेको तर अहिले डा.बाबुराम भट्टराई जस्तो व्यक्ति मधेशी नेताको नेतृत्व स्वीकार गर्न तयार हुनु तराई मधेशका लागि निकै महत्वपूर्ण उपलब्धी मान्न सकिने उनको विश्लेषण छ । 

जनता समाजवादी पार्टीको घोषणपत्र र अन्तरिम विधान अध्ययन गर्दा यसलाई राष्ट्रिय स्वरुप दिएको छ । आदिवासी जनजाति तथा अन्य समुदायलाई कार्यसमितिमा राखेर समावेशी बनाउने प्रयास गरिएको छ तर यसको आधार क्षेत्र भनेको तराई मधेश नै हो । त्यसले गर्दा तराई मधेशका जनताको अपेक्षा पनि त्यही अनुसारको छ । राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्– ‘जनतालाई ड्राइभ गर्ने काम राजनीतिक दलले गरेका हुन्छन्, जनता पनि कुनै–कुनै रुपमा राजनीतिकसँग गाँसिएका हुन्छन्, त्यसलै नेता दुःखी हुनु भनेको जनता पनि दुःखी हुनु हो ।’

दुई पार्टीबीचको एकीकरणमा प्रदेश २ सरकारलाई केन्द्रविन्दुमा राख्नुपर्ने चन्द्रकिशोरको विश्लेषण छ । ‘यी दुई पार्टी एकीकरणले तराई मधेशमा हर्ष न विस्मात जस्तो भएको छ । एकीकरण प्रकृयामा प्रदेश २ सरकारलाई केन्द्र विन्दुमा राख्नुपथ्र्यो । जसपाको एकमात्र सरकार प्रदेश २ मा छ । त्यो सरकारले के गरिरहेको छ, त्यसको बारेमा एकीकरणले केही बोलेको छैन । तराई मधेशका जनताले प्रदेश २ को सरकारलाई मूल्याङ्कन गरेर बसेको छ, त्यो मूल्याङ्कनले सिङ्गै जसपामाथि प्रभाव पर्छ’ उनले भने ।

प्रदेश २ सरकारमा रहेका मन्त्रीहरुको इमेज, उनीहरुको बारेमा जनतामा रहेको बुझाई र त्यो कुराको मूल्याङ्कन एकीकरणसँगै हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । कार्यसमितिमा सरकारका कतिपय मन्त्रीलाई पनि राखिएको बताउँदै जनतामा उनीहरुको राम्रो इमेज नरहेको उनले बताए । उनले भने, ‘सरकारमा पनि रहने अनि उता पार्टीमा पनि जाने कुराले पार्टीका नेता तथा कार्यकर्तामा प्रश्न उब्जाएको छ, जसको जवाफ जसपा पार्टीले दिनुपर्छ ।’

अहिले गठन भएको जसपा नेपालले काँग्रेस र नेकपाभन्दा के फरक गर्न सक्छ भन्दै जनताले प्रश्न गर्न थालेको समेत उनले बताए । उनले भने, ‘जसपा नेपालमा जे समस्या केन्द्रमा छ, त्यो भन्दा ठूलो समस्या जिल्लामा छ, सबैले आ–आफ्नो अस्तित्व संकटमा परेको अनुभव गरिरहेका छन्, जसले गर्दा उनीहरु दुःखी देखिएका छन् ।’ जसपाको तर्फबाट केन्द्रीय समितिमा राखिएका अधिकांश नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर रहेका र त्यसले झन् नेता तथा कार्यकर्तालाई निराश बनाएकोे उनले बताए ।

अर्का राजनीतिक विश्लेषक श्रीमननारायण मिश्रले एकीकरणले राम्रो सन्देश दिएपनि तराई मधेशमा निराश उत्पन्न भएको दावी गरे । उनले भने– ‘केन्द्रमा शीर्ष नेताहरुले जे हर्कत गर्नुभएको छ, त्यसले मधेशमा निराशा उत्पन्न भएको छ, नेता कार्यकर्तालाई समेट्नुको सट्टा विभाजन ल्याएको छ, यस्तो रह्यो भने कतिपयले काँग्रेस र कतिपयले नेकपा रोज्ने छन् ।’ नेताहरुले आफूलाई केन्द्रमा राखेर पार्टी एकीकरण गरेको तर तलका नेता तथा कार्यकर्ताको बारेमा केही नसोचेको उनको टिप्पणी थियो । ‘यो एकीकरणको परिणाम चुनावले मात्र देखाउनसक्छ, एकीकरण कति सही कति गलत भएको कुरा जनताको मतबाट नै तय हुन्छ’ उनले भने ।

पत्रकार वृजकुमार यादवले पनि दुई पार्टीको एकीकरणले जनतामा निकै राम्रो सन्देश गएको बताउँदै केही नेताले पद नपाएका कारण विरोध गरेको टिप्पणी गरे । जसको कुनै राजनीतिक हैसियत छैन उनीहरुले असन्तुष्टि पोखिरहेको उनको भनाई छ । उनले भने– ‘क्षमता हुनेले पद हेर्दैन, आफ्नो क्षमताले आफ्नो ठाउँ बनाउन सकिन्छ, यसरी पद पाइएन भनि दुःख मनाउने होइन, जनता खुशी छन् नेता दुःखी भएर केही हुँदैन ।’

नेपालमा दुई पार्टीबीचको एकीकरण ऐतिहासिक काम भएको दाबी गर्दै काँग्रेस र नेकपाका मधेशी नेताहरु पनि यो एकीकरणबाट खुशी भएको उनले दाबी गरे । एकीकरणबाट मधेशी दलका दुई चार जना नेता बेखुसी भएर केही नहुने उनले बताए । तत्कालीन राजपा नेपाल प्रदेश २ सांसद बिक्की यादवले एकीकरण हुनु आफैमा राम्रो भएपनि कार्यसमिति गठनले जनतम तथा कार्यकर्तालाई निराश बनाएको बताए । उनले भने, ‘अहिले यो ५१ सदस्यीय कार्यसमिति गठन गर्दा यस्तो बनाइएको छ, अगामी दिनमा अरु थुप्रै समितिहरु बनाउन बाँकी छ, त्यसलाई कसरी व्यवस्थापन गरिन्छ, त्यो सोचेर नेता तथा कार्यकर्ताहरु चिन्तित छन् ।’

जुन दलले समावेशी समानुपातिकको माग गर्दै आन्दोलन गर्यो त्यो दलले गठन गरेको कार्यसमिति समावेशी नभएको बताउँदै उनले शीर्ष नेताहरु मनपरी गरेको आरोप लगाए । यसले गर्दा पार्टीको भविष्यप्रति सबै चिन्तित रहेको समेत उनले बताए । यद्यपि, निर्वाचन आयोगमा पेस गरिएको ५१ सदस्यीय कार्य समितिलाई परिमार्जन गर्ने छलफल जसपा नेपालमा भइरहेको छ । दुई दिनदेखि जारी पदाधिकारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ तर अहिलेसम्म त्यसमा सहमति बन्न सकेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप