बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धुलिखेलमा दुर्गमलक्षित क्वारेन्टिन

शुक्रबार, ३० जेठ २०७७, १४ : ३९
शुक्रबार, ३० जेठ २०७७

काभ्रे । तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोक फर्किएका दुर्गम स्थानीय तहका नागरिक राख्न सदरमुकाम धुलिखेलमा क्वारेन्टिन व्यवस्थित गरिने भएको छ । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाको अति दुर्गम मानिएका तीन स्थानीय तहका नागरिक राख्न धुलिखेल नगरपालिका–७ स्थित धुलिखेल क्याम्पसमा ७५ श्ययाको क्वारेन्टिन व्यवस्थित गर्ने निर्णय गरेको हो ।
 
हालसम्म तेस्रो मुलकबाट आठ काभ्रेली फकिएका छन् । भौगोलिक विकटता र वर्षात्को समय नजिकिँदै गएकाले तेस्रो मुलुकबाट फर्किएका क्वारेन्टिनमा राख्नुपर्ने नागरिकलाई सम्बन्धित स्थानीय तहमा लैजान र स्वाब सङ्कलन गर्न कठिनाइ हुने भएकाले धुलिखेल नगरसँग समन्वय गरी जिल्ला सदरमुकाम धुलिखेलमै क्वारेन्टिन निर्माण गरिने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, ‘धुलिखेलमै क्वारेन्टिन निर्माण गरी दुर्गम पालिकाका व्यक्तिलाई राख्दा सहज हुने भएकाले धुलिखेलमै राख्ने निर्णय गरेका छौँ ।’ 

विदेशबाट फर्केलगत्तै काठमाडौंको वसुन्धरास्थित वाग्मती प्रदशेको ‘होल्डिङ सेन्टर’ बसेकालाई सदरमुकाम धुलिखेल ल्याई राखिनेछ । ‘धुलिखेलस्थित क्वारेन्टिनको समयावधि सकिएपछि स्थानीय तहको जिम्मा लगाइनेछ’, तिमल्सिनाले भने । उनका अनुसार होल्डिङ सेन्टरबाट काभ्रेपलाञ्चोकका नागरिकलाई धुलिखेलसम्म ल्याउने र धुलिखेलबाट स्थानीय तह (दुर्गम जनाइएकाबाहेक) का जनप्रतिनिधिले स्थानीय क्वारेन्टिनमा लगेर राख्ने प्रणाली बनाएको छ । 
 
त्यसो त स्थानीय तहमा रहेका क्वारेन्टिनलाई १०० श्ययाको बनाउने तयारीसमेत भइरहेको केन्द्रले जनाएको छ । हाल १३ स्थानीय तहलगायत सङ्घसंस्थाद्वारा ६७४ श्ययाको क्वारेन्टिन व्यवस्थित छन् । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नुपर्ने प्रावधान उल्लेख छ । तेस्रो मुलुकबाट पनि काभ्रेली आउने भएपछि स्थानीय तहको क्वारेन्टिनको क्षमता विस्तार गर्न थालिएको प्रजिअ तिमल्सिनाले बताए । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कमा उल्लेख छ । 

यसैबीच पहिलो चरणमा गत शुक्रबार युएईबाट एक महिलासहित तीन काभ्रेली फर्किएका छन् । दोस्रो चरणमा बिहीबर राति कुवतेबाट काभ्रेपलाञ्चोकका पाँच स्थानीय तहका पाँच महिला आइपुगेका छन् । केवेतबाट आएका धुलिखेल नगरपालिका, बनेपा नपा, नमोबुद्ध नपा, तेमाल गाउँपालिका र रोशी गाउँपालिकाका महिलालाई धुलिखेलस्थित क्वारेन्टिनमा राखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले विदेशबाट आउने पिसीआर परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टिनमा बसाइ तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टिनमा बसाइने बताए ।

पहिलो चरणमा आएका तीनलाई भने सदरमुकाम धुलिखेल ल्याई स्थानीय तहको जिम्मा लगाइएको थियो । पोष्टका अनुसार तेस्रो चरणमा आउँदो असार २ गते काभ्रेपलाञ्चोकका नागरिक फर्कने जानकारी आएको छ । विदेशबाट आएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधासम्पन्न होटल क्वारेन्टिन राख्ने तयारीसमेत गरिएको छ । 

पछिल्लो दुई हप्तामा भारतबाट जिल्ला फर्किएका करिब २०० नागरिकलाई स्थानीय क्वोन्टिनमै राखिएको पोष्टले जनाएको छ । भारतबाट फर्किएकामध्ये एक महिलासहित चारलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतबाट आएकासमेत गरी हालसम्म दुई महिलासहित पाँच कोरोना सङ्क्रमित हुन् । मजदुरीलगायत विभिन्न कामका सिलसिलामा काभ्रेपलाञ्चोकका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप